Home

बुझनेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिँडको चरितार्थ

E-mail Print PDF
AddThis Social Bookmark Button
पोखरा, १२ असोज।नदी र खोलाले बगाएर ल्याएका काठका टुक्रा (बौरेठा) र जरालाई राम्रो आम्दानीको स्रोत बनाएर यहाँका एक कलाकारले ‘बुझनेलाई श्रीखण्ड, नबुझनेलाई खुर्पाको बिंड’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन्।

पोखरा उपमहानगरपालिका वडा नं. १७ रातोपहिरो निवासी कलाकार भीमबहादुर रानामगरले हस्तकलाको माध्यमबाट नदी, खोला, वनजङ्गल र पहिरोमा फालिएका रुखका जरा र मुढालाई आकर्षक सामान बनाइ बिक्रीबाट राम्रो आम्दानी गरेर उनले सो उखानलाई चरितार्थ गरेका हुन्।

थापामगरले मिल्किएका उपयोगविहीन वन पैदावारलाई आफ्नो सीपबाट तयार गरेका सामान बिक्री गरी एकवर्षमा रु. एक लाख ५० हजारभन्दा बढी आम्दानी गरेको बताए । उनको यो सफलता ‘कलामा लागेर गुजारा चल्दैन’ भन्ने धारणा राख्नेहरूका लागि गतिलो उत्तर बन्न पुगेको छ।
 
‘सामान बनाउन खासै खर्च लाग्दैन, तयार गरेका सामग्री बिक्री गर्न कुनै समस्या छैन, स्वदेशी तथा विदेशी पर्यटक खरिद गर्न घरमै आउँछन्, पर्यटकले त्यस्ता सामग्री विशेष गरी घर सजाउन र उपहारका लागि लैजाने गरेका छन्’ कलाकार थापामगर बताउँछन्।

उनका सामान किन्न र हेर्नका लागि ग्यालरीमा स्वदेशीका साथै जापान, इजरायल, जर्मनीलगायतका देशका पर्यटक बढी आउने गरेका छन्।

सानै उमेरदेखि काष्ठकलामा रुचि भएका ५० वर्षीय रानामगर भन्दछन्- ‘खोला र पहिराबाट सङ्कलन गरी घरमा ल्याएका जरा एवम् काठका टुक्राबाट सामान बनाउन खासै समय दिनुपर्दैन फुर्सदको समयलाई सदुपयोग मात्र गर्ने गरेको छु।’

भारतीय सेनामा १७ वर्ष सेवा गरी पेन्सनमा आएका रानामगरलाई कलामा लाग्न गाउँमा काठको काम गर्ने आफ्नै बुबाबाट प्रेरणा मिलेको हो।

कुनै तालिम नलिएको र कतैबाट सहयोग पनि नपाएको बताउने कलाकार थापामगरको गुनासो रहेको छ। सामान खरिद गरी लाने व्यक्तिले ग्राहकलाई आफैले बनाएको भनी बिक्री गर्ने गरेकोमा भने उनको गम्भीर गुनासो रहेको छ।

कुनै पनि जरा तथा काठ देख्ने बित्तिकै त्यसलाई कस्तो आकार दिने हो भन्ने सोच अन्तरआत्माबाट आउने गरेको र सोहीअनुरूपको आकृति दिने गरेको उनी बताउँछन्।

त्यस्ता सामान बनाउन उनले विशेष गरी हसिया, छिनो, चक्कु, काठको मुङ्ग्रो, रेती, खाग्सी जस्ता सामान्य औजारको प्रयोग गर्ने गरेका छन्।

सोही स्थानमा रहेको रातोपहिरो सामुदायिक वनका उपभोक्तासमेत रहेका कलाकार रानामगर भन्दछन्- ‘वनको काँटछाँटको समयमा वनमा भेटिएका जरा र काठका टुक्रा सङ्कलन गर्ने गरेको छु।’

जङ्गलमा पाइने गिदरी, वनमारालगायत विभिन्न रुखका काठका टुक्रा एवम् जराबाट त्यस्ता आकृतिका वस्तुको दुरुस्त आकार दिन सक्ने उनले बताए।

सेनामा कार्यरत हुँदा साथीहरू फुसदको समय तास खेलेर बिताउने तर आफूलाई तास खेल्न नआउने भएकाले काठका टुक्रा सङ्कलन गरी खुकुरी बनाई साथीहरूलाई उपहार दिने गरेको कलाकार थापामगर बताउँछन्। साना सामान बनाउन एक दिन र अन्य ठूला सामान बनाउन एक महिनासम्मको अवधि लाग्ने गरेको बताउने रानामगरको घरमा अहिले करिब रु. छ लाख मूल्य बराबरका त्यस्ता सामान तयारी अवस्थामा रहेका छन्।

आगामी दिनमा काठका मुढामा देवीदेवताका मात्र नभई परम्परा र ग्रामीण परिवेशलाई झल्काउने खालका आकृतिका मूर्र्ति बनाउने सोच रहेको उनी बताउँछन्। ‘घरायसी मदिरा बनाउन किनेर ल्याएका दाउरा टुक्रयाउने र कोठामा लुकाउने गर्दा दुःख लाग्थ्यो तर अहिले तिनै दाउराबाट राम्रो आम्दानीको स्रोत बनेको छ’- उनकी श्रीमती कृष्ण थापामगर बताउँछिन्।

पोखरा १७ रातापहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको नजिक आफ्नै घरमा उनको मोर्डनआर्ट ग्यालरीमा काठ र जराबाट निर्मित अमूर्तकलाका सामग्रीका साथै विभिन्न आकृतिका पेन्टिङ समेत राखेका छन्। सामान उनले एक्लै बनाएका हुन्।

लामो समयदेखि यस कलामा लागेका कलाकार थापामगरले यसअघि औद्योगिक प्रदर्शनी र लेकसाइडस्थित सडक महोत्सवमा स्टल राखी प्रचारप्रसार तथा बिक्री वितरण गरेको बताउँछन्।

अमूर्तकलाका धनी उनको ग्यालरीमा काठ र जराबाट विशेषगरी दुःख एवम् प्रेम दर्शाउने, पशुपक्षी, घरेलु हतियार, किसानको जीवनी झल्काउने खालका कला देख्न पाइन्छ ।

सामान्य लेखपढ गर्नसक्ने कलाकार थापामगरको पेन्सन नियमित आम्दानीको स्रोत हो भने रेशमकीरा, बङ्गुर र कुखुरापालनजस्ता व्यवसायबाट परिवारको पालनपोषण गर्दै आएका उनको लागि अहिले हस्तकला थप आम्दानीको स्रोत बनेको छ । कलाकार थापाको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा रहेका छन्।  वनबाट ल्याएको जरा र काठबाट आकर्षक सामान बनाउन सक्ने रानामगरको सीपलाई राज्यले उच्च मूल्याङ्कन गरी प्रोत्साहन गर्नुपर्ने रातोपहिरो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वैकुण्ठलाल जिसी बताउनुहुन्छ ।

देशको कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई राज्यले पहिचान गरी उनीहरूमा अन्तरनिहित सीपलाई उपयोग गर्नसके रोजगारीको लागि जागिर खान र विदेश धाउन नपर्ने कला पारखी बताउँछन्।

साभारः आदर्श समाज रासस (हरि बास्तोला, आलेख सम्पादनः श्रीरामसिंह बस्नेत)

 

Latest News