Home विशेष लेख "मगर ढूटको मानक लेखन २०५० को पुनरावलोकन कार्यक्रम २०६७ असार ११ गते" ले दिएको सकारात्मक सन्देश

"मगर ढूटको मानक लेखन २०५० को पुनरावलोकन कार्यक्रम २०६७ असार ११ गते" ले दिएको सकारात्मक सन्देश

E-mail Print PDF
AddThis Social Bookmark Button
विष्णुकुमार सिङ्जालीमगर 

आधुनिक समयमा मगर ढूट भाषामा लेख्न थालेको धेरै समय भएको छैन। मगर ढूट एउटा प्राचीन र जीवित भाषा हो। मगर ढूट भोट-बर्मेली परिवार भित्र परेपनि यस भाषाका आफ्नै विशेषताहरु छन्। यो भाषा प्राचीन भएकॊ कारणबाट तत्कालिन आर्यहरुले बोल्ने संस्कृतमा पनि यसका धेरै शब्दहरु गएको र हाल प्रचलित खस नेपाली भाषामा पनि मगर भाषाका धेरै शब्दहरु गएका छन् भनेर धेरै विद्वानहरु स्वीकार गर्दछन्। अर्कोतर्फ यहाँका रैथाने आदिबासीका धेरै भाषाहरुसँग पनि धेरै नजिकको सम्बन्ध देखिन्छ मगर ढूटको। हुन त विखण्डनबादीहरु आकाश र पातालको जस्तो फरक देखाउलान् तर सामीप्यता बढी नै छ। मगर ढूट वि।सं। २००९ सालतिर प्रा. बालकृष्ण पोखरेल रुपावासी को कविता संग्रह हुँदै हाम्रा आदरणीय आदिकवि जीतबहादुर सिङ्जालीमगर र रेखबहादुर सारु थापामगरले २०२०-२२ मा थालेको अभियानमा आदरणीय अग्रजहरु लोकबहादुर थापामगर प्रा. डा. केशरजङ्ग बरालमगर, सुरेश आलेमगर, मनबहादुर आलेमगर, हिरासिङ थापामगर, मगर ढूटको शब्दकोशकार एमएस थापामगर, नारायण तारुङमगर आदिको सकि्रयता र युवा पुस्तामा निरन्तर चेतना भर्ने कार्यले मगर ढूटको लेखन प्रकि्रयाले हालको उचाई लिन सकेको हो। अग्रजहरुले मगर ढूटमा के कस्ता ध्वनीहरु छन् कस्ता वर्णहरु छन् आदि कार्यक्रमहरु गरेर मगर ढूटको वैज्ञानिकता कायम गर्न खोजेको प्रयास निकै सह्रानीय छ।
 
आदरणीय मगर ढूटका अग्रज सष्टाहरुले मगर ढूटको लेखन कसरी गर्ने भनेर २०५० सालमा "वर्णमाला पहिचान गोष्ठी" सम्पन्न गर्नुभयो। यसको करिब सत्र वर्षपछि नेपाल मगर लेखक संघले २०६७ साल असार ११ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा "मगर ढूट भाषाको मानक लेखन २०५० को पुनरावलोकन" कार्यक्रम गर्यो। सो कार्यक्रमले देवनागरी लिपिमा मगर ढूट लेखन गर्दा सजिला पक्ष र असजिला पक्षका बारेमा कुराहरु बाहिर ल्यायो, बहसको विषय बनायो। मगर ढूटको मानक लेखन २०५० बमोजिम अ आ (ा) ई (ी) ऊ (ू) ए (े) ओ (ाे) गरी ६ वटा स्वर (Vowels) तथा अ / अ्ह, आ/आह् इ (ईह्) ए / एह्, ओ / ओह् गरी नयाँ ६ वटा महाप्राण जोडिएका स्वर वर्ण र व्याजन (Consonant) वर्णहरुमा क ख ग घ ङ ङ / ङ्ह च छ ज, झ, ट, ठ, ड, ढ, न, न / न्ह, प, फ, ब, भ, म, म / म्ह, य, य / य्ह, र, र / र्ह, ल, ल / ल्ह, व, व / व्ह, स, ह गरी ३२ वटा पहिचान गरेको छ। यसका साथै सो गोष्ठीबाट देवानगरी लिपीमा मगर ढुट लेख्दा आधा अक्षर नलेखी हलन्त खुट्टा काट्ने दीर्घिकरण लेख्ने र उल्लेखित वर्णहरुको आधारमा मात्र मगर ढूट लेख्ने मानक भएकोले सोही बमोजिम साहित्यिक लेखन भइरहेको छ। उक्त मानक लेखनले लेखकीय कृतिहरुलाई एक रुपता कायम गर्न कोशीस गरेको छ।

