
Summary in English : Some discussion on the problems of ethnic minorities and life in general in Hong Kong
केहि लेखुँ जस्तो लाग्छ तर म असाध्यै अल्छी छु। मैले लेख्न मन लागेका विषयहरुको शिर्षक २ दर्जन जति विगतका वर्ष देखि त्यसै थन्किएर बसेका छन्। आजकल हङकङमा भएका कार्यक्रमहरुको समाचार कहिलेकाँही लेख्नु पर्छ। करैले लेख्ने गर्छु। यसरी पनि म आफूलाई आफैले पत्रकार भएको पगरी गुथ्ने गरेको छु। दैनिक समाजमा घटेका घटनाहरु उपर कहिलेकाँही टिकाटिप्पणी गर्न मन लाग्छ तथापी लेख्ने बानी छैन। ती सबै त्यसै रहरमा सिमित हुन्छन्। नियमित लेख्न सक्नु सायद मलाई फलामको चिउरा चपाउनुसरी हुन्छ। यस्तो थाहा हुदाँहुदै पनि मैले केहि लेख्ने दुस्साहस गरेको छु।
वेवसाईट शुरु गर्ने भनेर साथीहरुसँग छलफल हुदाँ देखि नै मनमा पनि र साथीहरुसँग पनि मैले सकभर नियमित केही लेख्ने छु भनेको थिएँ। आज हङकङ नेपाली डटकम वेवसाईट संचालन भएको पनि ८ महिना पुरा हुन लागेको छ तर अहिले सम्म शुरु गर्न सकेको छैन। यसले पनि मेरो भनाई र गराईलाई प्रतिबिम्ब गर्दछ। यति हुदाँहुदै पनि मत / मतान्तर शुरु गरेको छु। यो कुनै नियमित स्तम्भ भने होईन। किनभने म स्तम्भकार होईन। यसैले मत / मतान्तरबाट पाठकहरुले सोचे जस्तो चाँहि नपाउन सक्छन्।