Home मत / मतान्तर एभरेष्ट साप्ताहिकको ‘सर्भे’ र गिरीराज पुनको ‘लेख’

एभरेष्ट साप्ताहिकको ‘सर्भे’ र गिरीराज पुनको ‘लेख’

E-mail Print PDF
AddThis Social Bookmark Button
-ईन्द्र एलजी थापामगर

झण्डै ३ हप्ता पहिलेको प्रसंगलाई पुन मन्थन गर्दैछु। तत्कालै चिरफार गर्नुपर्ने थियो। कतैबाट पनि कलम चलेन जस्तो लाग्यो यधपि पुरान कुराहरुलाई नकोट्याउनु राम्रो हो भन्छन् जानकारहरु तर पनि केही कुराहरु लेख्न मन लगेकोले प्रवेश गरेको छु।

हङकङ सरकारले सरकारका निति, नियमहरु, सरकारी सूचना तथा जानकारीहरु लगायतका कुराहरुलाई अल्पसंख्यक जातिहरु समक्ष पुराउनको लागि रेडियोको माध्यम प्रयोग गरेको हो भन्ने मेरो बुझाई छ। त्यस बाहेक यो सामुदायिक रेडियो भएकोले समाजमा रहने सम्पूर्ण समुदायहरुलाई समत्ने हिसाबले कार्यक्रमहरु प्रसारण हुनुपर्दछ। मनोरञ्जकपूर्णको साथसाथै विशेष गरि युवाहरुको लागि लागु पदार्थ तथा दूर्व्यसन रोकथाम, सरकारले उपलब्ध गराएका सरकारी सुविधाहरु, नि:शुल्क तालिमहरु, शिक्षामूलक एवं ज्ञानवर्धक कार्यक्रम आदिबारे प्रसारण हुनुपर्दछ।

‘एभरेष्ट साप्ताहिक’ले गत अगष्ट २३ तारिख देखि २६ सम्म २१० जना हङकङेली नेपालीहरुसँग संवैधानिक तथा मुख्य भूमि मामिलाद्वारा प्रायोजित नेपाली भाषामा प्रसारण भैरहेको ‘साप्ताहिक संदेश’ कार्यक्रमबारे सर्भे गरेको थियो। जसमा निम्न प्रश्नहरु सोधिएका थिए।

१. यो कार्यक्रमबारे थाहा छ वा छैन?
२. थाहा भए सुन्ने गरेको छ वा छैन? 
३. सुन्ने भए महिनामा कति पटक सुन्ने गरेको छ?

उक्त सर्भेमा देखिएको नतिजा यसप्रकारको छ :

रेडियो श्रोता १.४२ %
कार्यक्रमबारे जानकारी ५३.३३ %
कार्यक्रमबारे अनभिज्ञ ४६.६६ %
५ वर्षमा १/२ पटक सुन्ने ३७.७१ %
महिनामा १ पटक सुन्ने १०.९५ %

यस लेखमा सर्भेले देखाएको तथ्याङ्कलाई विश्लेषण गर्न गैरहेको छैन। वास्तवमा ‘एभरेष्ट साप्तहिक’ले राम्रै हिसाबले सर्भे गर्ने कार्य गरेको भए पनि सर्भेमा सोधिएका प्रश्नहरु, सर्भे गर्दा अपनाएका तरिकाहरु र यसले लिएको समय आदिलाई हेर्दा ‘साप्ताहिक संदेश’ रडियो कार्यक्रमको औचित्य छ वा छैन? भन्ने जानकारी पाउने आश्य रहेको देखिन्छ। यसो भन्नुका केहि आधारहरु छन्।

१. हङकङमा नेपाली पत्रकारीताको क्षेत्रमा किसन राई र उनको ‘एभरेष्ट साप्ताहिक’को योगदानको महत्वबारे धेरै भनिरहनु आवश्यक छैन्। विशेषगरी ‘एभरेष्ट साप्ताहिक’को जुन उचाई छ त्यस अनुरुप सर्भे हुनु पर्थ्यो त्यस अनुरुप भएन की?  