मगर ढूटमा लेख्दै र पढ्दै जाँदा लेखक र पाठकबीच केही समस्याहरु देखिन आए। ती समस्याहरुमा १ मगर ढूट देवनागरी लिपिमा लेखिएपनि देवनागरी लिपिको लेख्य परम्परामा नभएकाले पाठकहरुलाई बुझ्न र सही उच्चारण गर्न अप्ठेरो नेपालको राज्यव्यवस्थामा जान भाषाका कारण प्रतिस्पर्धा गर्न गाहारो भएको २ देवनागरी लिपिमा भएको आधा अक्षर प्रयोग नगरी हलन्त प्रयोग गर्दा कम्प्युटर टाईपमा गाहारो पाठक पनि अलमलिने गरेकॊ ३ महाप्राण वर्णहरु लेख्न अक्षरमुनि थोप्लो। पाठकहरुलाई बुझ्न गाहारो भएको र यसको उच्चारण नेपालका आदिवासी जनजातिका मातृभाषाहरुमा एक रुपता नभएको आदि थिए।

सो मानक लेखनको पुनरावलोकन कार्यक्रममा समस्याका बारेमा विष्णुकुमार सिङ्जालीमगर र उजीर रानामगरको समस्या सम्बन्धी कार्यपत्र भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेल, भाषाशास्त्री अमृत योन्जन तथा अग्रजहरु लोकबहादुर थापामगर, गौबहादुर आलेमगर, हिरासिङ थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवं सभासद् एमएस थापामगर, सभासद् ओनसरी घर्तीमगर, पवित्रा रानामगर, भाषाविद् मीन श्रीसमगर, मगर संस्कृतिमा पीएचडी शोधकर्ता युवराज मास्की रानामगर, अध्यक्ष मगर चलचित्रकर्मी संघ, प्राज्ञ बुँद रानामगर, सदस्य प्रज्ञा प्रतिष्ठान शिवलाल थापामगर लगायत उपस्थित लेखक तथा भाषाप्रति चासो बोक्नेहरुको टिप्पणी सुझावबाट केही सकारात्मक कुराहरु निस्केका थिए। जसमा १ देवनागरी लिपिमा मगर ढूट लेखन प्रकि्रयालाई समसामयिक रुपमा सुधार गर्दै जानुपर्ने २ मगर ढूटलाई पनि सजिलो छरिटो र वैज्ञानिक बनाई प्रतिस्पर्धामा लैजानुपर्ने ३ देवनागरी लिपिमा मगर ढूट लेख्दा आधा अक्षरहरु पनि आवश्यकता अनुसार लेख्दा मगर ढूटको वैज्ञानिकता नहराउने ४ महाप्राण जनाउन लेखिने अक्षरमुनि थोप्लो (.) पाठकलाई बुझ्न अप्ठेरो भएमा आधा अक्षर र ह (जस्तैः ल्हासा) आदि लेख्न सकिने तर यसले भाषाको वैज्ञानिकता हराउन सक्ने खतरा रहेको आदि सकारात्मक सुझावहरु आएका थिए।

यसले के जनाउँदछ भने भाषा मानक लेखन परिवर्तनशील हुन्छ। मगर ढूट पनि मगरहरुले बोल्ने एउटा भाषा भएकोले यो सामाजिक विज्ञानको नियम लागू हुन्छ। अर्कोतर्पु विगतमा भएका अप्ठेराहरुलाई चिर्न समय-समयमा यस्ता पुनरावलोकनका कार्यक्रम आवश्यक हुन्छन्। यसका साथै मानक लेखनको पुनरावलोकन कार्यक्रमबाट आएका सुझावहरुलाई प्रचार प्रसार गर्नु जरुरी छ। लेखक र पाठकबीचको दुरी कम गर्न तथा आधुनिक व्यस्तताको समयमा भाषालाई जीवन्त बनाउँदै भाषाको वैज्ञानिकता कायम राख्दै मगर ढूटको उत्थान र विकास गर्नुपर्ने चुनौती देखिएको छ। राज्यसत्ताले मगर ढूटलाई उपेक्षा गरी लगानी नगरेको अवस्थामा त झन गाहारो काम हो। यस अर्थमा मगर ढूटलाई माया गर्ने मगर र गैरमगरहरुले आ-आफ्नो परिवारमा मगर ढूटको प्रयोग गर्दै मगर ढूटमा लेखन कार्यलाई अगाडी बढाउनुपर्दछ मगर ढूट शिक्षण कार्यलाई पनि तीव्रताका साथ अगाडी बढाउनु पर्दछ। यसले एउटा मगर ढूट बाँच्न सक्दछ यो एउटा नेपालको संस्कृति हो संस्कृति नेपालको धन हो।

(लेखक नेपाल मगर लेखक संघ केन्द्रीय समितिका उपाध्यक्ष हुनुहुन्छ।)