Home

समावेशी नेपाली समाज हङकङको घोषणापत्र

E-mail Print PDF
AddThis Social Bookmark Button

समावेशी नेपाली समाज हङकङ

घोषणापत्र

हङकङका अधिकांश हामी नेपाली बेलायती सेनाका रुपमा रहेका गोरखालीका सन्तति रहेका छौं । स्थाई बासिन्दा भए पनि सेवा सुविधा उपभोग गर्ने सवालमा स्थानीय चिनियाँ सरह हामीलाई अधिकार रहेको छ । बसाइको हिसाबले दुई दशक पुगिसकेको अवस्थामा नेपालीको हङकङ बसाइ स्थायी हुनेमा कुनै शंका छैन । यस अवस्थामा नेपाली पहिचानलाई अक्षुण्ण राख्दै स्थानीय भाषा, संस्कार, संस्कृतिलाई आत्मसात गर्दै मूलधारको समाजमा समाहित हुनुको विकल्प हामीसंग रहेको छैन । 

स्थायी बासिन्दाको हैसियतले हाम्रा आफ्नै खालका कर्तव्य र दायित्व रहेका छन् । हङकङ एशियाकै विश्ववजारको रुपमा रहेकोले त्यही किसिमको आचरण हामीबाट हुन आवश्यक छ । हङकङ संसारकै शान्तिपूर्ण र व्यवस्थित शहर भएकोले स्थानीय ऐन कानुनको पालना गर्दै शान्ति सुव्यवस्था कायम गर्नु हाम्रो कर्तव्य हुन आउछ । कानुनको हिसाबले सबै समान रहेको अवस्थामा हामीले पनि त्यही किसिमको व्यवहार प्रदर्शन गर्न सक्नु पर्छ । हङकङ मेट्रोपोलिटिन सिटीको रुपमा रहेको छ । यहाँ जातीय अल्पसंख्यकलाई पनि कानुनले संरक्षण गरेको छ । त्यसका लागि समान अवसर आयोग, जातीय विभेद विरुद्धको कानुनलगायत रहेका छन् । हङकङको ऐनकानुनले विभेदरहित, समुन्नत र समृद्ध समाजको परिकल्पना गरेकोले त्यसलाई कार्यान्वयन गर्न र सफलिभूत पार्नु हाम्रो पनि जिम्मेवारीको रुपमा रहेको छ ।

सामाजिक बनौटको आधारमा यहाँको नेपाली समाजमा जातीय र क्षेत्रीय संघसंस्थाहरु दर्जनौं रहेका छन् । पेशागत, व्यावसायिक तथा वर्गीय संघसंस्था पनि रहेका छन् । हङकङको खुला परिस्थितिमा नेपालका राजनैतिक पार्टीका शाखा तथा भातृसंस्थाहरुले अघोषित रुपमा निर्वाध आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । अधिकांश संघसंस्थाहरु सामाजिक ऐन अन्तर्गत दर्ता भएका छन् भने केही च्यारिटेबल र युनियनका रुपमा दर्ता रहेका छन् ।

हङकङको नेपाली समाज विविधायुक्त रहेको छ । नेपाल स्वयंमा बहुजाति, बहुभाषी, बहुसंस्कृति र बहुधर्म भएको मुलुक हो । नेपालका अधिकांश जिल्लाका बासिन्दाहरु यहाँ रहेका छौं । हामीले आपूmसंगसंगै आफ्ना भाषा, धर्म, संस्कृतिलगायत ल्याएका छौं । हङकङमा नेपाली पहिचान भनेको यहाँ रहेका नेपाली जाति, भाषा, धर्म र संस्कृति हुन् । विडम्वना ! नेपालको राज्यसत्ताले लामो समय एकल जाति, एकल भाषा, एकल धर्म, एकल संस्कृतिको नीति अख्तियार गरेको कारण हङकङमा पनि खस–आर्य जाति, खस भाषा, हिन्दू धर्म–संस्कृति नै नेपाली पहिचानको रुपमा स्थापित गरिएको छ ।

नेपाली समाजमा खुलेका संघसंस्थाको सदस्यता र गतिविधिलाई हेर्ने हो भने विविधता समावेश भएको देख्न पाइन्न । जातीय संघसंस्थाले आफ्नै जातिका लागि र क्षेत्रीय संघसंस्थाले आफ्नै क्षेत्रकालाई सदस्य बनाएर गतिविधि गरिहेका छन् । कतिपय संघसंस्थाको गतिविधि नेपाल केन्द्रीत रहेका छन् भने कतिपयले हङकङलाई मात्र ध्यान दिइएको पाइन्छ । यसले अन्धराष्ट्रभक्तिको विकास भइरहेको छ । हङकङको स्थायी बासिन्दा नेपाली भएको नाताले हङकङ र नेपाल दुवैप्रति हाम्रो दायित्व र जिम्मेवारी रहेको छ ।

