Home

"किसिमै भो"

E-mail Print PDF
AddThis Social Bookmark Button
कोरङ्गी प्रेम - संखुवासभा 

सधैँ झैं मेलोमा टाउको जोतिरहेको थिएँ। खल्तीको मोबाईल बुरुक्की बुरुक उफ्रन थाल्यो। बास्न शुरु गरेको भालेलाई कोरली पोथिको बथानबाट मुण्ट्याउँदै लगेर डोको भित्र जाक्दा कस्तरी उफ्रन्छ त्यसै गरी। यो ज्यानलाईनै लडाउँला झैं गरी। तर किन टेर्थ्यो यो ज्यान त्यति सजिलै। पौने कुईण्टल शिकार (मासु) छ यो ज्यानमा। बाबुको जेठा छोरा पो हुँ त। उस्तै त्यस्तैले त नआँटे पनि हुन्छ। फोन उठाएको दाइको रहेछ। दाइले हाँस्दै भन्नु भो "किसिमै भो"। सोधे "के भो त्यस्तो" "के हुनु नी दक्ष प्रजापतिको जस्तो मेरो कवितामा तिम्रो फोटो छापिएछ, किसिमै भो"। अतः म दाजु गुरुङ होईन। धरोधर्म हुँदै होईन। म उहाँको भाइ हुँ भनेर एउटा लेख नठेली रहन सकिन।
 
"दाजु गुरुङ"। यो यिनको नाम हो की यिनलाई बोलाउने साइनो के हो कति नंवरको चिट कुन खल्तीमा प-यो भनी अल्मलिएको परिक्षार्थी जस्तो कन्फ्युज छु। कस्ले राख्यो यस्तो नाम मूर्ख पण्डितले की बुद्धु लामाले मान्छेका कति राम्रा राम्रा नाम हुन्छन् - सुवास, सौरभ, आषिश। यीनका चांहि के हो यस्तो "दाजु"? एउटा गतिलै नाम राखिदिए तिनका वाऊको के जान्थ्यो? मान्छेहरु सहर बजार पसे पछि गाउँका नाम फेर्दछन् जस्तै पदम- पिटर मदन-माईकल जीवन-ज्याक। नेताको कुर्सी मोह जस्तो कत्रो मोह यीनको चाहि गाउँले नाम प्रति खयर यिनी को हुन कस्ता छन कत्रा छन यीनको धन्दा के हो थोरैलाई मात्र थाहा छ। नजिकको उठ्वस र हिम्चिम् नभएकाहरुले चाहीँ गुगलमै गएर सर्च गर्नु पर्छ यिनलाई। त्यहाँ पनि भेट्न हम्मे हम्मे पर्छ। आखिर को हुन यीनी थोरै गन्थन् गरौ‌ यीनका बारेमा।

दाजु गुरुङ भूपू मांशाहारी। ११ वर्ष भूमिगत। भूंडीफुटुवा कवि। दिएर लिन विस्रने दानवीर कर्ण झैं। आदि। अनौठा प्राणी। वुढाको बारेमा यत्तिनै। यिनको बारेमा लेख्दा विषय बस्तु रानो खोज्दै हिँडेको मौरी झैँ अन्यत्र दायाँ वायाँ भयो भने यो सुकेको करङ वुढाले नडाम्ला भन्न सक्त्तीन। त्यसैले लेख्नु पूर्व क्षमा चाहन्छु।

