-ईन्द्र एलजी थापामगर
जूलाई १०, २००९ मा नागरीक संवाददाता भवसागर धिमिरेले यस वर्षको एस. एल. सी. परिक्षामा ८८.७५% ल्याएर उत्तिण भएकी मेघावी छात्रा भावना तामाङसँग भएको अत्यन्तै मार्मिक, वास्तविक जीवन कथा नागरिक दैनिकको वेभसाइटमा ‘पढ्न पाए केही गरेर देखाउँथेँ’ शिर्षक अन्तर्गत प्रकाशित भएको रहेछ। उक्त लेखलाई महत्व दिदै हङकङ नेपाली डट कमले साभार गरेर प्रकाशित गरेको थियो। यधपि अझ पनि पढ्न सकिन्छ।
झण्डै तीन महिना पहिलेको यो प्रशंग किन किन मेरो मानसपटलबाट हट्न सकेन। यसैले आज यसबारे केहि लेख्न गैरहेको छु। भावना तामाङसँग न मेरो नाता पर्छ न जात तथापि नेपाली नाता र जातले भने उनलाई छुन्छ र उनको संघ्रर्षमय दिनहरु र जीवनहरुले छुन्छ। दार्शनिक अज्ञातले भनेका छन ‘पीडाले बाटो देखाउछ तसर्थ आत्मपीडनले सही मार्गदर्शन गर्छ।’ मलाई लाग्यो यो भावना र भावनाहरु जस्ताको लागि भनेका रहेछन्। वास्तवमा पीडाहरुलाई पीडाको रुपमा ग्रहण गर्नेहरु सधै पीडामय भएर बाचे तर जस्ले पीडालाई आत्मपीडनकोरुपमा लिए उनीहरु सधै जीवनमा सफलमय भए। मलाई लाग्छ भावनाले दोस्रो रोजे।
औसत नेपालीहरुको स्तर भन्दा तलको जीवन जीइरहेकी भावनाले पल पल जीवनलाई पढिरहेकी छिन्। विशिष्ट श्रेणीमा एस. एल. सी. पास गर्दा पनि अझ पढ्न सकिरहेको छैन भन्ने भावनासँग कस्ता रहरहरु? कस्ता सपनाहरु र कस्ता आँकाक्षाहरु होलान? मैले सोच्न खोजेँ तर सकिन किन भने मेरो सोच भन्दा टाढाका परिदृश्यहरु, स्थितिहरु र आँकलन गर्न नसक्ने संभावनाहरु देखेँ।
जीवनमा दु:खहरु धेरै हुन्छन् तथापि जीवनको पूर्वावस्थामा नै यसरी अनुभव सगालीकी भावनाले वास्तवमा यथार्थ जीवनका धेरै दृश्यहरु देखिसकिकी रहिछिन्। यसवेला मलाई लागेको छ जीवन देख्नलाई उमेर र वर्षले नाप्नु पर्दोरहेनछ। तितो यथार्थ यसवेला औसत नेपालीहरुका छोराछोरीहरुले भावनाले भन्दा बढी जीवनलाई भोगिरहेका छन् मात्र ती भोगाई, दुखाईका पीडाहरु र अनुभवहरुलाई जीवन सूत्रकोरुपमा प्रयोग गर्न बुझेका वा जानेका वा सकिरहेका छैन। भावना र उनीहरुमा फरक यही छ। भावनालाई हेर्दा लाग्छ जीवनहरु जहीतही फूल्न सक्दोरहेछ। मानौ जीवन दुबो जस्तो रहेछ।
‘मेरो अगाडि धेरै चुनौती छन। महिला र बालबालिकाको डाक्टर बन्ने सपना, दुई बहिनीहरुलाई धेरैपढाउने ईच्छा, अस्वस्थ भएकी मेरी आमाको दुख पखाल्ने चाहना, परिवारलाई अध्यारो कोठा अध्यारो जीवनबाट बाहिर निकाल्नु पर्ने जिम्मेवारी यी यस्तै सपनाहरुका बीच उभिएकी म अब कुन बाटो हिड्ने? कसरी हिड्ने? थाहा छैन? हुन त म केही श्रम गरेर स्कुलमा पढाएर दुई चार पैसा कमाउन सक्छु तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुदैन। मेरो विचार छ बरु गरिबले एक छाक कम खाएर भए पनि पढोस् त्यसले अर्को चार छाक कमाउन सक्छ।’
