Home

बिदाको एक दिन

E-mail Print PDF
AddThis Social Bookmark Button
कोरङ्गी प्रेम, संखुवासभा (हाल हङकङ)

आज बिदाको दिन बिहान भरी सुत्नु पर्ने। दिनै भरी यता पल्टी उता पल्टी तन्की तन्की सुत्नु पर्ने। चौरासी ब्यन्जन परिकार सँग सोमरस अनि यस्तै यस्तै अन्य रसहरु सँग लठ्ठ लठ्ठीएर बिस्तारामा पल्टीनु पर्ने। अनि २-४ दिन अघि देखिनै कोलबीरे म्यारिज र बिबिक्यूको आयोजना गरी साँप्रा पखेटा र करङ्गहरु चपाउँदै हाक्पारे भाकामा रम्नु पर्ने झुम्नु पर्ने र अलि अलि प्वाँख हाल्दै गरेकी सानी बचेरी छोरी श्रेयालाई गुँडबाट निकालेर बजार पार्क र मामाघर तिर घमाउन लानु पर्ने दिन। तर त्यसरी बित्दैन मेरो बिदाको दिन। जस्को कथा अर्कै छ अलि चर्कै छ जुन रिठ्ठो नबिराई बेली बिस्तार लगाउँछु।

अगष्ट २ तारिख सोमबार बिहान "कुखुरी काँ" गर्दै भाले बास्यो जोडदारले। यो भाले कत्रो छ कस्तो छ बिकासे हो की घरासे ठिम्मर के हो केही अत्तो पत्तो छैन। यस्लाई दाना पानी चारो केही पनि हालीरहनु पर्दैन। एक डेढ बर्ष पहिले ईन्टरनेटबाट डाउनलोड गरेको थिएँ त्यो पनि सित्तैमा। सायद एक डेढ बर्षको ठूलै भएर होला गतिलै बास्छ पड्के। यसलाई मार्न न धामी झाँक्री न बिजुवा फेदा¨मा न त भक्भकी उमालेको पानी नै चाहिन्छ न त चित्लाङको सिरुपातेकै इन्तुजाम गर्नु पर्छ केहि चाहिँदैन। मोवाईलको अफ लेखेको ठाउँमा थिची दियो वस् काउतीम खतम। हस्याङ्ग फस्याङ्ग गर्दै बुढो वाहुन पुजारी बाजे जस्तै लँगौटी बेरेर वाथरुम छिरें। पाँचै मिनेटमा ज्यान पखाली मलमुत्र त्याग गरेर दाँत समेत मोली भ्याएँ। हरेक दिन मेलो ड्यूटी जानु अघि यसरी नै शरीर पखाल्ने आदत बसेको छ मलाई जस्ले दिन भरी शरीरलाई फूर्तिलो बनाउँछ। मेरो नुहाई बाजेको भन्दा खासै गतिलो थिएन। होस पनि कसरी जाबो पाँचै मिनेटमा मेन्जो थोरै।
 
छोरी श्रेया सन् २००८ फेब्रुवरीमा जन्मेकी हुन्। तिनलाई हुर्काउन बढाउन पर्दाको हैरानी भनी साध्य छैन। महिनाको चोख्खो ५००० हङ्गकङ डलर नेपाली करिव ५० हजार बजेट छुट्ट्याउनु पर्छ र मात्र बल्ल तल्ल महिना उम्कन्छ। आज देख्दैछु तोरीको फूल। हाम्रा बाबु बाजेले कसरी हुर्काए होलान् त्यत्राविधि गोठहरु ५-७ जना सम्म। अहिले म सोँच्दैछु। छोरी श्रेयाको हेरचाह गर्न सन २००८ मा पहिलो पटक डोमेस्टिक हेल्पर झिकाएँ सिक्कीमबाट। आउँदो नोभेम्बरमा भिसा सकिएर फर्किंदै छिन् तिनी। त्यसैले अर्को कामदार आवेदन गर्न आवश्यक कागजातहरुको पोको बोकी लागे सेन्ट्रलको एमटिआर एक्जिट जे तिर आदरणिय दाई सल बहादुर कोरङ्गीलाई भेट्न। हङकङमा यतिका धेरै एक्जिटहरु भएको एमटिआर स्टेशन सेन्ट्रलमा मात्रै छ अन्त कतै छैन। जुन दिन नेपालमा प्रधानमन्त्रीको चुनाव हुँदै थियो। त्यो पनि तेश्रो पटक श्रावण १७ गते। आफ्नो देशको बारेमा बेखवर भएर बस्नु हुँदैन र देशलाई सही दिशातिर लैजानको निम्ती नेतृत्वमा रहेका व्यक्तिहरु, राजनैतिक पार्टीहरु र तिनका नेताहरु अनि नीति निर्माताहरुलाई संसारका जुनसुकै कुनामा बसेका नेपालीहरुले खबरदारी गर्न जरुरी छ भन्ने मेरो ठम्याई हो। अतः आफ्नो देशको बारेमा जानकारी सबैले राख्नु पर्दछ। त्यसैले मलाई प्रधानमन्त्री को बन्ने हो भन्ने चासो बढी रहेको थियो। 

