१५ फेब्रुअरी २०१०
हङकङको जोर्डन स्थित पाकिस्तानी क्लवमा १४ फेब्रुअरी २०१० का दिन मगर संघ हङकङको आयोजनामा १३३ औं लखन दिवस सम्पन्न भएको छ। प्राय वक्ताहरुले आफनो मन्तव्यमा लखन थापामगरलाई नेपालको राज्यसत्ताले प्रथम शहीद घोषणा नगरी उनलाई उपेक्षा गरेको वताएका थिए। बि सं १८९१ सालमा जन्मीएका प्रथम शहीद लखन थापामगर अल्पआयुमै बि सं १९३३ सालमा नेपाल र नेपाली जनताको आमूल परिवर्तनको निम्ति तत्कालीन राणा शासनको विरुद्ध आवाज उठाए वापत उनलाई फांसी दिइएको थियो। उनी नेपालका प्रथम शहीद हुन् र इतिहास साक्षी रहेर पनि नेपाल सरकारले उनलाई उपेक्षा गरेकोले अविलम्ब प्रथम शहीद घोषणा गर्नु पर्ने माग राख्दै वक्ताहरुले प्रथम शहीदको माग जायज भएकोले उक्त कदमको सरहाना गरेका थिए।
वरिष्ठ साहित्यकार तथा डा प्राध्यायपक गोविन्द भटटराईले आफनो परिवारको सदस्यको इतिहास आफैले खोजी नगरे अरुले खोजी नगर्ने भएकोले परिवार भित्रैबाट विशेष आवाज उठाउनु पर्ने वताएका थिए। परिवारले आवाज उठाएको खण्डमा त्यसको खोजी नीति गर्ने कार्यमा छरछिमेकीहरुले पनि सही भएको खण्डमा सहयोग गर्दछन् भन्दै सुझाव सहित आफनो मन्तव्य राखेका थिए। डा भटटराइले मगर अग्रजहरु संग मिलेर मगर भाषाको व्याकरण तयार गर्ने कार्य आरम्भ भइरहेकोले विदेशमा बस्ने मगरहरुलाई उक्त कार्यमा सहयोग गर्न समेत आग्रह गरेका थिए।
किरात भाषामा पीएचडी गर्नु भएका अर्का प्राध्यायपक टंक प्रसाद न्यौपानेले नेपालको राष्ट्रियता बचाई राख्नका खातिर जनजातिहरुको अमूल्य भूमिका र योगदान रहेको घाम जस्तै छर्लडग भएको वताएका थिए। लखन थापामगर जस्ता तमाम जनजातिहरुले नेपाल राष्ट्रका खातिर कुर्वानीपूर्ण भूमिका निर्वाह गरेकाले नेपाल अहिले नेपाल राष्ट्र भएर रहन सकेको हो उनले आफनो मन्तव्य भने।
उक्त कार्यक्रमको सभापतित्व संघको अध्यक्ष एम बी थापामगरले गरेका थिए भने संचालन महासचिव लालप्रकाश थापामगरले गरेका थिए। उपस्थित सम्पूर्ण महानुभावहरुलाई उपाध्यक्ष दल पुनले स्वागत गरेका थिए। त्यस कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु रहेका थिए। विशेष अतिथिमा वरिष्ठ साहित्यकार डा प्राध्यायपक गोविन्द भटटराई अर्का प्रध्यायपक टंक प्रसाद न्यौपाने, जनजाति महासंघ हङकङ अध्यक्ष भूपेन्द्र चेम्जोडग, डा नेत्र राना, कान्तिपुर दैनिकका धरान सम्बाददाता लगायतका महानुभावहरु विशेष अतिथिमा रहेका थिए। अतिथिहरुमा क्रमशः मगर संघ हङकङका भूतपूर्व अध्यक्षहरु भोलानाथ थापामगर, हुम बहादुर थापामगर, एक बहादुर रानामगर, नेत्र पहराईमगर, किरात राई यायोख्खाका अध्यक्ष नरहाग राई, नेपाली जनसम्पर्क समितिका अध्यक्ष इश्वर खाण, नेपाली जनअधिकार सरोकार समाजका कावा अध्यक्ष कृष्ण लिंखा, मगर बौद्ध समाजका अध्यक्ष प्रेम गलामी, मगर संघ हङकङका संस्थापक सल्लाहकार चुरा थापामगर, हेमराज थापामगर, भरत थापामगर, पत्रकारहरु लगायत अन्य महानुभावहरु पनि अतिथिको रुपमा रहेका थिए।
स्मरण रहोस लखन थापामगरलाई नेपालको राज्यसत्ताले १२७ बर्ष पश्चात मगर जातिहरुले बुलन्द आवाज उठाएका कारण शहीद घोषणा गरेको हो। मगर संघ हङकङले हरेक बर्ष लखन थापामगरको नाममा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। लखन थापामगरलाई नेपालको राज्यसत्ताले प्रथम शहीदको मान्यता दिई अन्य शहीदहरुलाई जस्तै सम्मान दिइनुपर्दछ भन्ने अडान मगर जातिहरुले राख्दै आएका छन्।














