Home विशेष लेख नेपाली आदिवासी जनजातिहरूको दशैं र दशैको मानवशास्त्र

नेपाली आदिवासी जनजातिहरूको दशैं र दशैको मानवशास्त्र

E-mail Print PDF
AddThis Social Bookmark Button


डम्बर चेम्जोङ
 
दशैजस्तो चाडपर्वलाई राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक कोणहरूबाट हेर्न अथ्र्याउन सकिन्छ । दसैंलाई चाडपर्व मान्नुअघि चाडपर्व भनेको के हो ? यसमा मूलतः के गरिन्छ भन्ने जान्नु उपयुक्त हुन्छ । कुनै नेपाली सामाजिक सांस्कृतिक समूहले दसैं सामाजिक रूपमा मात्र मनाउँछन् कि धार्मिक सांस्कृतिक तहमा समेत मनाउँछन् भनी बुझ्न सकियो भने दसैंको अर्थ सम्पूर्णतामा खोज्न सकिन्छ जस्तो लाग्छ ।

अझ मानवशास्त्रीहरु त चाडपर्वमा वा समाजहरूमा सम्पन्न गरिने विभिन्न पूजा-आजाहरूको राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्दछन् र सोहीअनुरूप अध्ययन गर्दछन् । कस्तो खाले मानवीय सम्बन्धहरूलाई सामाजिक भन्ने ? कस्तो खाले मानवीय क्रियाकलापहरूलाई धार्मिक भन्ने ? अनि कस्तोलाई सांस्कृतिक ? र कस्तोलाई राजनीतिक भन्ने सवाल पनि हामीसँग छँदै छ । अझ भन्ने हो भने नेपाली भाषामा वा समाजमा 'राजनीतिक' शब्दको अर्थ संकुचनले होला 'राजनीतिक दल'हरूको चलखेल र उछलकुदलाई मात्र 'राजनीति' भनी बुझ्ने चलन आम मानिसहरूमा छ । तर शक्ति र सत्तालाई हेर्ने, बुझ्ने, महसुस गर्ने तरिका र तिनका अर्थबोध विभिन्न समाजहरूमा आ-आफनै विशिष्टतापूर्ण हुन्छ । उदाहरणतः लिम्बू समाजमा शक्ति र सत्ताको पूजा आराधना व्यक्ति, परिवार, समाज सबै तहमा हिन्दु जातीय चलनभन्दा नितान्त फरक ढंगले हुन्छ । यसरी दसैंको मानवशास्त्र भनेको उल्लेखित पाटाहरूबाट हेर्दा दसैं कस्तो देखिन्छ र दसै मान्ने मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भनी बुझ्नु हो ।

आफू काम गर्ने थलोमा लामो बिदा पर्नाले घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गरिने पक्ष, आरामले बस्ने, मीठो मसिनो खाने नयाँ र राम्रो लाउने, छरछिमेक घुम्दै भेट्दै सँगै खाने, तास खेल्ने, पीङ बनाउने-खेल्ने, मनोरञ्जन गर्ने, शुभकामना औ आशिर्वाद थाप्ने, विवाहित छोरी चेली कोसेली-पात बोकी माइत आउने वा नयाँ ज्वाइँ ससुराली जाने आदि पक्षहरू चाडपर्वका सन्दर्भमा सम्पन्न हुने सामाजिक पक्ष हुन् तर यसले मात्र चाडपर्वको सारभूत परिभाषा समेट्दैन ।

पूजा-अर्चनाजस्ता कुरा चाडपर्वको धार्मिक सांस्कृतिक महत्त्वपूर्ण पाटो हो । चाडपर्वमा इष्ट देउ-देउताहरूको पूजा-अर्चना वैयक्तिक, पारिवारिक र सामूहिक एवं समुदायगत तहमा समेत सम्पन्न गरिन्छ । दसैंको पनि धार्मिक र सांस्कृतिक सारभूतता नौ दिनसम्म सम्पन्न गरिने विभिन्न शक्तिदेवीहरूको पूजा अर्चनाले प्रस्ट्याउँछ । धार्मिक सांस्कृतिक हिसाबले "दशै हिन्दु मात्रको महान् पर्व" भन्नु ठीक हो । नेपालमा आम आदिवासी जनजाति समाजहरूमा आ-आपmनो सामूहिक धार्मिक सांस्कृतिक आस्था सम्बद्ध शक्ति देवीदेउताहरूको पूजा-आराधनासहित दशैं मनाउने चलन देखिँदैन ।