म संग प्रिन्टर नभएकोले इमीग्रेशनलाई लेखेको चिट्ठी दाईलाई ल्याईदिनुस भनेको थिएँ। त्यसैले हाम्रो भेट अनिवार्य थियो। त्यही बाटो भएर उहाँ सधैं आफ्नो मेलो ड्यूटी जानु हुन्थ्यो। सन् २००५ मा "संखुवासभा समाज हङकङ" को अध्यक्ष बनेर समाजको कोष जम्मा गर्ने काममा उल्लेखनिय योगदान गरेकोले सबै जिल्लावासीहरुको मन जितेका छन् बुढाले। त्यसैले सबैले मान्छन् बुढालाई। बल्ल बल्ल ८ः४० तिर बुढाको सवारी भो। बुढालाई नमस्कारपाती चढाएर चिठ्ठी लिएँ र आबेदन फारममा २ जना साक्षी चाहिँदो रहेछ त्यसैले उहाँलाई साक्षी पनि राख्न भ्याएँ। ९ बज्न आँटेकोले दाई संग बिदा भएर लागे एडमीरल्टी तिर जहाँ भारतीय दुतावास छ।

एक्जीट डी बाट बाहिर निस्कदै यूनाईटेड सेन्टरको दोश्रो तलामा चढी फोटोकपी खोजें। देब्रे साईडमा एक बैँस ओरालो लाग्दै गरेकी एक युवती "वान डलर वान पिस" भन्दै गरेको सुने र त्यहीँ फोटोकपी गरी २६ तला पुगे जहाँ भारतीय दुतावास छ। १ ईण्डीयन र २ जना चिनीया बुढीहरु अघि नै लाईनमा थिए। कार्यालय समय ९ः३० बजे देखि १२ बजे सम्म रहेछ। त्यसैले १५-२० मिनेट कुराई मच्चियो। फेरी तल ओर्लिएँ २ तलामा। साढे नौ बज्यो माथि चढें। कार्यालय खुलीसकेछ। १२-१५ जना थिए लाईनमा। हामी सबै भित्र छि-यौ‌। भित्तामा ठूला ठूला मेटलको अक्षरमा "भारतका प्रधान कोंसलावास" र अंगे्रजीमा "कन्सुलेट जनरल अफ ईण्डीया" लेखिएको थियो। ५ जना पछि मेरो पालो आयो। काउण्टरमा आवेदन फारम टक्र्याएँ। कतै केहि अपुग हुने पो हो की भनेर मन ढुक्ढुक् गररिहेथ्यो। त्यो अर्धबैँसेले सरर नजर फाल्दै फाईल हे-यो र भन्यो "तुम पेहेले बार पेश रहे हो" ३ वटा कन्ट्रयाक्ट पेपर देखाउँदै "और एक चाहिए" भन्यो "मैं देखता हुँ" भन्दै इमिग्रेसन तिर टाप कसें। मैले भरेको फारम जम्मा ३ वटा मात्रै हो। मैले यस्तो काम गरेको पहिलो चोटि हो। ४ वटा फाराम हुन्छ यति पैसा लाग्छ भनेर कसैले पनि भनेनन् र मैले पनि सोधिन। २ वर्ष पहिले पहिलो डोमेस्टीक हेल्परको आवेदन फारम आफैं भर्दा धेरै फारमहरु बिग्रिएर डस्वीन मोटाएको थियो। फारम बुझाउन जाँदा पाचै मिनेट ढिला भएर निकै सास्ती पाएको थिएँ। जागीरबाट घरी घरी बिदा नपाइने अनि अर्कोतिर भरे भोलि एक छिन भनेर धर नपाइने। त्यसैले १२-१४ घण्टा टाउको जोतेर बचेको अलि अलि दिमाग पनि त्यो टेन्सनले खाँदा घरमा निकै रस्सा कस्सी परेको थियो र त्यो काम वकिललाई जिम्मा लगाउँदा २५०० हङकङ डलरले नराम्ररी दुःख पाएको थियो। ३ महिना पछि इमिग्रेशनले कृपा गरेर भिसा त दियो तर विडम्बना त्यो वकिल भनौउँदोले न हामीलाई कन्ट्र्रक्याक्ट पेपर दियो न त हामीले डोमेस्टीकलाई नै। त्यसैले त्यो पेपरको अभावमा पहिलो डोमेस्टीकले घरी घरी मेरो दिमाग चाटिरह्यो। बैँकमा खाता खोल्न, मोबाईलको लाईन लिन आदि विविध काममा आवश्यक पर्दो रहेछ त्यो पेपर। त्यसैले यो पटक २५०० हङकङ डलर शहिद बनाउन मनले मानेन र आफै दौडिएँ।