सन्दर्भ कविताको। हिजोआज विदेश जानु र पत्रपत्रिकाको खेती सबै भन्दा मौलाएको खेती बनेको छ। चर्चा गरौं पछिल्लोको। सवै संघ संस्थाहरुका आ-आफ्नै पत्र-पत्रिका अनि आ-आफ्नै वेवसाइटहरु। राम्रो अति राम्रो। शमाजशास्त्रले के भन्दछ भने "जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ गुणस्तरियता आउँछ"। सायद त्यसैले होला हाम्रा कलमवीरहरु कम्मर कसेरै लागेका छन्। ज्यान फालेरै। छिनमै कथा लेखी भ्याउँछन छिनमै गजल। छिनमै शायरी त छिनमै कविता। प्रतिभा होस त यस्तो। माथिनै चर्चा गरें दाजु गुरुङ अनौठा प्राणी छन्। जनयुद्ध ताका कमरेडहरु आफ्नो उपनामले चिनिन्थे यिनी चाहि खुल्ला परिवेसमा आए पछि उपनामले चिनिन्छन्। यिनलाई बेथा लागेको महिना दिनमा बल्ल वल्ल कविता जन्मन्छ। त्यो पनि बढो हैरानीका साथ अरु कविहरु जस्तो सर्लक्कै एकै छिनमा आरामले जन्माउन सक्त्तैनन् यीनी। असिन पसिन भएर मरेर जन्माउँछन। खै के खरावी छ यीनमा कुन्नी 

बुढालाई एउटा कविताको ब्यथा लागेको २ महिना अघि रे वगलभ मा तर बल्ल ब्गनगकत मा जन्माएछन्। कति लामो ब्यथा हो यिनको िसंगारी बाख्रीलाई भन्दा पनि लामो। एक दिन बुढाले भने "कविता पठाएको छु यसो ठेल्देऊ है"। बुढाको त्यती हिम्चिम् छैन संचार जगतसंग। ११ वर्षमा त निस्केका खुल्ला सामाजिक परिवेसमा अनि कहाँबाट होस् हिमचिम् मेरा हितैसी मित्रहरुका वेभसाईटहरुमा राती १२ बजे सम्म लगाएर पालैपालो गरेर ठेली दिएँ। भोलिपल्ट २-४ वटा वेभसाईटहरुले कृपा गरेर छापि दिए बुढाको कविता। मूलवाटो डटकम, बगैंचा डटकम, मेरो यूके डटकम, हङकङनेपाली डटकम र सृजना डटकममा जुनेली मकैको फुल उठे झैं वरर। बुढा मख्ख। तर मूलवाटो डटकमले चाहि किसिमै गरेछ। दाजु गुरुङको कवितामा मेरो यो भाइको फोटो पो छापिदिएछ। अतः यसै लेख मार्फत सवैमा दाजु गुरुङ म होईन धरोधर्म हाईन भनि प्रष्ट पार्न चाहन्छु। यीनका सिर्जनाहरुमा महाभारत वेद उपनिषद रामायणको सुगन्ध आईहाल्छ। त्यसो त त्यै सुगन्धले लठ्याएर २-४ जना शुभ चिन्तकहरु बनाएका छन् बुढाले। राम्रै गरी निलेका छन क्यारे ती ठेलीहरु जमानमा। मेरा निम्ति त ती ठेलीहरुका दर्शन मात्रै पाए पनि अहोभाग्य। अतः जावो म ववुराको खोपडीबाट यस्तो सिर्जना कसरी निस्कन्थ्यो त्यसो त खेतला लाएछि यस्तै त हुन्छ। के थाहा वेभसाईट र पत्रपत्रिकालाई कोृ दाजु गुरुङ को भाइ कतिपय लेख रचनाहरु एउटाको खोपडीबाट निस्कन्छ र त्यस्मा अर्कैको फोटो टासिन्छ जसरी कसाईले बाख्रीको मासुमा खसीको टाउको झुण्ड्याएर बेच्छन्। मलाई चोर कवि हुन छैन। त्यसैले म दाजु गुरुङ होईन। बुढा अलि भिरको टुप्पोमा फलेको चिण्डो जस्ता छन्। धेरै वेभसाइटहरुले यिनलाई फोटो नमागेका होइनन् तर ज्यान जाला दिन मान्दैनन्। तिनै फोटोको कारण कति कविताहरु गोलखाडी गए बुढाका। मान्छेहरु पत्रपत्रिका र वेभसाईटहरुमा आफ्नो फोटो निकाल्न हाम्रा नेताहरुको जस्तै दिल्ली दौड गर्छन। २ लाईनको कवितामा ४ लाईनको फोटो छाप्छन् मानौं उनीहरु आफ्ना सिर्जनाहरुलाई भन्दा फोटोलाई ग्राहयता दिईरहेछन्। नेताहरुले जस्तो तरुनी काण्ड झापड काण्ड सुत्केरी काण्ड अहिले सम्म मच्चाएका छैनन् बुढाले तैपनि किन आफुलाई सार्वजानिक गर्न मान्दैनन् त्यसैले त यिनी अनौठा प्राणी छन्। बेलाबखत अर्जुनका झैं तिखा तिखा कविता रुपी वाणहरु फुत्त फुत्त मिल्काउँछन विभिन्न वेभ साईटहरुवाट। खै कतिलाई घाईते बनाए अहिले सम्म यिनले तिनै दैव जानुन्। मैले एउटा कुरा बुझ्न सकिरहेको छैन। कतिपय वेवसाईटहरुले फोटो विनाको लेख रचना छाप्दैनन्। के छ त्यस्तो जादु फोटोमा प्राथमिकताको विषय फोटो हो की लेख रचना के विना फोटोको सामग्रीहरु समसामयिक र वजनदार छन् भने पनि त्यो प्रकाशन योग्य मानिदैनन् मेरो जिज्ञासा उहाँहरु प्रति। हुन त कस्ता कस्ता सनसनीपूर्ण खवरहरु त मैयाहरुको फोटो भन्दा १२ हात पछि छापिन्छन कठै हामी जस्ताका लेख। यीनका १-२ वटा गुणहरु चाहि विर्सी नसक्नुका छन् जस्का वारेमा चर्चा नगरे यीनी टाउको विनाको मूर्ति जस्तै हुन्छन्।

