Home विशेष लेख सरल गीतहरु बिर्सिएका गीतहरु

सरल गीतहरु बिर्सिएका गीतहरु

E-mail Print PDF
AddThis Social Bookmark Button

स्वप्नील स्मृति
कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा बिर्सिएका गीतहरु कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकुले आफूलाई गीतकार बनाएको उनले पुस्तकको मेरो भन्नु महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन्, आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत धेरै साथीहरुसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरु साथीहरुसँग आदानप्रदान गर्दथेँ । यस्तै क्रममा २०१० अक्टुबरमा फेसबुकमार्फत कवि तथा गीतकार टङ्क सम्बाहाम्फेज्यूसँग मेरो भेट हुन पुग्यो । त्यसपछि उहाँले मेरा गीतहरु हेर्न थाल्नुभयो । भनाइबाट प्रष्ट हुन्छ, कृष्णकलाभित्रको   गीतकार कृष्णकला लगभग चार वर्षीय हुन् । त्यसैले पनि होला उनले गीतमा अझै निखारपन ल्याउनुपर्ने देखिन्छ ।

 
टङ्क सम्बाहाम्फेको गीती साधना निक्कै लामो छ । नेपाली गीत लेखनमा सम्बाहाम्फे एक स्थापित गीतकार र कवि दुवै हुन् । बिर्सिएको गीतहरुमाथि टङ्क सम्बाहाम्फे लेख्छन्, गीतको सम्पादनदेखि लिएर प्रकाशनसम्म मैले सहयोग गर्ने बाचा गरेको थिएँ।।। गीतकार सम्बाहाम्फेले यति भन्दाभन्दै पनि वनेमका गीतमा सख्त सम्पादन नपुगेकै देखिन्छ । वनेमका गीतहरु पढिसकेपछि एउटा आंशिक पाठकलाई अवश्य आँट आउनेछ, गीत यस्तै हुन्छ भने त जसले पनि किन लेखिदिन्छ तर एक सचेत पाठकलाई भने गीतकार वनेमले अझै यी गीतलाई काँटछाँट गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नै लाग्छ ।

 
फेसबुक नेपाली साहित्यका पाठक र लेखकबीचको भरपर्दो साँघु बनेको छ । लेखकले हातहाती प्रतिक्रिया अथवा फेसबुककै भाषामा कमेन्टु र लाइक पाठकबाट तुरुन्तै पाउनु यसको फाइदा छ । त्यो सेकेण्डको भरमा गरिने लाइक र मिनेटको भरमा लेखिने कमेन्टुले गम्भीर पठन र जिम्मेवारपूर्वक प्रतिक्रिया जनाउने प्रक्रियालाई रिमुभु गरिरहेको छ । गीतहरु पढिसकेपछि वनेमभित्रको एक गम्भीर र शक्तिशाली लेखक कतै त्यसैको शिकार भएको त होइन शंका उब्जिए पनि नेपाली गीतिसाहित्यले एउटा आशालाग्दो कृति भने प्राप्त गरेको छ ।


निराशाको बादल लाग्यो साथ छुटेपछि
कसलाई खुशी साचूँ मैले माया टुटेपछि


अक्सर उनका गीत यस्तै अन्त्यानुप्रास मिलाएर लेखिएका छन् । गीतमा भावना पक्षकै प्रधान हुन्छ संगै विचार पनि अन्तर्घुलित भएर आउनुपर्छ । उनका गीतहरु पढिसकेपछि उनको विचारभन्दा उनको भावनात्मक पक्ष छताछुल्ल देखिन्छ । र केही गीतले उनीभित्रको प्रतिभाशाली गीतकारितालाई पनि उद्घाटन गरेको छ ।

 
पहरामा फुले पनि मन पर्ने सुनाखरी
टिपेर लाउँ भने आकाशको जूनसरी


जम्मा एक सय बीस वटा गीत समाविष्ट बिर्सिएका गीतहरुभित्र सम्झन लायक केही गीतहरु अवश्य छन् । समग्र गीतहरु पढिसकेपछि कृष्णकला वनेम संवेदनाकी प्रचुर खानी व्यक्तित्व पाइए पनि संवेदनालाई गीतिकलामा ढाल्न सक्ने शिल्पी कृष्णकला भने हुर्कदो अवस्थामा देखिन्छ । जरुर गीतमा संवेदना पक्षको उपल्लो महत्व हुन्छ तर त्यसलाई कलात्मक, लयात्मक र सताङ्गो ढर्रामा प्रस्तुत गर्न सक्नु गीतकारकै क्षमताको प्रश्न हो ।


