ईन्द्र एलजी थापामगर
९ डिसेम्बर २००९
नेपाल डट एचकेका प्रकाश के.सी.ले ‘नेपालीको प्रतिनिधित्व संस्था’ उप शिर्षक अन्तर्गत ‘टक अफ द टाउन’मा महासंघको विकल्पबारे प्रसँग निकालेर वहसमा उतारेका छन यधपि झण्डै एक हप्ताको यो अवधि सम्म पनि सम्बन्धित व्यक्तिहरुबाट कुनै टिकाटिप्णी नहुनु आफैमा बुझिनसक्नु छ।
पहिलो कुरा, ‘एक दर्जन केही संस्थाहरुलाई मात्र प्रतिनिधित्व गरेर महासंघ अर्थात साझा संस्था रहेन र नेपालीहरुको प्रतिनिधित्व प्रभावकारीरुपमा गर्न सक्दैन’ भन्न कुरामा मेरो मतान्तर छ। गत केही महिना पहिले महासंघबाट ब्रिटिस गोर्खा भू.पू. सैनिक संघ, हेभिन्ली पाथ, भोजपुर सेवा समिति र हङकङ नेप्लिज फाउडेसन स्वइच्छा बाहिरिने निर्णय गरे पछि र स्वंय महासंघले कार्यालय संचालनको लागि लगाएको लेभि नबुझाएको कारण तनहू समाज र हङकङ नेप्लिज फुटबल एशोसिएसनलाई उनीहरुको सदस्यता खारेजि गरे पछि निश्चय नै जनमानसमा यस किसिमको संदेश प्रवाह हुन स्वभाविक हो। यदि महासंघका नेतृत्व वर्गले गम्भिर भएर सोचेको भए सायद माथिका संस्थाहरु बाहिरिने कम संभावना थियो। महासंघका भू.पू. अध्यक्ष हेजेन राईको संयोजकत्वमा गठित वार्ता समितिले पनि आशा गरे अनुरुप सफलता पाउन सकेन। विषयलाई हलुका पाराले हेर्ने नेतृत्वको यो प्रवृतिले आगामि दिनहरुमा पनि असर पर्ने स्थिति देखिन्छ। कम्तिमा महासंघको प्रभावकारीता र औचित्यबारे सतही भैरहेको यस समय गम्भिर भएर नेतृत्व वर्गले कार्य समिक्षा गर्दै कमिकमजोरीहरु हटाउदै अगाडि नबढी सुखै छैन।
एक दशकको यो दौरानमा महासंघले धेरै उकाली ओरालीहरु पार गरेको छ। यधपि सोचे जस्तो यसले फड्को मार्न वा कार्य गर्न सकेको छैन। यसमा सायद विवाद गर्ने ठाँउ छैन। यसो हुनाका कारणहरु के के हुन सक्छन् ? साथै समधानका विकल्प के के हुन सक्छन् ? आदि / ईत्यादिबारे गहन रुपमा छलफल नगरी महासंघ मात्र भनेर हिड्ने स्थितिले भविष्यमा अझ कमजोर बनाउने छ। अर्को कुरा संघ / संस्थाले गर्ने कार्यक्रमहरुमा प्रमुख वा विशेष अतिथि बन्दैमा महासंघको साख बढ्छ भन्ने मानसिकताबाट नहटेसम्म तपशिलका कार्यहरु ओझेलमा पर्छन् भन्ने कुरा कम्तिमा महासंघका हिमायतिहरुलाई पुरै ज्ञात हुनुपर्ने हो।
जहाँसम्म महासंघले गर्ने प्रतिनिधित्व र यसको प्रभावकारीताको सवाल छ यो निश्चय नै गम्भिर विषय हो। विना प्रतिनिधित्व र प्रभावकारीता महासंघ हुनुको अर्थ रहदैन। वास्तवमा महासंघ भन्दा पनि महासंघलाई नेतृत्व गर्नेहरुको कारणले बेलाकुबेला यसको औचित्यबारे टिकाटिप्णी हुने गर्छ। खासमा भन्नु पर्दा यसबेला महासंघको लागि सहज स्थिति पक्कै छैन। यति हुदाहुदै पनि गत मार्च १७ तारिख प्रहरी जवान हुइद्वारा नेपाली दिल बहादुर लिम्बुलाई गोलि हानी हत्या गरिएको उक्त घटनाको विरुद्वमा मार्च २९ तारिख हङकङ नेपाली महासंघको नेतृत्वमा गरिएको ‘विशाल विरोध याली’ले महासंघको औचित्य प्रष्ट्याउछ। अर्थात समय, परिस्थिति र अवस्था अनुसार महासंघको भूमिका, प्रभावकारीता र प्रतिनिधित्वको महत्व दर्शाउछ भन्ने देखाउछ।
