Home विशेष लेख मंगोल नेशनल अर्गनाईजेशनको पर्दाफाश

मंगोल नेशनल अर्गनाईजेशनको पर्दाफाश

E-mail Print PDF
AddThis Social Bookmark Button

चुडामणी गुरुङ

काठमाडौ, आश्विन २७ – मंगोल नेशनल अर्गानाइजेशनले आफ्नो राजनीतिक कार्यक्रमलाई मंगोलवाद भन्ने गरेको छ। यो संगठनलाई यसका कार्यकर्ता र समर्थकहरुले एमएनओको नामले पनि परिचित गराउने गरेका छन। यो संगठनको स्थापना भएदेखि हालसम्म गोपाल गुरुङ प्रेसिडेन्ट रहेका छन। अहिले आएर यो संगठन नेपालका समस्त मूलवासी मंगोल समुदायका विरुद्ध रहेको र मूलवासी मंगोलमाझ यो संगठनले ठूलो भ्रम छर्ने गरेको प्रमाणित भएको छ।

गोपाल गुरुङले एमएनओको माध्यमबाट अहिन्दू मूलवासी मंगोल समुदायका विरुद्ध प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गतिविधि र कृयाकलापहरु गर्दै २२ वर्ष गुजारिसकेका छन। एमएनओको गठनताका र आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र परिस्थितिमा निकै ठूलो परिवर्तन भइसकेको छ। तर एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङको सोचमा खासै परिवर्तन भएको देखिँदैन। गोपाल गुरुङले एमएनओलाई निर्वाचन आयोगले दर्ता दिएन भनेर मूलवासी मंगोल समुदायमाझ ठूलो भ्रम छर्ने काम गरेका थिए। तर एमएनओका केन्द्रीयसभाका सचिव कृष्ण बहादुर तामाङ र भिम गुरुङ लगायतका व्यक्तिहरुले संविधानसभाको निर्वाचनअघि एमएनओलाई निर्वाचन आयोगमा गई वैधानिक रुपमा दर्ता गर्ने काम गरे।


एमएनओ निर्वाचन आयोगमा दर्ता हुने बेला गोपाल गुरुङ आफ्नै घर दार्जीलिङमा गएर बसेका थिए। एमएनओ सचिव कृष्ण बहादुर तामाङ र भिम गुरुङले चुनावमा भाग लिन आउनुस् भनेपछि मात्र गोपाल गुरुङ इलाम आएर इलामको निर्वाचन क्षेत्र नं ३ बाट चुनाव लडेका थिए। जुन क्षेत्रमा नेपाली कंग्रेसका महामन्त्री कुलबहादुर गुरुङ पनि चुनाव लडेका थिए। गुरुङ समुदायले गोपाल गुरुङलाई यो क्षेत्रबाट चुनाव नलडी अन्य क्षेत्रबाट लड्न अनुरोध गरेको थिए। यति हुँदाहुँदै पनि गोपाल गुरुङ कुलबहादुर गुरुङका विरुद्धमा चुनावमा प्रतिस्पर्धा गर्न तयार भए। यही कारण अहिले त्यस क्षेत्रका गुरुङहरु गोपाल गुरुङका विरुद्धमा उत्रिएका छन। उनलाई त्यस क्षेत्रबाट चुनावमा भाग लिनका लागि चाहिने आवश्यक कागजपत्रहरु काठमाडौंबाट हरि तामाङले पठाइदिएका थिए। त्यतिखेर हामीले के थाहा पायौं भने एमएनओले निर्वाचन आयोगबाट वैधानिकता नपाउनुको कारण गोपाल गुरुङले निर्वाचन आयोगमा कहिल्यै पनि एमएनओलाई दर्ता प्रकृयामा लैजाने कोशिश नै गरेका रहेनछन। किनकि गुरुङसँग विधान लेख्ने क्षमता पनि रहेनछ। पछिल्लो चरणमा एमएनओले निर्वाचन आयोगमा बुझाएको विधान एमएनओका तत्कालीन सचिव कृष्ण बहादुर तामाङले तयार पार्नुभएको थियो र केन्द्रीयसभाले त्यो विधानलाई अनुमोदन गरेको थियो। यसकारण त्यसभन्दा अघि एमएनओलाई निर्वाचन आयोगले दर्ता दिएन भनेर गोपाल गुरुङले प्रपोगण्डा मात्र फैलाएका रहेछन।