माथि नै लेखियो- चाडपर्वमा राजनीतिक सत्ता र शक्तिको पूजा पनि गरिन्छ । नेपालमा दसैंमा देख्न पाइने सत्ता र शक्ति सम्बद्ध पूजा-आजा र मूलतः सत्तासीनहरूले राँगा लगायत पशुको बलि दिने कुरा चाडपर्वको राजनीतिक पक्षको ज्वलन्त उदाहरण हो । दशैंको यो पक्षले भने शासक तथा शासित दुवै वर्गलाई समेट्छ । राजनीतिक रूपमा दशैं भनेको विगतको गोरखाली हिन्दु राजनीतिक सत्ताको औचित्यको पुष्टि, त्यस सम्बद्ध शक्ति देवीदेउताहरूको पूजाअर्चना हो । गोरखाली राजनीतिक सत्ता र शक्ति विस्तार प्रक्रियाको इतिहासलाई दसैंको धार्मिक पूजा-आजा र राँगाको बलि दिने व्यवस्थाले प्रतीकात्मक ढंगले व्यक्त गर्दछ ।

दशैका लागि गोरखाबाट काठमाडौं फूलपाती भित्र्याउनु, सत्तासीनहरू र अझ सेनाका खास तहको अधिकृतभन्दा माथिकाले अनिवार्य रूपमा राँगाको बलि चढाउनु आदिले गोरखा राज्यको विस्तार र हैकमलाई धार्मिक र सांस्कृतिक रूपमा औचित्य प्रदान गर्ने मात्र होइन कि गोरखाली अधीनस्थता अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक तर पूर्णतः राजनीतिक सन्देश फैलाउँछन् बलिमा चढाइएका पशहरूले ।

मानवशास्त्री डेभिड होमवर्गले दसैंमा राँगाहरूको बलि दिने कुरा रूप पक्षमा धार्मिक देखिए पनि सारमा सत्ताधारी राज्य पक्षले अधीनस्थ क्षेत्रमा पठाएको राजनीतिक सन्देशको रूपमा अथ्र्याएका छन् । जुनसुकै तहका सत्ताधारीहरूको हातको टीका थाप्नुलाई सांस्कृतिक रूपमा आशिर्वाद लिनुको अर्थमा बुझिए पनि राजनीतिक रूपमा भने अधीनस्थता स्वीकार गर्नु हो, हरेक साल टीका थाप्नु भनेको त्यही अधीनस्थताको नवीकरण गर्नु हो ।

अधीनस्थतालाई नरम शैलीमा अभिभावकत्वको अर्थमा पनि बुझाइने गरिन्थ्यो स्कुले विद्यार्थीलाई विगतमा । स्कुलमा दिनभर घोक्नुपर्ने पाठले भन्थ्यो- 'आमाभन्दा ठूला, बाबाभन्दा ठूला, सबैभन्दा ठूला, राजा नै हुन् ठूला...।' हामी कतिपय यही चिन्तन धरातलमा उभिएका छौं । हिन्दु राजाहरूका अधीनस्थता, अभिभावकत्व मानिरहेको भए र उनीहरूले दसैंमा दिने गरेका आशिर्वाद लागिरहेको भए नेपालमा यो राजनीतिक अवस्था स्थापित हुन सक्थ्यो ? तर आज पनि कति स्कुले पाठ्यपुस्तकमा यस्तै सन्देश छैनन् भन्न सकिन्न ।

