Home

आदिवासी-जनजातिसँग पिँडीखोलामा बितेका ती दिन

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्रबहादुर श्रीस मगर

जेष्ठ २१ गते विनोद भाइलाई भ्याइनभ्याइ थियो। कारण स्याङ्जाको पिँडीखोला गाविसमा आदिवासी÷जनजाति समन्वय परिषद् पिँडीखोलाले आदिवासी÷जनजातिलाई सचेत र संगठित पार्न गर्न लागेको कार्यक्रमका लागि सम्पूर्ण बन्दोबस्ती मिलाउनुपर्ने। विनोद भाइको गाउँ स्याङ्जा जिल्लाको पिँडीखोला गाविसमा आदिवासी जनजातिहरुलाई सशक्तिकरण गर्न भनेर एक हप्ते अभियान सुरु गर्न लागिएको थियो। आदिवासी जनजाति समन्वय परिषद् पिँडीखोलाको अध्यक्ष विनोद आफैं भएकाले पनि उनले कार्यक्रमको तयारीका लागि सम्पूर्ण व्यवस्था मिलाएका हुन्। आदिवासी जनजाति सशक्तिकरण र आदिवासी जनजाति युवा सशक्तिकरणका लागि एक हप्ते निःशुल्क नेतृत्व विकास व्यक्तित्व विकास उद्घोषण तथा पत्रकारिता तालिमको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु तयार पार्नुपर्ने भएकाले आदर्श अफसेट पि्रन्टस्रमा बनाउनका लागि दिइएको थियो। अनि भोलीपल्ट २२ गते पिँडीखोला प्रस्थान गर्नुपर्ने दिन तयार पारी राख्नका लागि प्रेसका साचालकलाई अनुरोध गरेर आ-आफ्नो डेरातिर लागियो। भोलीपल्ट स्याङ्जा प्रस्थानका लागि सम्पूर्ण बन्दोवस्ती सामानसहित तयार भएर प्रेसमा आयौं तर प्रेसमा अझै काम पूरा भएको रहेनछ। अझै एक डेढ घण्टा लाग्ने प्रेसका साचालकले भने। त्यति भनेपछि हामीलाई समय बिताउन असाध्यै गाह्रो भयो। त्यसपछि अब के गर्ने भन्दा विनोद भाइले एकछिन साइबर बसौं भनेपछि साइबर बसियो। करिब एक डेढ घण्टापछि हामी निस्कियौं र काम पनि पूरा भएको रहेछ। अनि त्यहाँबाट हामी गल्याङबाट पिँडीखोला जाने भएपछि गल्याङको गाडी लाग्ने ठाउँ लखनचोक पुग्नुपर्ने भयो। हामी लखनचोकका लागि माइक्रो चढ्यौं। पोखराको अत्यन्त व्यस्त चोक लखनचोक जहाँ नेपालका प्रथम सहिद लखन थापामगरको अग्लो सालिक ठड्याइएको छ। त्यहाँ माइक्रो बसबाट ओर्लिएपछि हामी सुनौली पुग्ने गाडीमा गल्याङसम्म जानका लागि चढ्यौं। गल्याङ पुगेपछि निकै ठूलो पानी पर् यो। पिँडीखोला जाने गाडी छुटिसकेको रहेछ। तैपनि धन्न एउटा गाडीलाई भेट्न सफल भयौं तर सामानसहितको पिकअप भ्यानभित्र अटाई नअटाई चढ्ने भइयो। कच्ची सडक त्यसमाथि चिप्लो र भिरालो बडो अप्ठ्यारो कठिनका साथ जोखिमपूर्ण यात्रा पनि थियो त्यो। कता कता रमाइलो अनुभूति पनि भइरहेको थियो नौलो ठाउँमा जाँदा। कहिले ओर्लिएर पैदल त कहिले पुनः गाडीभित्र ठेलमठेल बसेर पेलाकोट गाविसको तोलातुङ भन्ने ठाउँसम्म पुगियो। त्यहाँबाट फेरि हिँड्नुपर्ने भयो किनकि हामी पिँडीखोला डुँडेबजार पुग्नु थियो। साँझ परिसकेको समयमा करिब एक डेढ घण्टाको यात्रापछि डुँडेबजार पुग्यौं र त्यहाँको तिवारी होटलमा बस्ने निधो भयो।
 