प्रशंगवस प्रकाश के.सी.ले गैर आवासीय नेपाल संघ हङकङ र हिन्सलाई हङकङेली नेपालीहरुको प्रतिनिधित्वमूलक साझा संस्थाको विकल्पबारे बहसमा उतारेका छन्। कुनै पनि संस्थाले गर्ने कार्यक्रममा निश्चय नै उपस्थित सहभागिहरुको ठूलो महत्व रहन्छ। अझ हामीहरु त यसलाई कार्यक्रमको सफलता र असफलतासँग जोडेर पनि हेर्ने गर्छौ। यस अर्थमा ठूलो उपस्थिति गराउन सक्ने संस्थाहरुलाई प्रतिनिधित्वमूलक संस्थाको रुपमा हेर्न खोजिनुलाई अन्यथा लिनुहुदैन। तथापि हङकङको परिवेशमा हङकङ नेपाली महासंघको विकल्प दिन सक्ने अर्को संस्था कम्तिमा यस वेलासम्म छैन पछिको कुरा पछि नै। किनभने हङकङ नेपाली महासंघले एकातिर विभिन्न विचार र उद्देश्यहरु लिएर स्थापित नेपाली संघहरुको प्रतिनिधित्व गर्छ भने अर्कोतिर हङकङेली नेपालीहरुको। यसैले गैर आवासीय नेपाली संघ, हिन्स वा अन्य संघले नेपालीहरुको साझा प्रतिनिधित्व गर्न सक्लान् तर स्थापित नेपाली संघहरुको प्रतिनिधित्व गर्न सक्दैनन्। यस हिसाबले पनि महासंघको आवश्यकताको महशुस गरिएको हो।
अहिले हङकङ सरकार र सम्बन्धित निकायहरुलाई हङकङे नेपाली तथा उनीहरुका संघ / संस्थाको प्रतिनिधित्व गर्ने संघ भनेको हङकङ नेपाली महासंघ हो भन्ने कुरा विस्तारै अवगत हुदैछ। सायद यसैले होला गत महिना किरात याक्थुम चुम्लुङ, हङकङले आयोजना गरेको श्रीजङ्ग रनिङ कप फुटबल खेलको लागि काउलुन पार्कमा आयोजन गर्न संघका अध्यक्ष नीर प्रसाद लिम्बुले प्रतियोगिता हुने दिन पुरा दिनको लागि मैदान बुकिङ गर्न कोशिस गरेता पनि २/३ घण्टा भन्दा बढीको समय नमिले पछि महासंघको सिफारिसमा पुरै एक दिनको लागि मैदान पाउन सके। अर्को कुरा हालै विधायक परिषदका सभामुख चाङ योक सिङको विवाहमा महसंघलाई मात्र औपचारिक निमन्त्रण आउनुले यसको पुष्टि गराउदछ। यधपि यी सामान्य घटना जस्ता लागे पनि यसले महासंघको पहिचान देखाउछ भन्ने म ठान्छु।
दोस्रो कुरा, मैले यस वर्षको वार्षिक उत्सव तथा त्यस सम्बन्धि विषयमा जान्न महासंघका अध्यक्ष हेम लिम्बुलाई निकै प्रयास गरे। उनी सम्पर्कमा आउन चाहेनन्। अर्थात कार्यक्रमसँग सम्बन्धित विषयहरुबारे सर्वसाधारणलाई जानकारी दिन चाँहेनन्। सायद महासंघले अहिले सम्म गतिलो केहि गरेको छ भने त्यो यहि होला। यसलै यस किसिमको सार्वजनिक महत्व राख्ने विषयमा सम्बन्धित निकाय वा व्यक्तिले जानकारी नगराउनु भनेको सूचनाको हकलाई कुण्ठित गर्न खोज्नु हो । यसमा मलाई ज्यादै दुख लागेको छ।