मान्छेहरू दसैं मानिरहेका हुन्छन् एकातिर भने अर्कातिर दसैंले पनि मान्छेहरूलाई मनाइरहेको हुन्छ । तात्पर्य, मान्छेहरूले एक वा अर्को रूपमा दसैं मान्ने वा नमानेर 'मान्ने' क्रममा दसैंको प्रभाव विभिन्न समाजहरूमा भिन्नाभिन्नै सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक हिसाबले पर्दै जान्छ । तसर्थ दसैंले समेत नयाँखाले सामाजिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध र अभ्यासहरूको पुनउत्पादन गर्दै लान्छ समाजहरूमा । यो कुरा व्यक्तिहरूले समाज निर्माण गर्दछन् साथै समाजले पनि व्यक्ति निर्माण गर्दछ भने जत्तिकै सजिलै बुझिने कुरा हो ।

दसैं मनाउनेहरू मात्र होइन "दशै हाम्रो होइन, यो हामीमाथि थोपरिएको हो, हामी यसको बहिष्कार गर्छौं' भनी दसैं नमनाउनेहरूले समेत राजनीतिक अर्थमा दशैं मानेझैं बुझ्न सकिन्छ । उदाहरणतः कुनै माग राखी अनसन बस्नेहरूले समेत राजनीतिक अर्थको पोषण वा खुराक प्राप्त गरिरहेका हुन्छन् । त्यसैले जसरी दसैं मनाएर विशिष्ट तहको विशिष्ट आध्यात्मिक भौतिक अर्थबोध महसुस गरिन्छ , त्यसैगरी बहिष्कार गरेर वा नमनाएर पनि त्यही खाले राजनीतिक मूल्यको महसुस र प्राप्ति हुन्छ । यसर्थ दसैंले सबै नेपालीलाई एकै ढंगले समेट्दैन । कसैले हिन्दुहरू मात्रको महान् चाड भन्छन् त कसैले नेपालीहरूको महान् चाड भन्छन् । यति मात्र होइन आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूका हैकम र हुकुमका कारणले र कतै छिमेकीहरूका सिको गर्नाले समेत दसैं मनाउने परम्पराको थालनी भएको देखिन्छ । उदाहरणतः लिम्बूवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैं मान्नै पर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो ।

दसैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । बलि पशुको रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडा अड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बूवानमा । दशैं नमानिएको, पशुबलि नदिइएको भेटिए सजायको भागी हुन्थे लिम्बू सुब्बाहरू । यसरी लिम्बू सुब्बाहरूमा दसैंमा पशुबलि दिने क्रम विगतमा देखिएको हो । लिम्बूहरूको सामूहिक भू-स्वामित्व प्रणालीको व्यवस्थापन र निरन्तरता खातिर किपटिया सुब्बाहरूले हिन्दु राज्यको संयन्त्रको स्थानीय इकाईको रूपमा समेत जिम्मेदारी लिनुपरेको सन्दर्भमा गोरखाली राज्यको अधीनस्थताको प्रतीकात्मक स्विकारोक्ति दशैंमा चढाइने पशुबलिमार्फत् नै भइरहेको बुझिन्छ ।

