Home

"लाहुरे बन्ने सपना त्याग्न सकेँ तर गायक बन्ने सपना त्याग्न सकिन" : गायक बेदु सारु मगर

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम

दाङ। "सानै उमेरमा चार पाँच कक्षामा पढ्दाखेरी नै प्राय मान्छेले नदेखेको समयमा लुकेर गाउँने गर्थे" यो भनाई हो दाङ सिसहनिया गाविस- ५ कालापानी निवासी बेदु सारु मगरको। घर परिवारको डरका कारण लुकेर साथिभाई कहाँ गएर गाउने उनै बेदू सारु मगर नेपालको पहिलो भ्वाईस अफ टिन बन्न सफल भएका छन्। सुपर एवं मिडिया प्रालि काठमाण्डौद्वारा सन्चालित हिरो होण्डा."भ्वाइस अफ टिन" मा नेपालको पहिलो भ्वाइस अफ टिन बन्न सफल भएका हुन्। भ्वाइस अफ टिन टप वान बन्नका लागी उहाँले मोवाईलको एसएमएस मार्फत ८४ हजार छ सय ५९ मत प्राप्त गरेका थिए।
 
दाङकै हाँसिपुर गाविस-४ लापेमा २०४६-०९-२४ गते जन्मनुभएका सारु मगर देशभरीका करिब १२ हजार प्रतिस्पर्धीलाई पछाडी पार्दै टप वान बन्न सफल भएका हुन्। अझै पनि सुन्दा अचम्म लाग्न सक्छ की लुकेर गाउने प्रतिभा पनी कँही नेपालको उत्कृष्ट भ्वाईस अफ टिन बन्न सक्छ भनेर। तर यो ध्रुवसत्य कुरा हो। संगीत क्षेत्रमा सानै उमेरबाट सार्है् रुची भएका बेदू संगीत प्रति भएको आफ्नो तीब्र ईच्क्षाका कारण आज आफु सफल भएको बताए। देशका बिभिन्न कुनाकाप्चामा रहेका टिनएजका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ आयोजना गरिएको हिरो होण्डा.भ्वाईस अफ टिनमा साँच्चिकै लुकेको आशा लाग्दो प्रतिभाका रुपमा नेपालको साँगितिक दुनियामा उदाएका छन्।
 
भ्वाईस अफ टिनको छनौटका लागी एक वर्ष बढी समय लागेको थियो। भ्वाईस अफ टिनमा उत्कृष्ट भएका सिसहनिया-५ कालापानी दाङका बेदु सारुमगरले भविष्यमा सांगीतिक यात्राको बाटो तय गर्ने बताएका छन्। भ्वाइस अफ टिनमा उत्कृष्ट भएपछि गायन क्षेत्रमा आकर्षण बढेको उनले बताए। बुवा आशाराम सारु मगर र आमा गोमी सारु मगरका सबैभन्दा कान्छो सन्तानका रुपमा जन्भिएका बेदु सारु मगर सिँगो नेपालीले माया गरेर आफुलाई उत्कृष्ट बनाएको भन्दै सबैलाई धन्यवाद प्रकट गरेका छन्। उनले सबैको माया पेरणाका कारण आफु सफल भएको बताउँदै सबैले दिएको माया प्रेरणा सहयोगलाई त्यसै खेर जान नदिने बताए। उनले आफुप्रति सबैले देखाएको सद्भाव मायालाई नेपाली साँगितिक दुनियामा आफु रहेर बचाईराख्ने बताएका छन्। भ्वाइस अफ टिनमा उत्कृष्ट भएको उमंग सेलाउन नपाउँदै उनले केही दिनअघि एउटा गीत समेत बजारमा ल्याइसकेका छन्। सन्चारकर्मी तथा साहित्यकार उदय जिएम को लेखन तथा बरिष्ठ गायक एवं संस्कृतिविद डा.गोबिन्द आचार्यको संगीत रहेको "लालि छरिन्छ जब……॥" बोलको गित भ्वाईस अफ टिन भैसके पछी उनले पहिलो गीतको रुपमा स्वर दिएका छन्। भ्वाईस अफ टिन भैसकेपछी उनको सम्मान स्वरुप गृह जिल्ला दाङ राप्ती अन्चलका बिभिन्न क्षेत्रहरुमा कार्यक्रमको आयोजना गरिने क्रम हाल जारी रहेको छ।

रेडियो ईन्द्रेणी दाङद्वारा दुई वर्ष पहिले सन्चालन गरिएको ईन्द्रेणी आईडल कार्यक्रममा ९०-९५ जनालाई पडाछी पार्दै उनी दोस्रो भएका थिए। सानैबाट गायनका रुची भएका बेदू विद्यालयका कार्यक्रमहरुमा भने निकै गीत गाउने गर्दथे। तर औपचारिक रुपमा भने ईन्द्रेणी आईडल कार्यक्रमबाट उनले गायन क्षॆत्रमा बाहिर आएका हुन्। देशभरका सबै प्रतिष्पर्धीलाई उछिन्दै टप वनमा पर्न सफल भएका बेदु सारु मगरलाई अहिले आएका बधाई तथा शुभ कामना ग्रहन गर्न भ्याइनभ्याइ छ।

