Home विशेष लेख हंसा विनाको दशैं आजको आवश्यकता

हंसा विनाको दशैं आजको आवश्यकता

E-mail Print PDF
AddThis Social Bookmark Button

 बिष्णु गूरुङ,क्यालिफोर्निया 

हिन्दु धर्मशास्त्र अनुसार दुर्गाले नौ दिन सम्म राक्षसहरुसँग लडाईं गरि दशौं दिनमा महिषासुर राक्षसलाई मारी राक्षसहरु माथी विजय प्राप्त गरेको विश्वास सवैले गर्दै आएका छन । त्यसबेलादेखि नौ दिन सम्म शक्तिकी देवीको रूपमा दुर्गाको पूजा गरि दशौं दिनलाई बिजया दशमीको रूपमा खुशियाली मनाउन हर्ष उल्लासकासाथ धुमधामसँग बिजया दशमी मनाउने चलन छ । यहि चलन मलाई पनि मन पर्ने भएकोले म सानो छदाँ दशैंमा खुब रमाउने गर्दथें । स्कुलदेखि सरकारी कार्यालयहरुले पनि दशैंलाई विशेष महत्व दिएर एक हप्ता देखि महिनौ दिन सम्म कार्यलय र विद्यालयहरु बन्द गरी रमाइलो गर्ने र फेरी तिहारको बिदा भनेर झण्डै चार पाँच दिन सम्म  बिदा बस्न पाउने, यही बेला नयाँ कपडा लगाउन पाउने देखि मासु, सेल रोटी साथै अरु मिठा मिठा परिकारहरु घरमा पाक्ने, टाढा टाढा पुगेका परिवारका सदस्यदेखि ईष्टमित्र, साथीभाईहरु पनि भेट्न पाउने, पिंग खेल्न पाउने, यसरी खुशी र उमंगले भरिएको मनले घरलाई रातो र कमेरो माटोले पोतेर बुट्टा भरेर सिगार्ने, जमरा राख्ने, नौ दिन सम्मको दुर्गाको पूजाको सरदाम जुटाउने कामदेखि अरु धेरै कामहरुमा अरु छोरीहरु र आईमाईहरु दत्त चित्तले व्यस्त भए झै म पनि व्यस्त हुन्थें ।

एउटी छोरीको कर्तव्य सम्झेर, साँच्चै छोरीहरु भनेको लक्ष्मी र देवीको स्वरुप नै हुन जस्तो महसुस पनि हुन्थ्यो त्यस बेला मलाई । तर दुर्गा देवीको पूजा लगाएत धार्मिक एवं पवित्र कामहरुमा पुरुष जातिहरुलाई प्रथमिकता दिई लोग्ने मान्छेबाट नै यस्तो कामहरु सम्पन्न हुनु पर्ने प्रचलन रही आएको छ । मेरो बुवा र दाजुले पनि साधारण मानवको भन्दा चार हात दाँया र चार हात बाँया गरी दशहात भएकी दशैवटा हातहरुमा शक्तिको चिन्ह लिएकी, गलामा राक्षेसहरुको खप्परको माला लगाएकी, पैतालाले महिषासुर राक्षेसलाई दवाएर छातीमा भाला रोपेर मारेकी सिंह वहान भएकी शक्तिकी देवी दुर्गा भगवतीको फोटोलाई अगाडी राखेर नौ दिन सम्म आफ्नै किसिमले पुजा गर्दथे । घरमा भएका सबै हतियारहरु जस्तै खुकुरी, खोंडा पूजा मण्डपमा राख्दथे अनि अष्टमीको दिनमा चोखो मानिने भाले, बोका, राँगाको भोग चढाएमा दुर्गा भगवती खुसी हुन्छिन भन्ने हाम्रो परम्पराले डो¥याएको बाटोमा जनमानसको विश्वास अनुसार घरमा होस वा देवीको मन्दिरमा गएर आपूmले भाकल गरेको भाले, बोका, पाठोलाई आफ्नै अगाडी निर्दयी तरिकाले हत्या गरेको देख्दा पनि स्वार्थी मनले दया लाग्नुको सट्टा देवीसँग आफ्नो मनोकाँक्षा पुरा गरि दिनु भनेर गुनगुनाउन नै ठिक्क हुन्थ्यो मलाई । यी सबथोक गर्नु नै आफ्नै धर्म र संस्कार हो भन्ने कुरामा निश्चित थिएँ म ।

