HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home मत / मतान्तर जीवन यसरी दुख्दोरहेछ

जीवन यसरी दुख्दोरहेछ

E-mail Print PDF
AddThis Social Bookmark Button
Summary in English : Some discussion on the problems of ethnic minorities and life in general in Hong Kong
 
केहि लेखुँ जस्तो लाग्छ तर म असाध्यै अल्छी छु। मैले लेख्न मन लागेका विषयहरुको शिर्षक २ दर्जन जति विगतका वर्ष देखि त्यसै थन्किएर बसेका छन्। आजकल हङकङमा भएका कार्यक्रमहरुको समाचार कहिलेकाँही लेख्नु पर्छ। करैले लेख्ने गर्छु। यसरी पनि म आफूलाई आफैले पत्रकार भएको पगरी गुथ्ने गरेको छु। दैनिक समाजमा घटेका घटनाहरु उपर कहिलेकाँही टिकाटिप्पणी गर्न मन लाग्छ तथापी लेख्ने बानी छैन। ती सबै त्यसै रहरमा सिमित हुन्छन्। नियमित लेख्न सक्नु सायद मलाई फलामको चिउरा चपाउनुसरी हुन्छ। यस्तो थाहा हुदाँहुदै पनि मैले केहि लेख्ने दुस्साहस गरेको छु।

वेवसाईट शुरु गर्ने भनेर साथीहरुसँग छलफल हुदाँ देखि नै मनमा पनि र साथीहरुसँग पनि मैले सकभर नियमित केही लेख्ने छु भनेको थिएँ। आज हङकङ नेपाली डटकम वेवसाईट संचालन भएको पनि ८ महिना पुरा हुन लागेको छ तर अहिले सम्म शुरु गर्न सकेको छैन। यसले पनि मेरो भनाई र गराईलाई प्रतिबिम्ब गर्दछ। यति हुदाँहुदै पनि मत / मतान्तर शुरु गरेको छु। यो कुनै नियमित स्तम्भ भने होईन। किनभने म स्तम्भकार होईन। यसैले मत / मतान्तरबाट पाठकहरुले सोचे जस्तो चाँहि नपाउन सक्छन्।

के विषयमा लेखुँ यस पटक भनि सम्झिरहेको थिएँ। सम्झदै जाँदा अगष्ट ५ तारिख दिउँसो म चुनमुन हस्पिटलमा गएको थिएँ। नाम दर्ता गरे पछि सामान्य चेक तथा जानकारी लिने कार्य सकिएपछि डाक्टरसगँ कन्सल्टेसनको लागि पालो पर्खदै गत हप्ताको ‘साप्ताहिक एभरेष्ट’ पत्रिका हेरि रहेको थिएँ। म भन्दा केहि पर एक जना वृद्व हुव्लिचियरमा थिए। पलाष्टिकको थैलोमा भमिट गर्न शुरु गरे। केहि समय सम्म भमिट गरीरहे। नजिक बसेका बिरामीहरु पनि केहि पर सरे। ती वृद्वले हातको इसारले नर्सलाई बोलाए तर नर्सले बेफुर्सदी जस्तो गरी यता उता हिडिरहिन्। झण्डै २/३ पटक इसार गरे पछि बल्ल आईन् र सोधिन्। ती वृद्वले अंग्रजीमा तातो पानी मागे तर ती नर्सले छैन भनिन्। त्यस पछि ती वृद्वले हातमा रहेको भमिटको थैलो फाल्नलाई दिन खोजे तर ती नर्सले फोहर फाल्ने ठाउँ देखाएर गईन्। ती वृद्वले हातमा राखेर बसीरहे। निकै समय पछि उक्त नर्सले घिनाएको जस्तो गरी फाली।