संविधानसभाको निर्वाचनताका एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङको भूमिका शून्य रहेको थियो। निर्वाचनमा गोपाल गुरुङको भूमिका शून्य रहेको देखेपछि सिङ्गो मंगोल समुदाय र गुरुङ समाज उनीसँग आक्रोशित भएका थिए। संविधानसभाको चुनावपछि यो दलको सांगठनिक अवस्था शून्यमा रहेको थियो। यति हुँदाहुँदै पनि २०६७ फागुन १५, १६ र १७ गते एमएनओको राष्ट्रिय महाधिवेशन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा सम्पन्न भयो। उक्त महाधिवेशनमा हजोरौँको संख्यामा जनताको सहभागिता रहेको थियो। महाधिवेशनमा हजारौँको सहभागिता हुनुको श्रेय एमएनओका केन्द्रीयसभाका तत्कालीन सचिव कृष्ण बहादुर तामाङलाई नै जान्छ। एमएनओको महाधिवेशन भएको १९ महिना बितिसकेको छ। तर अहिलेसम्म एकपटक पनि केन्द्रीयसभाको बैठक बस्न सकेको छैन।


केन्द्रीयसभाको बैठक बस्न नसकेपछि दलको भावी नीति कार्यक्रम र योजनाहरु ठप्प हुन पुगेको थियो। यसरी एमएनओका सबै कार्यक्रमहरु ठप्प हुन पुगेपछि केन्द्रीयसभाका सचिव कृष्ण बहादुर तामाङलाई कार्यकर्ताहरुले भावी नीति कार्यक्रम र योजनाहरु बनाएर एमएनओलाई अगाडि बढाउन वा नयाँ पार्टी निर्माण गर्न दवाव दिएपछि तामाङले २०६८ भदौ १५ गते केन्द्रीय सभाबाट राजिनामा दिएका छन। तामाङले केन्द्रीय सभाबाट राजिनामा गरी मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरेका छन। पार्टीको केन्द्रीय समितिका प्रेसिडेन्टमा एमएनओका पूर्व मूलसचिव किरण याक्तेन रहेका छन। तामाङले केन्द्रीय सभाबाट राजिनामा दिई मंगोल डेमोक्रेटिक पार्टीको गठन गरेपछि एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङले तामाङसँग अनुनय/विनय गर्दै एमएनओमा नै रहन अनुरोध गरेका थिए। तर तामाङले नमानेपछि उनलाई २०६८ भदौ २६ गते पार्टीबाट कारबाही गरॆको घोषणा गर्दै विभिन्न ठाउँमा पत्र पठाएका थिए। जबकि तामाङले यस भन्दा १२ दिनअगाडि नै राजिनामा गरिसकेका थिए। तामाङले एमएनओ केन्द्रीय सभाबाट राजिनामा गरेपछि एमएनओको संगठन पूर्ण रुपमा ध्वस्त भएको छ। यसबाट आत्तलिएर अहिले गुरुङले तामाङमाथि एमएनओमा रहँदा आर्थिक घोटाला गरेको र विभिन्न अवैध कृयाकलाप गरेको भन्ने भ्रमपूर्ण पर्चाहरु निकाल्ने तयारी गरिरहेका छन। एमएनओको कुनै पनि आर्थिक कोष नभएकोले गोपाल गुरुङलाई कुनै पनि ठाउँमा भएको एमएनओको कार्यक्रमहरुमा भाग लिन जाँदा लाग्ने सम्पूर्ण खर्च तामाङले नै दिनु पर्थ्यो। गोपाल गुरुङले तामाङलाई एमएनओ नछाड्न भनी आग्रह गरेको गुरुङको भ्वाइस रेकर्ड हामीसँग सुरक्षित छ।