कोपिलालाई स्वतन्त्र हिसाबले फक्रन दिनु, अनि बल्ल त्यसको सौन्दर्य हेर्नु, सायद यहि भनाईको प्रतिफल पनि हुन सक्छ । निकै वर्ष यता देखि मलाई दशैंको रमाईलो भन्दा पनि हामीले पाएको यो संस्कार प्रति सोच्न पुग्छु । हो, एउटा समाजको रितिरिवाज, परम्परा र मर्यादाको पालना गर्दै मानिस हुर्कन्छ र त्यसले एउटा संस्कार दिन्छ ,जीवनशैली प्रदान गर्दछ  जुन हाम्रो पहिचानको रुपमा हुन्छ । धर्म र चाडपर्वको नाममा आफ्नो मनोकाँक्षा पुरा हुने स्वार्थमा निर्दोश प्राणीको वलि दिएर शक्तिकी देवीसँग सम्झौता गर्ने हामी मनुष्यहरुले दशैंको वाहानामा हजारौं देवीको मन्दिरमा बोका, राँगा, कुखुरा र परेवा जस्ता प्राणीहरु हत्या गरेको देख्दा, सुन्दा मलाई कवि शिरोमणीको कवितामा एउटा विवेकहिन प्राणीले विवेकशील मानवलाई दिएको अर्तिको याद आउँछ “दया यस्तो त्यागी मनुझ तिमी किन हिंसातिर झुक्यौं, म मर्ने हुँ मर्छु तर तिमी नराम्रो सित चुक्यौं”।

घमण्ड, अहङ्कार, स्वार्थ मानिसको एउटा स्वभाव नै हो । यसलाई नियन्त्रण नगर्ने हो भने मानवको विनाश सुनिश्चित छ । त्यसैले मानिसलाई इश्वरले सोच्न सक्ने बुद्धी, चेतना र बोल्न सक्ने बोली दिएर प्राणी जगतको उकृष्ट प्राणीको दर्जा दिएको छ । त्यतिले मात्र नभएर समय समयमा यस धर्तिमा महापुरुषहरु जन्मे, विभिन्न धर्महरु प्रचार भए गरे । ती धार्मिक ग्रन्थहरुको भाषा फरक भए पनि, ईश्वर पुकार्ने नाम फरक भए पनि उद्देश्य एउटै, बाटो फरक भए पनि पुग्ने गन्तब्य एउटै थियो र छ– प्रेम, दया र मायाको भावना जगाएर प्राणि जगतको कल्याण गर्नु । यस धर्तिमा भएका सम्पूर्ण प्राणिहरुमा एउटै आत्मा छ र जुन आत्माले अरु प्राणिको दुःख देखेर दया लाग्छ र मायाको महसुस गर्न सक्छ त्यहि आत्मा को अर्को नाम नै बुद्ध हो । यो बुद्ध को दर्शन हो । ढुंगाको मूर्ति बोल्दैन, बोलीहिन, शक्तिहिन र चेतनाहिन ती निर्दोश जनावरले संघर्ष गर्न सक्दैनन् । त्यसैले विवेकशिल प्राणीले शक्तिको आडमा आनो स्वार्थ पुरा गर्न दयालाई त्यागेर हिंसालाई अँगालेर भगवानको रुप सम्झने देवीसँग प्राणको सम्झौता गर्नु भनेको मानवजगतको लागि दुर्भाग्यको कुरा हो । परम्पराले डो¥याएको बाटोमा आँखामा पट्टी बाँधेर पछि नलागौं । आनो संस्कारले मानवसभ्यतालाई कस्तो सन्देश दिइरहेको छ भन्ने कुरा तिर पनि हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । चल्दै आएको काटमार रोकेर दशैंलाई ईष्टमित्र, साथीभाइहरु संग भेटघाट गर्ने र प्रेम सदभाव साटासाट गर्नेे सामाजिक चाडको रुपमा स्वीकार गर्दै जानु आजको आवश्यकता हो भनी सवैमा अनुरोध गर्दछु ।