"यस प्रतियोगिताले मलाई धेरै पाठ सिकाएको छ। आगामी दिनमा पनि म यसैगरी सांगीतिक क्षेत्रमा निरन्तर लाग्ने छु त्यसको लागि मैले मेहनत गर्नुपर्छ" उनले भने। "म भ्वाइस अफ टिनमा सफल हुनासाथ गीत गाउन पाएको छु आगामी दिनको मेरो सांगीतिक यात्रा फलदायी बनाउनका लागी निकै मिहिनेत गर्नेछु" उनले भने। "भ्वाइस अफ टिन" मा उत्कृष्ट भएपछि यो गीत गाउन पाएकोमा हौसिदै उनले साँगीतिक क्षेत्रमा सफल गायक बन्न प्रयास गर्ने अठोट लिएको बताए। 

दाङकै युवाहरुले स्थापना गरेको आलाक म्युजिक रेकर्डिङ स्टुडियोबाट पनि यो गीत "लाली छरिन्छ" पहिलोपटक रेकर्ड भएको गीतका रचनाकार उदय जीएमले बताए। वेदुको स्वरमा सझिँएको "लाली छरिन्छ जब जब" गीत जिल्लाका प्राय जसोको मोवाइलमा सिआरविटीका रुपमा घन्किन थालेको छ। "लाली छरिन्छ जब जब" को सिआरबिटी राख्न चाहनेका लागि ०१३००२१११५ नम्वर र पिआविटिका रुपमा ६०४१५९२५ नम्बर मोबाईलको कल ब्यक रिङ टोनका रुपमा डाउनलोड गर्न सकिने रचनाकार जीएम बताउँछन्। "सबैले यो गीत सुनेर नवगायक वेदुलाई गायक बन्न प्रेरणा दिनुस् र आफूले गीत सुनेर मनोराजन लिनुस्" जीएमले भने। "भ्वाइस अफ टिन" मा उत्कृष्ट भएका वेदु यहाँसम्म आउनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग रहेको बताउँछन्। 

२०६२ सालमा सर्वोदय उच्च मावि सिसहनिया देउखुरीबाट एसएलसी उत्तिर्ण गरेका उनले सोही उमाविबाट शिक्षा संकायबाट प्लस टु उत्तिर्ण गरेर एक वर्ष पहिले "भ्वाईस अफ टिन" कार्यक्रम सुरु भएपछी काठमाण्डौं प्रवेश गरेका हुन्। "सबैको सहयोगले नै सफल भएको हुँ तर मैलॆ गायक रामकृष्ण ढकाललाई आफ्नो सांगीतिक गुरु नै ठान्छु मलाई उहाँका गीत असाध्यै मनपर्छ सधैँजसो उहाँले गाएका गीत नै मैले गाउने गर्थेँ। उहाँको प्रॆरणाले मलाई सांगीतिक क्षेत्रमा आउन थप मद्दत मिलेको छ" उनले भने। यस संगै उनले गायक संगितकार एवं संस्कृतिविद डा.गोविन्द आचार्य, नृत्य निर्देशक राजेन्द्र श्रेष्ठ र आफ्नै दाजु शिक्षक लक्ष्मण सारु मगर, शुभचिन्तक साथिहरुलाई आफ्नो सांगितिक क्षेत्रको गुरु प्रेरणाको स्रोतको रुपमा लिएको बताउँछन्। "मलाई भ्वाइस अफ टिन बनाउनका लागी मेरो गुरुहरुको निकै सहयोगको कारणले म आज यो स्थानसम्म आईपुगेको छु" उनले भने। "यसैगरी मेरो परिवारका सदस्य सबैले निकै सहयोग गर्नुभयो भने दाङ पश्चिम क्षेत्र तथा सिँगो नेपालीको सहयोगका कारण म सफल हुन सकेँ त्यसका लागी आफुलाई भाग्यमानी ठानेको छु र सबैप्रति आभार तथा धन्यवाद दिन चाहान्छु" उनले भने।