कुनै पनि परिवर्तनकारी पार्टीले आफ्नो लक्ष्यअनुरुप आफ्नो आधारभूत शक्तिको पहिचान गर्दछ र त्यसैको बलमा मुलुकको राजनीतिक आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तन गर्ने योजना बनाउँछ। गोपाल गुरुङले त आफ्नो आभारभूत शक्तिको पहिचान पनि गर्न सकेका छैनन्। आधारभूत शक्तिको पहिचान नगर्ने पार्टी गफाडीहरुको चिया पसलको गफ मात्र हुन्छ। त्यसले आमूल परिवर्तनको डिंग हाँक्न सक्छ तर माखो पनि मार्न सक्दैन। एमएनओको नामले नै उसको आधारभूत शक्ति भनेको अहिन्दू मूलवासी मंगोलहरु हुन्। तर गोपाल गुरुङले त आफ्नै समुदायलाई शत्रु घोषित गरेका छन्। हो, हरेक राजनीतिक दलले आफ्नो मित्र-शक्ति र शत्रु-शक्तिको पहिचान गर्दछन। त्यसै अनुसार दलको रणनीति र कार्यक्रम तय गर्दछन्। अनि विभिन्न दल तथा संघ-संस्थासँग सहकार्य वा एकता गर्दछन। गोपाल गुरुङले ९९ प्रतिशत मंगोल समुदायको प्रतिनिधित्व गर्ने संघ-संस्थाहरु र ती संस्थाहरुसँग आबद्ध वा त्यस आन्दोलनका नेतृत्वहरु डा. ओम गुरुङ, पर्शुराम तामाङ, सीताराम तामाङ, पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, सुरेश आले मगर, बैरागी काइँला, डा. कृष्ण बहादुर भट्टचन, नोबलकिशोर राई, डा. चैतन्य सुब्बा र बालकृष्ण माबुहाङलगायत मंगोल समुदायका सयौँ नेतृत्व कर्ताहरुलाई ज्यानी-दुश्मन घोषणा गरेको छन। यी संघ-संस्था र नेताहरुले निम्त्याएको कुनै पनि कार्यक्रममा आफ्ना कार्यकर्ताहरुलाई भाग नलिनू भन्ने आदेशसमेत जारी गर्ने गरेका छन्। यसबाट गोपाल गुरुङ र एमएनओले गरिरहेका गतिविधि र कृयाकलाप अहिन्दू मूलवासी मंगोल समुदायले वर्तमान् समयमा गरिरहेको आन्दोलनका विरुद्धमा रहेको देखिन्छ। यसरी गोपाल गुरुङ र एमएनओले कुन आफ्नो मित्र-शक्ति हो र कुन आफ्नो शत्रु-शक्ति हो भन्ने कुरा छुटाउन सकेका छैनन। गोपाल गुरुङको यो कृयाकलाप मंगोलको कल्याण गर्ने नाममा घुमाउरो पाराले मंगोल समुदायकै विरुद्ध उभिएपछि एमएनओका सबै नेता तथा कार्यकर्ताहरुले एमएनओ परित्याग गरी मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरेका हुन। एमएनओमा अहिले मुलुकभरिमा एक सय जना कार्यकर्ताहरु भेटाउन पनि मुस्किल छ।


गोपाल गुरुङले राजालाई आजीवन राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि एमएनओका समग्र कार्यकर्ताहरुले विरोध गरेका थिए। एमएनओले प्रान्तीय सरकारको कुरा गरे पनि मुलुकमा कति वटा प्रान्तहरु हुनुपर्छ र सरकारको स्वरुप कस्तो हुनुपर्छ राज्यको स्वरुप समावेशी, समानुपातिक प्रतिनिधित्व वा मंगोल मात्रको एकलौटी के हुनु पर्छ के कसरी उत्पीडनमा परेका अहिन्दू मूलवासी मंगोल समुदाय, पिछडा वर्ग र हिन्दूहरुले शुद्र बनाइएको तथाकथित अछुत वर्ग दलित समुदाय र मुस्लिमहरुको हक-अधिकारको सुरक्षित गर्ने, भावी गणतन्त्र नेपालको आर्थिक ढाँचा कस्तो हुने यी तमाम विषयमा गोपाल गुरुङ र एमएनओसँग कुनै भिजन र प्रस्तावहरु छैनन। हामी नेपालका हिन्दू आर्यन शासकहरुबाट शोषित-पीडित समुदायले अधिकार विहिन संविधान र भौकै बस्ने मंगोलवाद अवस्य नै खोजेको होइन। किताब खानु मिल्दैन, आकाश ओढ्नु मिल्दैन। सपनाको आनन्दले गुजरा चल्दैन। गोपाल गुरुङ र एमएनओको अहिलेको गतिविधि र कृयाकलाप यथास्थितिवादी अर्थात् सामन्ती दलाल र पुँजीपतिको पक्षपाती रहेको देखिन्छ। तसर्थ गोपाल गुरुङको नेतृत्वमा रहेको एमएनओ तमाम गरिब, गरिखाने वर्ग र अहिन्दू मूलवासी मंगोल समुदायको हीतविरुद्ध उभिएको छ।