यधपि मेरो जानकारीमा आए अनुसार यही डिसेम्बर ३१ तारिख याउ मा तेई कम्युनिटि हलमा महासंघको ११ औ वार्षिक उत्सवको साथ पुरस्कार तथा पदक वितरण कार्यक्रम हुदैछ। एम. वि. थापाको संयोजकत्वमा पाँच सदस्यीय एक मूल्याङ्कन समिति यहि डिसेम्बर ५ तारिखको बैठकले गठन गरेको छ। स्मरण रहोस् पुरस्कार तथा पदक वितरण निर्देशिकाका अनुसार ७ देखि ९ जनाको एक मूल्याङ्कन समिति हुने उल्लेख छ। अर्को कुरा उक्त समितिमा सम्बन्धित क्षेत्रसँग भन्दा बाहिरका र मूल्याङ्कन गर्ने ज्यादै थोरै समय रहेकोले धेरै आशा गर्नु बढी होला। तथापि ठूलो ईच्छा शक्तिको साथ निष्पक्ष र ईमान्दारिता पूर्वक कार्यसम्पादन गरेमा उक्त समितिसँग सम्बन्धित तपशिलका कमिकजोरीहरु क्षम्य हुनेछ। सायद गत वर्ष जस्तो टिके प्रथा यस वर्ष हुदैन की ? अर्को कुरा पुरस्कार तथा पदकबारे सर्वसाधारण मात्र होईन सम्बन्धित सरोकार राख्नेहरुबीच किन कुराकानी वा चर्चा परिचर्चा भएको छैन साथै मिडियाहरुमा। यसले के संकेत गर्छ ? कम्तिमा यसवेला एउटा माहोल बन्नु पर्थ्यो होइन र ? कतै उक्त कार्यक्रम मात्र औपचारिकतामा सिमित हुन खोजेको त होइन ? यदि यसो हो भने त्यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ?
विशेष गरी ‘हङकङ नेपाली पुरस्कार’ तथा ‘हङकङ नेपाली पदक’ स्थापना गर्दा पछि महासंघ अन्तर्गत एक स्वायत्त प्राप्त निकाय जसमा पुरस्कार तथा पदक सम्बन्धित क्षेत्रमा विशेषता हासिल गरिरहेका व्यक्ति तथा संघ/संस्थाहरु सहितको सहभागिता रहेको एक ‘हङकङ नेपाली प्रतिस्थान’ स्थापना गर्ने अवधारणा राखेर उक्त कार्य शुरु गरिएको हो। त्यस वेला समय अभावको कारण भाषा, शिक्षा तथा साहित्य र खेलकुद, कला तथा संस्कृति दुई विभागको संयोजनमा एक मूल्याङ्कन समिति मार्फत कार्यसम्पादन भएको थियो। झण्डै दुई वर्षको यो अवधि भित्र ‘हङकङ नेपाली प्रतिस्थान’ स्थापना हुन सकेको छैन। नेतृत्व वर्गहरु यस प्रति किन मौन रहे ? शुरुमा देखिएको जोस, जाँगर तथा प्रतिवद्वताहरु आज कता गए ? यसो त काम गर्न चाहनेहरुलाई आफूले सिन्को नभाँच्ने तर अनेक कुरा गरेर काम गर्न भाँजो हाल्ने नेपाली प्रवृतिको कारण र सहयोग तथा हौसलाको अभावमा भएन भनेर नेतृत्व वर्ग जिम्मेवारीबाट उम्कन पाउँदैन।
अन्तमा, पुरस्कार, पदक तथा सम्मान प्राप्त गरिसकेका झण्डै एक सय महानुभावहरुले महासंघसँग प्रति जिम्मेबारीकासाथ यसको महत्व, पहिचान र विकासको लागि आफ्नो ठाँउबाट सहयोग गर्न कन्जुस्याँइ गर्न हुँदैन। महासंघको महत्व रहे मात्र पुरस्कार, पदक तथा सम्मानको पनि महत्व हुनेछ सबैलाई चेतना भया । र जे जस्तो भए पनि यसपाली कम्तिमा महासंघले औपचारिकता निभाउने भयो यसैमा खुशी लागेको छ। महासंघ ११ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा हार्दिक शुभकामनाको साथ देश तथा विदेशमा रहनु भएका सम्पूर्ण पाठक लगायत सबै नेपालीहरुमा अग्रिम नयाँ वर्ष २०१० को हार्दिक शुभकामना व्यक्त गर्दछु।