२. सर्भे हतारमा गरिएको छ। करिव ४ दिनमै सर्भे लिएर सार्बजनिक गरिएको छ। हङकङ जस्तो व्यस्त ठाँउमा यति थोरै समयमा सम्पन्न गर्नुले अनेक शंका उपशंकाहरु उत्पन्न गराएको हो। कम्तिमा हत्तार नगरीकन केहि हप्ता लगाएर गरिएको भए राम्रो हुन्थ्यो।

३. ‘एभरेष्ट साप्ताहिक’का सम्पादक किसन राई स्वंय आफैले सर्भे गरेका छन्। उनी र उनले सर्भे गरेको ‘साप्ताहिक संदेश’ रेडियोका संचालक चुरा थापा बीच समय समयमा मत मतानतर भैआएको हामी सबैलाई अवगत भएको हो। यसो भएको हुनाले ‘एभरेष्ट साप्ताहिक’ले आफैले सर्भे गर्नु भन्दा यहाका संघ/संस्थाहरुको सहयोग तथा सुझावहरुको साथसाथै कम्तिमा २/४ वटा सार्बजनिक कार्यक्रमहरु लगायत विभिन्न समुदायहरु र क्षेत्रहरुबाट पनि लिएको भए अति राम्रो हुने थियो।

४. प्रश्नहरु त्यतिमा मात्र सीमित नभएर कार्यक्रममा के के समावेश हुनु पर्छ? कुन कुन कार्यक्रमहरु उपयोगि तथा मन पर्छ? कुन चाही मन पर्दैन? कुन वर्ग वा समूहलाई लक्षित गर्नुपर्छ? प्रसारण समय बारे, यसले समुदायलाई पारेको असर  वा केही सुझाव वा प्रतिक्रियाहरु भए आदिबारे कम्तिमा १० वटा प्रश्नहरु समावेश गरेर नेपाली समुदायहरुबीच यस प्रकारको सर्भे गरेको भए राम्रो हुन्थ्यो।

५. सर्भे गरे पछि पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको भए राम्रो हुन्थ्यो। साथै उक्त सर्भेले  दिएको तथ्याङ्कनलाई प्रष्ट्याउन संघ/संस्थाहरुका अध्यक्ष तथा मिडिया पर्सनहरु र केही समाजका व्यक्तिहरुको धाराण राख्नाले ‘एभरेष्ट साप्तहिक’ले कुन उद्देश्यको लागि गरेको होला भन्नेबारे प्रश्न उठ्नु स्वभाविक हो। मलाई लाग्छ यी माथिका कारणहरु न्युनिकरण हुनसक्थ्यो भन्ने मेरो विचार हो।

यसै गरी गत अगष्ट २६ तारिखको ‘एभरेष्ट साप्ताहिक’को मुख्य पृष्ठमा मुख्य समाचार बनेर यस सर्भेको नतिजा प्रकासन भए पछि हङकङेली नेपालीहरुमा एक किसिमको तरङ्ग पैदा भयो। त्यसमा पनि विशेष गरि गिरीराज पुनले ‘हङकङमा नेपाली रेडियो बन्द गराउने षडयन्त्र’ लेख लेखे पछि थुप्रै क्रियाप्रतिक्रियाहरु आए। ती प्रतिक्रयाहरुलाई निश्चयनै सम्बन्धित व्यक्तिहरुले मनन् गर्नुभएको होला भन्ने मेरो सोचाई छ। साथै उक्त लेखमा केही उठेका प्रशंगहरुबारे भन्न मन लागेको छ।

१. पहिलो कुरा चुरा थापाको कै कारणले आधा घण्टाबाट १ घण्टा समय बढाएको हो भन्नेबारे पुरै सहि होईन कि भन्ने मेरो धारण छ। निश्चय नै उनले विशेष पहल गरेका होलान तथापि सरकारले नेपाली भाषामा संचालित ‘साप्ताहिक संदेश’ र उर्दु भाषामा संचालित ‘हङकङकी साम’ यी दुवै कार्यक्रमलाई  जुलाई १२ तारिख २००९ देखि १ घण्टा समय बढाएको हो।