ती वृद्वको अंग्रजी कामचलाउ सम्मको पनि थिएन भन्ने कुरा उनले तातोपानीलाई ‘हट वाट’ भन्दै पिउने इसार गरेर नर्सलाई आफुले भनेको कुरा बुझाइरहेका थिए। अर्को उनी गैर चिनिया रहेछन् भन्ने कुरा क्यान्टोनिज भाषा नबोलेर अंग्रेजी बोलेको हिसाबले अनुमान गर्न सकिन्छ। हेर्दा औसत चाईनिज वृद्वहरु जस्तै देखिने ती वृद्व मेरो अनुमानमा उनी नेपाली पनि होईनन् किन भने ती वृद्व ८० को वरिपरिका थिए। यस उमेरका नेपालीहरु यस समय हङकङमा सायद होलानन्। अर्को उनको त्यहाँ कुनै पनि सहयोगी थिएनन्। सामन्य त नेपाली भएको भए निश्चय नै सहयोगी हुने थिए। जे होस उनी हङकङका अल्पसंख्यक जाति मध्यका हुन् भन्नेमा शंका रहेन। त्यसपछि अनुत्तिर प्रश्नहरु मेरो सामु आए। जीन्दगीको यी बाँकी दिनहरु सबै भएर पनि सबै पराई, मान्छे पराई, भाषा पराई हुदा हुदाँ आफ्नो भनेको जीवन पनि पराईको भएर बाच्नु पर्दा कस्तो होला ? अनि सोचेँ आफुलाई त्यस बेला वृद्वको स्थानमा म भएको भएँ सहारा बिनाको त्यो जीबन के गर्थ्ये ? यो सोच्दा पनि आङ सीरिङ्ग भयो।

हङकङको १ दर्जन वर्षको बसाईमा मैले स्वयं वा प्रत्यक्ष भेदभाव गरेको अनुभव गरेको वा देखेको थिईन तर त्यस दिन ती वृद्व उपर ती नर्सले गरेको व्यवहारबाट वास्तवमा मूल जातिले अल्पसंख्यक जातिलाई समय र अवस्था अनुसार व्यवहार गर्दोरहेछ भन्ने लाग्यो। मलाई लाग्छ यो एउटा सामान्य घटना जस्तो हङकङ भरी कति असामान्य होला। विशेष गरी वृद्वहरुलाई यहाँको सरकार तथा गैर सरकारी संस्थाहरुले के गरी रहेका छन्? अझ अल्पसंख्यक जातिका ती वृद्वहरुको बारे के कस्तो व्यवस्था वा कार्यक्रमहरु छन् ?

हालै हङकङ सरकारले अल्पसंख्यक समुदायको लागि ४ वटा सेवा केन्द्रहरुमा वार्षिक १६ मिलियन सम्म खर्च गर्न सक्ने गरी विनियोजित रकमले के ती र त्यस्ता वृद्वहरुलाई लक्षित गरेका कार्यक्रमहरु पनि समावेश छन् ? मलाई लाग्छ तत्काल सरकारले हङकङमा रहेका सबै हस्पिटलमा त सम्भव छैन तर पनि कम्तिमा एनटी क्षेत्र, काउलुन क्षेत्र र हङकङ क्षेत्रका १/१ वट हस्पिटलमा दोभाषेको व्यवस्था गर्नसक्यो भने ती वृद्व जस्ता लगायत सबैलाई ठूलो राहात हुने थियो। हुन त आजकल प्रहरी, अदालत क्षेत्रमा दोभाषेको व्यवस्था गरिएको छ। साथै केही गैर सरकारी संस्थाहरुले चाहेमा हस्पिटलमा पनि यस प्रकारको सहयोग गरेका छन् तर यो व्यवहारिक देखिएको छैन।

अन्तमा मेरो युवा जोस, जाँगर र पसीना यो कंकृतयुक्त शहरलाई जीवन्त बनाउन १ दर्जन वर्षहरु खर्च गरेर पनि अझ निरन्तर पसीना बगाईरहेको छु। शंका लाग्छ मलाई कतै जीवनको अन्ततिर ती वृद्वको जस्तो नियतीको भागी त बन्नेहोईन ? त्यसवेला सायद प्रदेशी हुनुको अर्थ खोजीरहनु पर्दैन होला।
 
Comments (2)
जीवन यसरी दुख्दोरहेछ
1 Friday, 14 August 2009 23:48
तुल्सीराज राना मगर
जीवन यसरी दुख्दोरहेछ भन्ने सिर्शकले जसरी पूर्णता पायो तेसै गरी तपाईंले लेख्न चाहनु भएको विषयहरुको शिर्षक २ दर्जन जति विगतका वर्ष देखि त्यसै थन्किएर बसेका रहेछन ईन्द्र सर ति सबै सिर्शकहरुले पालै पालो गरी मतमतान्तरमै पढ्ने अभिलाषा लिएको छु लेख राम्रो छ निरन्तर बगिरहोस् ।
तुल्सीजी धन्यवाद।
2 Wednesday, 09 September 2009 18:47
ईन्द्र एलजी थापामगर
तपाईको सुझाव र सल्लाहको लागि हार्दिक धन्यवाद छ।

Add your comment

Your name:
Subject:
Comment:

Latest News