राजनैतिक परिवर्तनले ‘हिन्दू अधिराज्य नेपाल’लाई ‘सङ्घीय गणतन्त्र नेपाल’मा परिवर्तन गरेसंगै नेपालमा पहिचान र समावेशिताको मुद्दा प्रखर रुपमा अघि बढिरहेको छ । पहिचानको विषयमा ठूलो द्वन्द्व चलिरहेको छ । पहिचानकै विषयमा राजनैतिक शक्तिबीच मतैक्य हुन नसक्दा संविधानसभा समेत भंग भएको अवस्था छ ।  पुराना राजनैतिक पार्टीहरुले सबैको पहिचान स्वीकार्न आनाकानी गरेकैले नयाँ पार्टीहरु स्थापना भइरहेका छन् र नयाँ शक्तिको रुपमा उदाइरहेका छन् । नयाँ राजनैतिक शक्तिले पहिचान र समावेशितालाई प्रमुख रुपमा उठाइरहेका छन् ।

यस स्थितिमा हङकङमा नेपाली पहिचान र एकताको लागि सदस्यता र गतिविधिको हिसाबले समावेशी चरित्रको संस्था अपरिहार्य रहेको छ । सदस्यताको हिसाबले जातीय र क्षेत्रीय समावेशिता र गतिविधिको हिसाबले हङकङ र नेपाल सम्बन्धित विषयको उठान गर्नु पर्ने आवश्यकता छ । यसले मात्र हङकङमा नेपाली एकता बलियो बनाउँने छ ।

नेपाली समाजको सौन्दर्यता बहुपहिचान स्थापित गर्नको लागि नेपाल र हङकङ दुवै ठाउँबाट सामथ्र्य र आवश्यकता अनुसार पहल हुन नितान्त आवश्यक छ । हङकङको नेपाली समाजमा विद्यमान संघसंस्थाबाट समावेशिता र पहिचानको लागि आवश्यकीय पहल हुन नसक्ने भएकोले हामीले नयाँ संस्था ‘समावेशी नेपाली समाज हङकङ’ गठन गरेका हौं ।

समावेशी नेपाली समाज हङकङ केका लागि ?

१. हङकङमा नेपाली पहिचानलाई अक्षुण्ण राख्दै स्थानीय भाषा, संस्कार, संस्कृतिलाई आत्मसात गर्दै मूलधारको समाजमा समाहित हुन ।

२. विभेदरहित, समुन्नत र समृद्ध समाज स्थापनामा सहयोग पु¥याउन ।

३. हङकङको सर्वाङ्गीण विकासको लागि दक्ष, सक्षम, कटिबद्ध र प्रतिबद्ध नेपाली समाज निर्माण गर्न ।

४. नेपाली समाजका संघसंस्थामा रहेका एकल जातीय तथा क्षेत्रीय सदस्यता र गतिविधिमा सामञ्जस्यता ल्याउदै समावेशितालाई जोड दिइ नेपाली एकता सुदृढ बनाउँन ।

५. नेपालको राज्यसत्ताले अख्तियार गरेको एकल जाति, एकल भाषा, एकल धर्म, एकल संस्कृतिको नीतिका कारण हङकङमा स्थापित खस–आर्य जाति, खस भाषा, हिन्दू धर्म–संस्कृति नै नेपाली पहिचान हो भन्ने मान्यतालाई तोडी यहाँ अवस्थित सबै नेपाली जाति, भाषा, धर्म, संस्कृतिलाई नेपाली पहिचानको रुपमा स्थापित गर्न ।

६. अन्धराष्ट्रभक्तीको अन्त गर्दै समयसापेक्ष र आवश्यकता अनुरुपको राष्ट्रभक्ती निर्माण गर्न ।

७. विश्वभरका नेपालीबीच भाइचारा सम्बन्ध स्थापित गरि पहिचान र समावेशिताको आन्दोलनलाई समर्थन गर्दै सहयोग पु¥याउन ।

अतः हङकङका सम्पूर्ण नेपालीलाई समावेशी नेपाली समाज हङकङमा गोलबद्ध हुन आह्वान गर्दछौं ।

समावेशी नेपाली समाज हङकङ –जिन्दावाद ! नेपाली एकता –अमर रहोस् !

अगष्ट २५, २०१३