२. यसै गरी हुम गुरुङले स्वच्छाले नेपाली रेडियो नेपाल दर्शनबाट राजिनामा दिएपछि कार्यक्रम संचालनको लागि किसन राईलाई हङकङ नेपाली महासंघ र नेपाली महावाणिज्यदूतवासबाट सिफारिस गरेको भन्नेबारे अहिले सम्म किसन राईले किन स्पष्टिकरण दिएनन् त्यो मलाई थाहा भएन तर वास्तविकता के हो भने तत्कालिन महासंघको कार्यसमितिमा म पनि पदाधिकारी रहेकोले स्पष्ट गराउन चाँहेको मात्र हो। यस सन्दर्भवमा हङकङ सरकारले उक्त नेपाली रेडियो कार्यक्रम संचालनको लागि नेपाली महावाणिज्यदूतवासलाई ‌औपचारिकरुपमै पत्र पठाएर संचालक पठाईदिन अनुरोध गरेको रहेछ। त्यस पछि अन्तर्वाता हुनु भन्दा ३/४ दिन बाँकी हुदा महावाणिज्यदूतवासले हङकङ नेपाली महासंघलाई पत्र लेखेर नेपाली समुदायबाट नाम पठाईदिन अनुरोध गरेपछि तत्कालै सचिवालयको वैठक बसेर ३ जनाको नामवली महावाणिज्यदूतवासमा पठाएको हो जसअनुसार पशन तमुले ईच्छा गरेनन् भने स्वंय किसन राईलाई भन्दा उनले पनि अस्विकार गरेपछि ३ जनाको नाम १. लक्ष्मी थापा राई २. देवराज राई र ३. कुल प्रसाद गुरुङलाई सिफारीस गरिएको थियो। स्मरणरहोस उक्त ७ सदस्यीय सचिवालय समितिमा पाँच प्रमुख पदाधिकारीहरु र दुई सदस्यहरु किसन राई र चुरा थापा थिए। यस भन्दा बढी सायद नलेख्यौ होला।

अन्तमा, सामान्यत सम्बन्धित विषयमाहरुमा सर्भे गर्दा लक्ष्यित समुदायहरुबाट कार्यक्रम प्रति विचार तथा वास्तविक सूचनाहरु पाउन सकिन्छ। त्यसैको आधारमा उद्देश्य, योजना, लागत, कार्यक्रम, मूल्याङ्कन, कमिकमजोरी आदिबारे सहिरुपमा कार्यन्वयन गर्न सहज हुने भएकोले पनि यसको ज्यादै महात्वपूर्ण भूमिका रहेको हुन्छ। यसो भएको हुनाले कमि कमजोरी जे जस्तो भए पनि यस सर्भेले ‘साप्ताहिक संदेश’ रेडियो कार्यक्रमलाई अझ परीमार्जित गर्दै साचो अर्थमा सबैले सबैको हो भन्ने महशुस बनाउनु पर्ने देखिन्छ। तसर्थ, ‘साप्ताहिक संदेश’का संचालकले सर्भेले अंकित गरेका राम्रा पक्षलाई मनन् गर्न कन्जुसाई गर्नुहुदैन भने ‘एभरेष्ट साप्ताहिक’ले सर्भेले देखाएको तथ्याङ्कनलाई मुख्य विषय बनाएर यसको औचित्य माथि नै प्रश्न उठ्ने गरी कार्यहरु गर्नुहुदैन भन्ने मेरो मान्यता हो।

स्मरण रहोस्, हङकङ सरकारद्वारा प्रायोजित ‘साप्ताहिक सन्देश’ कार्यक्रम हङकङको सरकारी रेडियो संस्था आरटीएचकेको रडियो ३ बाट प्रसारण हुंदै आएको छ।
 

Latest News