हाँसिपुरमा जन्मनुभएका बेदु सारु मगर विगत १६-१७ वर्षयता दाङको सिसहनिया-५ कालापानीमा बसोबास गर्दै आएका छन्। भ्वाईस अफ टिन कार्यक्रमको शुरुवात संगै काठमाण्डौ प्रवेश गरेका सारु मगर अनुराग संगित विद्यालय पुतलिसडकमा संगित कक्षा लिईरहेका छन्। "यसअघि संगितको विषयमा कुनै शिक्षा लिन पाईएन संगीतको कक्षा लिन थालेपछि झन् आशा पलाएको थियो साँच्चै नै करिब १२ हजार प्रतिष्पर्धीलाई उछिनेर यहाँसम्म आइपुगिएको छ अब मेरो वास्तविक सांगीतिक यात्रा सुरु हुनेछ" उनले हामीसँगको कुराकानीमा भने। यसक्षेत्रमा भविष्य सुनिश्चित हुने आशा पलाएको उनी बताउँछन्। जिल्लाबाट छानिएर काठमाण्डौंमा बरिष्ठ गायक रामकृष्ण ढकाल गायिका देविका बन्दना र संगीतकार राजु सिँहको निर्णायकीमा टप १२ सम्म पुगेपछी त्यसपछीको छनौटका लागी जनतामा मोवाईल मार्फत भोटिङ कार्यक्रम खुल्ला गरिएको थियो। टप १२ बाट टप १० टप ८ टप ५ टप ३ हुँदै बेदु सारु मगर उत्कृष्ट टप वान बन्न सफल भएका हुन्। उहाँलाई टप वानमा पुर् याउनका लागि माधुरीमा साँस्कृतिक कला केन्द्र दाङ, नेपाल मगर सांस्कृतिक संघ दाङ र राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानले अभियानै चलाएर बेदुलाई भोट माग्नका लागि घरदैलो अभियानमा लागेका थिए। यसैगरी जिल्लाका सन्चारकर्मी, साहित्यकार, व्यापारी सबै यसै अभियानमा लागेका थिए। मध्य तथा सुदुर पश्चिमका एक्ला प्रतिस्पर्धिका रुपमा भोटिङ प्रतिस्पर्धामा सहभागी बेदुलाई काठमाण्डौंमा राप्ती समाज लागयतका संघसंस्थाले अभियान सन्चालन गरेका थिए। यसैगरी मगर विद्यार्थी संघ दाङमा समेत आवद्व रहेका उहाँलाई नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले सबै मगर विद्यार्थीहरुलाई सहयोग गर्न देशव्यापीरुपमा आह्वान गरेको थियो। 

कक्षा पाँचमा अध्ययन गर्दाखेरी नै वेदु सांगीतिक यात्रामा होमिएका थिए। भारतिय सेनाका जागिरे बावुको छोरा भएका कारण एक समय भारत तथा सिँगापुर ब्रिटिश को सेना नै बन्नुपर्छ भनेर लागेको बताउने बेदु सानै उमेरबाट संगीत क्षेत्रको निकै लागवका कारण त्यसलाई बिचैमा छाडेको बताउँछन्। "बुवा भारितय सेनाका जागिरे हुनुहुन्छ त्यसैले घरबाट गीत संगीत भन्दा लाहुरे हुनुपर्छ भन्ने दबाव आउने गर्दथ्यो मलाई पनि एक समय त लाहुरे हुने निकै रहर चलेको थियो तर मेरो सानै देखीको संगीत प्रतिको लगावका कारण संगीत क्षेत्र छाड्न सकिन" उनले भने। "मैले लाहुरे हुने सपना त्याग्न सकेँ तर गायक बन्ने सपना त्याग्न सकिन।" उनले लाहुरे बन्ने सपना त्याग्न सकेका कारण र आफ्नो मेहनतका कारण आफु सफल भएको बताउँछन्। नृत्यका लागी केही समय कक्षा लिएमा प्रायले राम्रो नृत्य गर्न सक्छ तर गाउनका लागी प्राकृतिक रुपमा नै गायकी क्षमता भएको हुनुपर्ने गायक डा.गोबिन्द आचार्यको भनाई रहेको छ। "गाउनका लागी स्वरमा निखारताको आवश्यकता हुन्छ कृतिम स्वर भएर हुँदैन गड गिफ्टेड भ्वाईस हुनुपर्छ त्यो बेदु सारु मगरमा हामीले पाएका छौ" उनले भने। पश्चिम क्षेत्र प्राय लोकदोहोरी क्षेत्रमा अगाडी भए पनि सुगम संगीतमा पछाडी भएको भन्ने जस्ता भनाईहरुलाई बेदुले नयाँ सन्देश दिन सक्नुपर्ने उनको भनाई रहेको छ। उनले बेदुले भ्वाईस अफ टिनमा उत्कृष्ट भएर निकै राम्रो गरेको बताउँदै यस उचाईलाई सांगितिक दुनियामा दिगो र अझ उचाईमा पुर्याउनका लागि कडा मेहेनेत गर्नुपर्ने बताए।

भर्खरको क्याम्पस पढ्दै गरेको गाउँको यूवा बेदु सारु मगर आदिवासी जनजाती समुदायबाट मात्र नभएर सिँगो नेपालको युवा गायकका रुपमा उदाएका छन्। उनको मेहेनेत र परिश्रमका कारण नै उनी यस स्थान सम्म आउन सफल भएका हुन्। नेपाली सांगितिक क्षेत्र तथा नेपाली समाजले वेदुलाई आगामी दिनमा राम्रो गायकमा रुपमा पाउने आशा गरेका छन्। त्यसका लागी त बेदू सारु मगरले मेहेनेत त पक्कै गर्नै पर्छ। आशा छ बेदु प्रतिको आशा भरोसा उनले त्यसै खेर जान दिने छैनन्। अबका दिनमा कस्ता-कस्ता गीतहरु ल्याएर नेपाली सांगितिक आकाशमा उदाउने हुँन्। त्यो भने हेर्न बाँकी नै छ।
 
{gallery}2010/bedu_saru_aug_2010{/gallery}  
 

Latest News