अफिस टाइम भएकोले मानिसहरुको दोहोरीलत्त थियो। एमटीआर बाट एक हुल हवार्र निस्कन्छन् अनि अर्को तिर छिरी जान्छन्। बाटोमा खुट्टा टेक्ने ठाउँ थिएन। १० बज्नलाई ५-७ मिनेट बाँकी हुँदो हो बल्ल इमिग्रेशन पुगें। बिधार्थी जीवनमा एउटा लेख पढेको थिएँ "होस्टीलीटी" जस्मा एउटा मानिस अति हतारमा हुन्छ। ऊ बस चढ्छ जाममा फस्छ। ओर्लेर हिड्छ बाटो भरी मान्छेको भीडले हिड्ने ठाउँ नै पाउँदैन त्यसैले उ भन्छ "यी गाडीहरु सबै मेरा शत्रु हुन्। मेरै अवरोधका लागि सडकमा जाम भएर तेर्सिएका छन्। अनि सडकका मानिसहरु सबै मेरा दुश्मन हुन्। सबै मेरा बिरुद्धमा खनिएका छन्। त्यसैले मलाई समाप्त पार्न मैदानमा उत्रेका छन्।" मलाई पनि ठ्याक्कै त्यस्तै लाग्यो। कन्सुलेटको कर्मचारी एमटीआरमा हिड्ने मानिसहरु अनि ईमिगे्रशनको त्यो लाईन सबै मेरै बिरुद्धमा खनिएर मलाई खुच्चिङ भनेर खिज्याई रहे झैं लाग्यो। स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै १०ः१५ मा इमिग्रेशन पुगें। इमिग्रेशनको दोश्रो तला सोधपुछ र फारम पाईने ठाउँ हो। त्यसै तलाको पछि फर्केर दायाँ पट्टी साईडमा फाराम र अन्य कागजातहरुको बिस्कुन लगाएँ। एक्सक्यूज मी भन्दै अग्लीन बिर्सेकी फैलिन जानेकी मोटी १ फिलीपीन युवती पनि मेरै आडमा विस्कुन लगाउन आईपुगी। त्यो आगमनलाई एउटा मिठो संयोग मान्दै घरी घरी तिनी प्रति गिद्दे दृश्टि फाल्दै हतार ह्तार फारम भर्न थालें। ४ वटा कन्ट्रयाक्ट पेपर र २ वटा आवेदन फारम भर्दा ११ बजी सकेछ। फेरी हतार हतार त्यो बिस्कुन उठाएर लागे ईण्डीयन कन्सुलेट एडमीरल्टी तर्फ। त्यहाँ पुग्दा मात्रै आधा घण्टा बाँकि थियो अफिस बन्द हुनलाई। लाईनमा ५-१० जना थिए। कसै कसैले काउण्टरमा फाट्टफुट्ट सोधपुछ गर्दै थिए। कन्ट्रयाक्ट पेपरमा छाप लगाउँदा पैसा लाग्छ कि सोधी हालौं भनेर काउण्टरमा सोधें। १६० डलर लाग्छ भन्यो पछि फेरी मेरो सातोपुत्लो उड्यो। २५ मिनेट मात्रै थियो अफिस बन्द हुनलाई। हे भगवान भन्दै दौडिएँ एमटीआर तिर। मेरो खल्तीमा प्राय त्यती दाम हुँदैन चिल्लै हुन्छ। बोकी हाले भने पनि १०० डलर सम्म हुन्छ नत्र अक्टोपसबाटै काम चलाउँछु। हतार हतार बैंकबाट २०० झिकेर दौडिए कन्सुलेट तर्फ। जम्मा १५ मिनेट मात्र बाँकी थियो बन्द हुन। मेरो अगाडि एक जोडी ईण्डीयन थिए खुबै अँग्रेजीमा कुरा गरीरहेका। पछाडी चाहि २ जना नेपाली मित्रहरु भएका तिनका शारीरिक मोहडा र चेहराले प्रष्टै बताईरहेका थिए। ईण्डीयन जोडीको केटो चाहि अलि झुत्रे झाम्रे तर हात र झोलाभरी कितावका ठेलीहरु बोकेको थियो भने केटी चाहि त्यती खोट लाईहाल्नु पर्ने खालकी थिईनन् मोरी। बिस्तारै १२ बज्यो ढोका बन्द ग-यो। म चाँही आरामले छिरें पछिका २ नेपाली मित्रहरु चाँहि ढोकाले च्यापिँदै छिरे। धन्य छ प्रभु भन्दै ढुक्क भएँ। बिस्तारै मेरो पालो आयो। १६० बुझाएर बाँकी कागजातहरु इमीग्रेशनमा बुझाउने सुर कस्दै थिएँ तैपनि सोधी हालौं कन्ट्रयाक्ट पेपर आफैले लाने होकी यँहीबाट लगिन्छ भनेर। काउण्टरमा रहेकी एक वृद्दा महिला कर्मचारीलाई सोधेँ। भारी मनले ति महिलाले "उस्से पुछो" भन्दै छेवैको अर्धबैंसेलाई देखायो। "कल मिलेगा कन्ट्र्रयाक्ट पेपर तुम खुद लाना पडेगा। कल पाँच बजे आना" भनी जवाफ दियो "थ्याङक्यू" भन्दै बिदा भएँ। मैले त सोचेको थिए कन्ट्रयाक्ट पेपर एकै छिनमा छाप लगाई दिन्छ बिना दस्तुर अनि जसरी चरीले चुच्चो भरी चारो च्यापेर आफ्नो बच्चालाई खुवाउन गुँडतिर दौडिन्छू त्यसैगरी म पनि त्यो कागजातको पोको बोकेर ईमिगे्रशन दौडौला भन्ठानेको थिएँ। तर कन्ट्रयाक्ट पेपर त भोलिपल्ट मात्रै दिँदारहेछन्। बिना पैसा कसैले काम गरिदिन्छ यति महंगो शहरमा? म पनि कस्तो बुद्वु। 