गोपाल गुरुङले २२ वर्षदेखि एमएनओको नाममा हुँकार गर्दै आइरहेको भए पनि उसँग सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक कार्यक्रम र भावी नेपालको खाका छैन। गोपाल गुरुङसँग केही छ भने दम्भ र घमण्ड मात्र छ। “मै खाउँ, मै लाउँ, सब सुख-सयल मै गरुँ! मै नाचुँ मै हासुँ मरुन् सबै दुर्बलहरु !!” भन्ने सोच र प्रवृत्ति गुरुङसँग छ। एक किसिमले यो सोच र प्रवृत्ति पनि बाहुनवाद नै हो। गुरुङले एमएनओ स्थापना भएदेखि यता हालसम्म पार्टीबाट निश्कासन र कारवाही गरेका नेता तथा कार्यकर्ताहरुको संख्या मात्रै एक हजारभन्दा बढी रहेको छ। गुरुङले यतिसम्म गरेका छन् कि आफ्नै बहिनी कृष्णा गुरुङलाई समेत घरबाट निकाल्ने काम गरेका थिए। अहिलेसम्म एमएनओका जति नेता तथा कार्यकर्ताहरुलाई गोपाल गुरुङले पार्टीबाट निश्कासन गरेका छन् ती सबै नेता तथा कार्यकर्ताहरु अति सक्षम र जुझारु छन्। निष्काशन गरेका जति व्यक्ति छन् उनीहरुलाई एमएनओको विधान विपरित निष्काशन गरेका छन्। गुरुङको यस कार्यलाई तानाशाही र निरंकुश प्रवृत्ति त के भनौं उनलाई एकलकाटे चरित्र र प्रवृत्ति भएका व्यक्ति भन्न उपयुक्त हुनेछ। किनकि आफ्नै बहिनीलाई घरबाट निकालेका कारण यस कुराको पुष्टि हुन्छ।


त्यसकारण गुरुङ र एमएनओसँग रहेका करिब एक सय जति नेता तथा कार्यकर्ताहरुले आफूलाई परिवर्तन गरी परिवर्तनकारी दल मंगोल डेमोक्रेटिक पार्टीमा रुपान्तरित हुने तयारी गरिरहेका छन। गोपाल गुरुङसँग समग्र उत्पीडित समुदाय, वर्ग र क्षेत्रको समस्या सम्बोधन गर्ने कुनै दृष्टिकोण छैन भन्ने ठहर उनीहरुले गरिसकेका छन। यस्तो व्यक्तिको नेतृत्वमा रहेको संगठनले कसरी सिंगो मुलुकबासीको मानव-अधिकार, वातावरण र विकास तथा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्छ यो एकदमै सोचनीय कुरा हो। यति सम्मकि एमएनओ प्रेसिडेन्ट गुरुङलाई आफ्नै गुरुङ समुदायका सबै संघ/ संस्थाहरुले विगत केही वर्षदेखि तिरष्कृत र बहिष्कृत गर्दै आएका छन्। गुरुङले दक्षिणपन्थी र प्रतिकृयावादीहरुको सेवा गर्ने गरेको आरोप गुरुङ समुदायले लगाउने गरेको छ। यही कारण एमएनओ प्रेसिडेन्ट गुरुङले सिंगो गुरुङ समुदायलाई शत्रु घोषणा गरेका हुन। उनलाई गुरुङ समुदायको कुनै पनि संघ/संस्थाबाट निमन्त्रणा नआउनु अनि उनी पनि गुरुङ समुदायले गर्ने गरेका कुनै पनि कार्यक्रमहरुमा सहभागी नहुनुले यस कुराको पुष्टि हुन्छ। गोपाल गुरुङको एमएनओ र मंगोलवाद अन्ततः प्रतिगमनकारी, यथास्थिति-वादी, प्रतिकृयावादी, सामन्ती, राजावादी, जातिवादी, दक्षिणपन्थी र बिसर्जनवादीको हतियार बन्ने खतरा र सम्भावना रहेको देखिन्छ। यही कारण अहिले गोपाल गुरुङ र एमएनओसँग रहेका सबै नेता तथा कार्यकर्ताहरु मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश गरिरहेका छन।