अझ लिम्बू सुब्बाहरूबाट पनि उनीहरूका किपटअन्तर्गतका घरधुरीहरूले आशिर्वाद र अभिभावकत्व ग्रहण गर्ने र स्थानीय शासकीय अधीनताको नवीकरण गर्ने अवसर दसैं नै थियो । भूमिसुधार ऐनले लिम्बूहरूको किपट भूमि व्यवस्थाको अन्त्य गरेपछि स्थानीय तहमा सत्तासीन लिम्बू सुब्बाहरूको पनि अधिकार समाप्त भयो र लिम्बू सुब्बाहरूले दसैंमा पशुबलि दिने काम बन्द गरे अर्थात् राजनीतिक रूपमा दसैं मान्ने काम एक प्रकारले बन्द गरे । यसरी विगतमा लिम्बूहरूले दसैंमा पशुबलि दिने कुरा सोझो रूपमा नै गोरखा हिन्दु राज्य निर्माण र त्यसको अधीनस्थतासँग सम्बन्धित बुझिन्छ । लिम्बूहरू हिन्दु धर्मावलम्बी होइनन् त्यसैले लिम्बूहरूका निमित्त दसैंले धार्मिक र सांस्कृतिक अर्थ राख्दैन । उनीहरूको मुन्धुम, फेदाङवा/मा, येवा, साम्बा आदिले दसैंको प्रसंग ल्याउँदैनन् । उनीहरूको इष्ट देउ-देउताको पूजा-अभ्यर्थना गर्ने पनि होइन दसैंमा । त्यसैले अन्य समाजहरू र राज्यको प्रभावका कारण लिम्बूहरूमाझ पनि सामाजिक रूपमा दसैं मान्ने चलन सुरु भएको हुनसक्छ विगतमा । विवाह गरेर गएका छोरीचेली कोसेलीपातको भारी भरियाहरूका साथ दशैंमा नै माइत आउने चलनको सुरु भएको जस्तो लाग्छ ।

लिम्बूको कोसेली भन्नु के छ र ? ढाकरमा फूलहरूले सिंगारिएको सिंगो सुंगुर, गाग्रोभरि रक्सी र थरीथरीका मासु र तरकारीका चेप तथा टपरीहरू आमा-बा अथवा मूलघरका लागि । अनि सुंगुरका फिला र करङहरू छुट्टै पेरुंगो/चेपहरूमा च्यापेर र साना-साना मट्याहरूमा समेत रक्सी र फिलिंगे, गुन्द्रुक, सिमी, भटमास आदि अचारका टपरीहरू आपmनो नजीकका नाताहरूका लागि नभई नहुने । नाताभित्रको तह अनुसारको कोसेली भएन भने, सुंगुर गतिलो भएन भने, रक्सीको गुणस्तर राम्रो भएन भने खासखुसे कुरा काट्ने त छँदै छ । युवावयमा मैले देखे भोगेको दसैं लिम्बूवानको मेरो गाउँमा यस्तै थियो । सबै लिम्बूहरूमा होइन तर स्थानीय सत्ता-सुख-भोग गरिरहेका वा मूलतः किपटिया लिम्बूमा सेतो टीका थाप्ने र टीका लगाइमाग्न आउनेलाई पनि सेतै लगाइदिने चलन थियो । 

वास्तवमा हिन्दुहरूले जुठो जातको र अभक्ष मानेको अझ बाहुनले छुनै नहुने पशु संुगुर सिंगारेर, त्यसैलाई सबैभन्दा अभीष्ट भोजन मानेर, उतिबेला हो भने बाहुनले चलाउनै नहुनेे रक्सी चलाएर, हिन्दु जातीय चलनमा अभिभावकको मृत्युको आशौच र अशुद्धिको प्रतीक सेतो रङको टीका थापेर लिम्बूहरूले दसैं मान्नुको ध्वन्यात्मक अर्थ के हुन सक्ला ? लिम्बूले रूप पक्षमा दसैं मानेकै देखाएर यसैको माध्यमबाट सारभूत अर्थमा हिन्दु राज्य र धर्मको विरोध वा खिल्ली उडाएको देखिँदैन र ?

आज दशैंको सन्दर्भलाई लिम्बूहरूले तीन ढंगले लिन्छन् जस्तो लाग्छ- पहिलो दशैं बहिष्कार, दोस्रो बहिष्कार पनि नगर्ने र नमनाउने पनि, तेस्रो दशैं सामाजिक रूपमा मनाउने । यी तीनै पक्ष एक वा अर्को रूपमा दसैं प्रभावित नै हुन् किनभने दसैंको मानवशास्त्रीय अध्ययनले लिम्बूहरू र गोरखा हिन्दु राज्यबीचको राजनैतिक-ऐतिहासिक सम्बन्धको एउटा पक्ष बुझ्न सकिन्छ ।

[मानवशास्त्री चेम्जोङ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।)