अब म लागें एबर्डिन तिर जहाँ कन्सट्र्रक्सन वर्कस रजिस्टे्रसन अफिस छ। वानचाईको साउदर्न प्लेग्राउण्डको अगाडी ४ बी नम्बरको मिनीवस लाग्छ, भाडा ७ डलर। जुलाई ५ तारिख मैले सिटा कार्ड दर्ता गराएको थिएँ १०० डलर तिरेर। त्यहाँ १ महिला रहिछिन्, नाम मिस लाम। कार्ड लिन हङकङको स्थायी परिचय पत्र नहुनेले पासपोर्ट अनिवार्य बोक्नु पर्ने रहेछ तर मैले त्यो पनि बिर्सिएछु। त्यो बिना पनि मेरो काम फत्ते गरिदिईन् तिन्ले। अनि २० तारिख पछि कार्ड लिन आउनु भनि २-३ पटक भ्वाइस मेल पनि तिनैले छाडेकी थिइन्। म पौने २ बजे तिर पगेछु। अफिस बन्द थियो। म माथिल्लो तलामा रहेको ट्वाइलेट छिरें। त्यहाँ गरिने धन्दा सके पछि एक नजर माथिल्लो तलामा के मात्र फालेको थिएँ क्यानटिन देखें। हुम्काई सेक्फान भन्दै सोधेको त त्यो चिानाले आई गिभ यू राईस चिकृन एण्ड भेजीटेबल ओके भन्यो। "हाउ म छी" भनि सोधें "सिक्स्टी" भन्यो। म झस्किएं। जाबो १ छाक भातलाई ६० डलर? ६० डलरले त मेरो गुँडका अर्धागिनी र सानी बचेरी छोरीलाई समेत १ छाक चारो पुग्थ्यो। म स्पष्ट हुनलाई चाईनिजमा सोधें "लोक सपू (६०)? "म्या" होईन "सप लोकू" (१६) भन्यो। ओके ओके भन्दै टेबलमा बसें। उसले सिक्स्टिन भनेको रहेछ। यीनीहरुको उच्चारण सिक्स्टी र सिक्स्टीन उस्तै उस्तै सुनिन्छ। मलाई पुलक्क हेर्दै प्लेटमा भात राम्रै सँग लगायो सायद निकै खान्छ भन्ने ठान्यो होला। भोकलाई खिर भने झैं मासु भात अनि साग दिनको २ बजे तिर बस् के चाहियो त्यो भन्दा। चम्चा लिएर बसेको ५-१० मिनेटमा २-४ वटा सागको डाँख्ला भन्दा अरु केहिको नामोनिसाना रहेन। आजकल मलाई भैरव जागेको छ। त्यसैले २ जना सम्मको भात काउतिम गर्न सक्न कसैलाई गुहारीरहनु परेन। म्याट्रीक पास गरेर काठमाण्डौ तिर क्याम्पसमा सिँगौरी खेल्दै हिँड्दा ४८-४९ साल तिर म सानोठिमी क्यामपस भक्तपुरको छात्रवासमा बस्थें। हामी जम्मा ९० जना बस्थ्यौ त्यहाँ। त्यतिका जनामा धेरै भात खानेहरुमा म टप फाईभ भित्र आरामले पर्दथें। सायद त्यसैको करामत जागेकोले घ्याम्पे भुँडी तिर पो प्रमोसन हुन खोज्दै छ। तर दाना पानीको अभावले हाललाई त्यो प्रमोसन रोकिएको छ। 