यी माथिका हरफहरु भावनाले भनेका हुन। जस्लाई मैले धेरै चोटि दोहोराएर पढेँ। चुनौतीपूर्ण जीवनवीच पनि कति स्पष्ट उद्देश्यहरु, जिम्मेवारीपनाहरु बोकेर हिडिकिछिन्। म आफै फर्केर हेरेँ। उमेर र वर्षले धेरै पाको म यथार्थमा साञ्चै बच्चा नै पो रहेछु। वास्तवमा बच्चाहरुको त सिङ्गै भविष्य अगाडि हुन्छ तर म भविष्यरहित र समय अनुसार हिड्न नसकेर पुड्को बच्चा रहेछु।
हुनत मैले समता शिक्षा निकेतन विधालयकोबारे केहि जानकारी पत्रपत्रिकाबाट पाएको थिएँ तथापि नेपालको लोकपृय कार्यक्रम ‘दिशानिर्देश’का विजय कुमार पाँण्डेले ‘मेरो जिन्दगी र मेरो विश्वासको’ १९ औ श्रृङखलामा उत्तम सञ्जेल र उनले स्थापना गरेको ‘समता शिक्षा निकेतन’ विधालय सम्बन्धित प्रस्तुत श्रव्यदृश्य सहितको कार्यक्रमले अझ बढी जानकारी गरायो।
गरीबका छोराछोरीहरु पनि समाजका हुनेखानेका छोराछोरीहरुले जस्तै अंग्रेजी माध्यमबाट शिक्षा लिन सकुन् भन्ने उद्देश्य लिएर स्थापना भएको समता शिक्षा निकेतन अहिले नेपालका ८ वटा जिल्लाहरु काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपालचोक, चितवन, नवलपरासी र मकवानपुर गरी १६/१७ हजार विधार्थीहरुले पढिरहेका छन्। कक्षा १ देखि १० कक्षा सम्म शुल्क रु. १०० मात्र लाग्ने उक्त विधालय नेपाली कलायुक्त ढाँचामा बाँसले बनेको सुन्दर घरहरुमा भावना तामाङ्ग जस्ता प्रतिनिधित्व गर्ने हजारी विधार्थीहरुले जीवनका सपनाहरु बोकेर पढिरहेका छन्। महिनाको हजारौ देखि लाखौ रुपैयासम्म खर्च गरेर पढाउने नेपालमा एकादेशको कहानी जस्तो लाग्छ। हो यहि विधालयमा भावनाले जीवनका खाकाहरु कोरेका थिए।
लेख्दै गर्दा यसवेला भावना तामाङ्ग कुन उच्च मा.वि./ क्याम्पसमा पढ्दै छिन् होला? बाटोहरुलाई कसरी सहज बनाउदै छिन् होला? आदि/ईत्यादि प्रश्नहरु आईरहयो। उनी र उनीहरु जस्ताका लागि नेपाल सरकारले केहि सोच्ने हो भने मात्र शिक्षा भनेको जनताको मौलिक अधिकार, उन्नती र समृद्विको आधार हो भन्ने बुझ्न सक्ने छन् तर मलाई वर्तमानले सताईरहयो र सोचेँ बिट मार्नको विकल्प रहेन र अन्तमा देशले पुड्का बच्चाहरु जस्ता होईन भावनाहरु र उत्तम सञ्जेलहरु जस्ता सबै कुराहरुमा पाका चाहिरहेको छ। कम्तिमा पुड्काहरुले यही शुभेच्छा प्रकट गरौ कि?