गीतकार कृष्णकलाले आफ्ना गीतहरु कुनै न कुनै लयमा, प्यारोडीमा गाउँदै रचे कि १ गीतलाई भाकामा  गुन्गुनाउँदै लेख्नु र पाठकले एक्कासी पुस्तकमा पढ्नुमा धेरै फरक हुन्छ । फेरि त्यसलाई संगीतमा ढालिएपछि भने गीतको मर्म गीतभित्रबाट बाहिर आउँछ । भाकामा गाउँदै रचिएको गीतले गीतकार स्वयंलाई त राम्रोको प्रशस्त भ्रम दिन्छ तर श्रोता र पाठकमा पुग्दा त्यो राम्रो साँच्चिकै भ्रममा मात्र रुपान्तरण हुन्छ ।
आफ्नो गीति लेखनमा लिम्बु संस्कृति र संवेदनालाई प्रवेश गराउनु गीतकार कृष्णकला वनेमका सकारात्मक पक्षहरु हुन् । आफ्नो स्थानीयता र आञ्चलिकतालाई गीतमा नउनी नसक्नु एक भावुक गीतकारको नियती र कर्तव्य दुवै हो । उनका केही देशभक्तिपूर्ण गीत पनि संग्रहमा समाविष्ट छन् तर उनले गीतमा प्रयुक्त गरेको भाषा, विम्ब र प्रतीकमा नवीनता छ्रैन । त्यसैले उनका गीत पहिले नै पढिरसुनिसकिएका गीत जस्ता  छन् जो अहिलेको नेपाली गीतसंगीतको बजारमा बारबार दोहोरिइरहेका सस्ता गीतहरु नै किन नहुन् । तर सँगै उनको औँलामा गन्न सकिने यस्ता गीत पनि छन् जसले उनलाई अलगधारको गीतकारको पहिचानतिर उन्मुख गराएको छ ।


दीपावली मेला जाँदा भयो चिनाजानी
धानै नाचौँ भन्यौ कान्छी मेरो हात तानी

सायद गीतकार कृष्णकला रोजगारीका रुपमा इजरायलमा बसेर पनि होला, उनले आफ्ना गीतमा स्वदेश, गाउँ फर्किआउने वाचाहरु गर्छिन् । गाउँमा धान नाचेको मेलाहाट, भीरपाखा, भञ्ज्याङलाई सम्झीन्छिन् । तमोर, शिवा, फुङ्नाम गाउँ, दोभान, मंशीरे पूर्णे, फोलेलुङ डाँडा, छातेढुङ्गा, अमरपुर, हेँवा दोभान, सङ्क्रान्तिबजार, चुवानडाँडा, इवा गाउँ, सल्लेरी पाखाका भाकाहरु उधिनेकी छिन् । यसले सम्बन्धित गीतहरुलाई जीवन्तता दिएको पाइन्छ ।


नेपाल विविधतायुक्त संस्कृतिले सजिएको मुलुक हो । वनेम लिम्बु जातिबाट नेपाली गीतसंगीतमा प्रवेश गरेकी प्रतिभा हुन् । अहिले आफ्नो स्वत्वको मुद्दा साहित्य, संगीत, राजनीति सबै क्षेत्रमा व्याप्त छ । तर वनेमले कतिपय गीतमा हिन्दू संस्कृतिका मूल्य मान्यतालाई दोहोर्याएकी छिन् । ती मूल्य मान्यता कृष्णकला वनेमका लागि धेरै भारी छन् किभने आदिकवि भानुभक्त, राष्ट्रकवि माधव घिमिरेहरुले बोकाएको उक्त भारीलाई कृष्णकला वनेम लिम्बुहरुले बोकिरहनु आवश्यक छैन ।


संसारमा मायाका धेरै लाखु गीतहरु लेखिए होलान्  कृष्णकलाकै सङ्ग्रहमा गन्ने हो भने दुइ तिहाइ गीत त मायाकै छन् । भनिन्छ, संसारमा माया छ र लेखिन्छ गीत । प्रेमका, विछोडका, मिलनका अनेक गीतहरु । तर साँचोमा त माया(प्रेमले पीडित र मायाप्रेममा अनुबन्धित मनुवाहरुले गाउने, सम्झीने गीत उतार्न सक्नु चाहिँ गीतकारको असली सामार्थ्य हो कि, खै र जेहोस् आफूलाई लागेको जानेको लेख्ने छुट सबैलाई छ ।
अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशन गरेको बिर्सिएका गीत कृतिले जे भए पनि कृष्णकला वनेमलाई नेपाली साहित्यमा एउटा जिम्मेवारी थपिदिएको छ, त्यो हो, आइन्दा कृष्णकला वनेमलाई गीतिलेखनबाट भाग्ने छुट छैन । सरल र मध्यम खालका गीत सिर्जना गरेर पाठकमाझ उपस्थित कृष्णकलालाई आफ्नो कृष्णकला नामको कलालाई गीत पक्षमा खरो रुपले प्रयोग गरेर अर्को सुन्दर कृतिका साथ आउनेमा पाठकहरु आशावादी छन् । यही आशा जगाउनु नै बिर्सिएका गीतहरुको सफलता हो । 

 

 

 

Latest News