संखुवासभा ताप्लेजुङ तेह्रथुम खोटाङ धनकुटा आदि पुर्वका सबै जिल्लाहरु र हुम्ला जुम्ला रुकुम रोल्पा दार्चुला बैतडी आदि जिल्लाका विधार्थीहरु बस्दथ्यौं त्यहाँ। सबै भन्दा रमाईलो पक्ष त पढाई सकेर छुटिने बेलामा पूर्वका भए धाननाच पालम र पचिमका भए देऊडा गीत गाएर त्यो क्याम्पस र छात्रवास परिसर जुरुक्कै उचाल्थ्यौं। वरिपरिका ज्यापुहरु चाहि लाटाले पापा हेरे झैँ क्वारक्वारती हेर्थे। आजकल ती बिगतलाई संझेर भावुक बन्छु। चिनीयाहरुको खानामा चिल्लो पिरो कम हुन्छ। हरेक छाकमा माछा मासु सागपात हुन्छ। लाउन र खानमा यिनिरुले बिशेष धयान दिएका कारणले विश्वमै चाइनिज जापानिज र कोरियनहरु सबै भन्दा बढी बाँच्दछन्। हामी चाँही बिहान बेलुकी मर्ने गरी बजायो अनि दिउँसो भेटे बजायो नत्र चिल्लै। मैले एउटी चिना बुढीलाई सोधेको थिएँ। तिम्रा कति जोर जुत्तुा छन भनेर। २० जोर भनिन्। अनि हरेक जोरमा मिल्ने पहिरन। किन यत्तिका धेरै भन्दा हरेक दिन फेरेर लगाउनु पर्छ भन्थिन्। एउटै पोशाक २-३ दिन लगाए यो घर गएनछ भनेर भन्दारैछन् अरुले। तर हामी चाहि २-३ बर्ष नफाटुन्जेल लगाई रहन्छौ। यो हाम्रो गरीबीको पराकाष्ठा हो। 