चर्चा अझै बुढाकै यानेकी दाजु गुरुङकै। यीनी एक शाकाहारी। म्याद सिदि सकेका (out dated)। मांशाहारीकालमा यीनी कस्ता थिए त्यो पनि अलिकति। मांशाहारीकालमा यीनी दिनै पिच्छे दशैं मनाउथे जसरी हाम्रा सभासदहरु संविधान लेख्ने वहानामा मनाउँँदै छन् नेपाली जनता र देशलाई मागीखाने भाडो बनाएर। हप्तामा ५ दिन सोम मंगल वुध विही र शुक्रबार बुढा चैते दशै मनाउथे। ती दिनहरुमा कामको चटारो बढी हुने हुनाले हल्का फुल्का खाने र राम रमिता पनि कमै गर्थे। बाँकी २ दिन शनि र आईतवार चाहि प्राय बिदा हुने हुनाले यीनको बडा दशैं। यिनकॊ चुल्होमा सबै जिवजन्तु र पेय पदार्थहरुलाई स्वागत थियो जसरी राज्यले जनजाती मधेसी महिला दलित भनेर भेदभाव गरेको छ त्यस्तो कहिल्यै गरेनन् यीनले। सबैलाई पालैपालो दर्शन दिन्थे बुढा। खसी कुखुरा माछा भ्यागता सर्प गड्यौला गंगटा आदि सबै प्रति समान ब्यबहार थियो बुढाको। वियर वाईन ह्वीस्की संग त बुढाको नङ र मासुको सम्बन्ध थियो भारत संग हाम्रा नेताहरुको सम्बन्ध भए जस्तै। कुखुरी काँ देखि रविको अस्त नभए सम्म मेहमानहरुको ताँती। मेहमानहरु पनि कस्ता कस्ता हिमाल पहाड तराई सबै ठाउँबाट। सबैलाई विना रोकटोक प्रवेष बुढाको राम झुपडीमा। चुल्होमा पाकेको शिकार र मेहमानहरुको कोसेलीपात सबै संग बाडेर खान्थे बुढा हाम्रा ठुलाबडाहरुले जस्तो एक्लै कहिल्यै कुम्ल्याएनन् यीनले। यीनले मांशहारीकालमा एउटा उल्लेखनिय काम गरेर निकै चर्चमा आए तर गिनीज बुकमा दर्ता गराई हाल्नु पर्ने खालको चाहि होइन नेता हरुको जस्तो। गाठी काम के गरेछ भने चल्होमा कस्ले नेतृत् वगर्ने भनने विवाद चुलिए पछि सबै कसाईहरुलाई एउटै टेबलमा बसाएर ३ बुदे सहमती पत्रमा हस्ताक्षर गर्न लगाएछन। राष्ट्रपतिको भूमिका निभाएछन्। तसर्थ जमानाका राष्ट्रपति पनि हुन बुढा। ती बुँदाहरु निम्नानुसार थिए।