खाना खाई सकेर ६ तलामा कार्ड लिन झरें। मिस लामले कार्ड तयार भो भनिन् र अर्को कर्मचारीले यहाँ सही गर्नुस भन्दै ७ डलर दियो। मैले "मलाई ?" भनेर सोधेँ जवाफमा हो भन्यो। किन भन्दै २-४ चोटि खेरें १२-१४ घण्टा टाउको जोतेर अलि अलि बाँकि रहेको त्यो दिमागले के भेऊ पाउनु। तातो न भुत्लो। केही मेसो पाए त मरी जाऊँ। अन्तमा ओके ओके भन्दै त्यो ७ डलरलाई खल्तीमा बिराजमान गराएँ र वाई वाई भन्दै वानचाई स्थित रेभ्न्यु टावर तिर हानिएँ जहाँ ट्याक्सको फारम भरेर खसाल्नु थियो। मैले १ सालमा कमाएको करिब डेढलाख हङकङ डलर। नेपालीमा हिसाब गर्दा झण्डै डेढ करोड अनि मेरी अधाङ्गीनीले १ लाख झण्डै एक करोड। दुबै जनाको कमाईको योगफल करिव अढाई करोड नेपाली रुपैयाँ तर सधै हरिटट्टु। कहिल्यै हाम्रो भान्सामा उज्यालो भएन। संधै जोगी भात। औंसी पूर्णेमा कहिले काँहि २-४ चोक्टा चिची झुल्किन्छ त्यो पनि मरेर। नत रेष्टुरेण्ट बार नै गईयो। नयाँ नयाँ कपडा लगाउने त कुरै छाडौ संधै टाउको जोत्दैमा फुर्सद छैन कहाँ जाँदा लगाउनु? कतिन्जेल यस्तो हरिबिजोग भएर बस्ने। हामी जस्तो सर्वसाधारणलाई हङकङको जीवन धेरै कठिन छ। एक मनले सोँचे स्वदेश फर्कौं। ढिडो रोटो खाएर भए पनि एउटा स्वाभिमानी नेपाली बनी यो श्रम र सीपलाई नेपाली माटोमा खन्याऔं। तर स्वदेशको स्थिति झनै चर्को छ। त्यहाँ त आफन्त नातागोताहरु ठुला बडा हुनु पर्छ। पहुँचवाला हुनु पर्छ। तीनै पहुँचवालाले आफ्नै "कोठेवारीमा पाकेको केरा बाँडेर खाए" जस्तै राज्यका हरेक क्षेत्रमा आफन्त नातागोताहरुलाई जागीर खुवाउँछन। आफ्नो त त्यो स्थिति पनि छैन। एक मनले सोचेँ कमसेकम हामी बिदेशिएर हाम्रो परिवारलाई सरकारले पाल्नु पर्ने भार त कम भएको छ, फेरी किन सरकारकको निम्ति बोझ बन्ने? यिनै तर्कनाहरु मनमा खेलाउँदै त्यो ट्याक्सको चिठी खसालेर गुँडमा पुग्दा ४ बजिसकेछ। गुँडमा सानी बचेरी छोरी श्रेया माउ (मेरो) प्रतिक्षामा ब्यग्रताका साथ कुरीरहेकी थिईन्। तिन्लाई च्याप्प कोखिलामा च्यापेर विस्तरामा पल्टेको खै कति बेला भुसुक्कै भएछु। ८ बजे बहिनीले खाना खान उठ्नुस भन्दा पो ब्यूँझिए।

समाप्त 
अगष्ट ३ श्रावण १८ गते २०६७
 

Latest News