१ एकले अर्काको अस्तित्व स्विकार्नु पर्ने।
२ आपसी झै-झगडा गरेर सर्वसाधारणको जिवनमा खेलवाड गर्न नपाईने।
३ सहमतिय पद्धतिलाई अंगाली अघि बड्नु पर्ने।

यसरी बुढाको योगदान फलाकी रहँदा एउटा प्रसंग कोट्याउन मन लाग्यो। एउटा ब्यक्ती ४-५ बर्षको नावालक छोरो लिएर डुल्न निस्कन्छ। नजिकैको पोखरीमा माछाका भुराहरु च्ारोको खोजीमा सल्बलाईरहेका देखेर प्लाष्टिकको चामल पोखरीमा छरि दिन्छ। माछाहरु हारालुस गर्दै चारो खान्छन्। पोखरीमा चामल हालीरहेको देखेर परेवाहरु प्नि त्यो मान्छेको वरीपरी झुम्मीन आईपुग्छ र सडकमा चारो छरिदिन्छ। परेवाहरु रमाई रमाई चारो खान्छन्। त्यो रोमााचित २ दृश्यले त्यो वालसुलभ मनमा जिज्ञासा पलाउँछ र बाबालाई सोध्दछ। बाबा किन ती परेवाहरुले माछाको चारो खोसेर खाँदैनन् अनि माछाहरु परेवा सँग किन झगडा गर्न सडकमा जाँदैनन् ती प्रश्नहरुले त्यो ब्यक्ती भावविहव्ल हुँदै भन्छ। वावु यीनीहरु जनावर भए पनि मानिस जस्ता भेडा छैनन्। आफ्नो सिमा र परिधीलाई कहिल्यै नाघ्दैनन्। एकले अर्काको अस्तित्व स्विकार्दछन्। यीनहरुको ब्यवहार स्वच्छ छ। मानिस जस्ता स्वार्थी छैनन् धेरै नैतिकवान छन्। म मेरो देशको राजनिती सम्झन्छु। के हाम्रा नेताहरुको बुद्धि कसाईहरुको जत्ति पनि छैन के हामा्र नेताहरुले माछा र परेवालॆ जस्तो एकले अर्काको अस्तित्व स्विकार गर्ने संस्कार सिकेका छैनन् के माल्दिभसका राष्ट्रपति नेता नासिद जस्तो नेता हाम्रो देशमा कहिल्यै जन्मदैनन् जसले आफ्नो ४ करोड डलर सुविधालाई घटाएर २० लाखमा ल्याए र बाँकी रकम स्वास्थ्य मन्त्रालयलाई दिए। यदि कसाई भन्दा गए गुज्रेका अनि परेवा र माछा जस्तो एकअर्काको अस्तित्व स्विकार्ने संस्कार नसिकेका स्वार्थी नेताहरुले नेतृत्व गरेको नेपाल सिँगापुर बन्ला कि झिँगापुर बन्ला पत्ता लगाउने जिम्मा तपाईको।

अस्तु August, 29 आईतवार।
 
 
यस वेवसाईटमा हालसालै प्रकाशित दाजु गुरुङको कविताः
 
 

Latest News