भोलीपल्ट २३ गते कार्यक्रमको सुरुको दिन। तालिमको प्रमुख प्रशिक्षक र सचेतना अभियानका लागि प्रमुख सहजकर्ताको भूमिका साह्रै गहन थियो। मलाई साथ दिने विनोद भाइ त छँदै थिए। बिहान ८ बजेबाट ११ बजेसम्म तीन घण्टा तालिम चलाउने र दिउँसो गाउँ गाउँमा सचेतना कार्यक्रम गर्ने भन्ने भयो। पिँडीखोलामा आदिवासी÷जनजातिहरु भनेका मगर गुरुङ केही नेवार थकाली र घर्ती पनि रहेछन्। गाविसका नौ वटा वडामध्ये पाँच वटा वडामा आदिवासी जनजातिको बसोबास रहेछ। पाँच वटा वडामा दुई वडामा गुरुङ र अन्यमा मगर जातिको बसोबास रहेछ। तालिममा सहभागी हुन पनि निकै उत्साहपूर्वक त्यहाँका मगर गुरुङ युवा युवतीहरु आए। सबैजना सित चिनाजानभएपछि त नौलो ठाउँ लागेको सुरुआतमा बिस्तारै आफ्नै लाग्न थाल्यो। तालिममा सबैको सकि्रय सहभागीता अत्यन्त चासो देख्दा म साँच्चिकै हर्षले विभोर भएको थिएँ। सबै युवायुवतीहरुमा नेतृत्व विकास व्यक्तित्व विकास उद्घोषण र पत्रकारिताप्रति अत्यन्त सहजता देख्दा साँच्चिकै जोशले मन भरिएर आउँथ्यो। पत्रकारिताप्रतिको बढ्दो गाउँले जीवनलाई देख्दा मैले पनि मेरो गाउँले परिवेशलाई एकपटक राम्ररी नै सम्झेँ। सबैमा रेडियोमा बोल्ने रहर पत्रकार बन्ने रहर र कमसेकम गाउँ ठाउँमा हुने विभिन्न कार्यक्रमहरुमा राम्रो उद्घोषण गर्ने रहर पाएँ। त्यो रहर रहरमात्रै जस्तो मलाई लागेको थिएन। एक खालको प्रतिबद्धता र भविष्यप्रतिको कर्तव्यबोध पनि थियो। एक हप्ताको अवधिमा धेरै कुराहरु साट्न नसकिएपनि अधिकांश महत्वपूर्ण कुराहरु साटिएको थियो। त्यो तालिममा सहभागी हुन प्रशिक्षार्थीहरु एक घण्टा वा डेढ घण्टाको बाटो हिँडेर आउँथे। त्यसरी दुःख गरेर तालिममा सहभागी भएकाहरुले मेहनत पनि राम्रै गरेका हुन्। एक हप्ताको छोटो अवधिमा पनि राम्रो प्रगति गर्न सके। नेतृत्व कसरी लिने व्यक्तित्वको विकास कसरी गर्ने रेडियो उद्घोषण र स्टेज उद्घोषण कसरी गर्ने र पत्रकारिताको बारेमा अत्यन्त गहन ज्ञान सीप र अनुभव साट्ने काम भयो। पिँडीखोलाजस्तो ठाउँमा पत्रकारिता तालिम दिएर के गर्ने भन्नेहरु नभएका होइनन्। तर हामीले त्यहाँ नागरिक पत्रकारिताको कुरा पनि गर् यौं। यो आजको युग भनेको नागरिक पत्रकारिताको युग हो। हरेक नागरिकले पत्रकारिताका बारेमा ज्ञान राख्नु आवश्यक छ भन्ने कुरा आजभोलीको समृद्धिउन्मुख समाजले राम्रैसित बुझेको अनुभव मैले गरेको छु। कमसेकम आफ्नो गाउँ ठाउँको घटना गतिविधि आदिका बारेमा पत्रकार नै नभएपनि आफैं पत्रकारले गर्ने काम गर्न पनि सकिन्छ भन्ने त्यसको मूल मर्म थियो।

एकातिर यसरी तालिम चलेको थियो भने अर्कोतिर गाउँ गाउँमा आदिवासी जनजातिहरुलाई जागरुक गर्ने अभियानमा पनि थियौं। पिँडीखोला गाविसको वडा नम्बर ९ मा पर्ने स्यालबासबाट सुरु भएको सचेतना कार्यक्रम सल्यान चितुङ स्यालढुङ्गा र सिस्नेरीमा पुगेर समापन भयो। स्यालढुङ्गा र सिस्नेरीमा भएको कार्यक्रममा केही मगर अनि अधिकांश गुरुङ जातिको सहभागिता थियो भने अन्य वडामा मगर जातिको सहभागिता थियो। रमाइलो कुरा के थियो भने वडा ४ मा पर्ने पातीखर्क र चितुङलाई लक्षित गरी चितुङमा गरिएको कार्यक्रममा दलितहरुको समेत उपस्थिति भयो। सचेतना कार्यक्रममा सन्दर्भमा राष्ट्रिय जनगणना २०६८ का बारेमा समेत धेरै कुरा भए। धर्मका विषयमा सबैभन्दा बढी कुरा उठे। मगर जातिको धर्म के गुरुङ जातिको खास धर्म के आत्मनिर्णयको अधिकार मगरात स्वायत्त प्रदेश तमुवान स्वायत्त प्रदेश अनि आइएलओ १६९ का बारेमा समेत कुराहरु चलेका थिए। जातीय जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी अब बन्ने नयाँ संविधानले गर्नुपर्दछ भन्नेमा सबैले सही थापेका थिए। ब्राम्हणवादी राज्यसत्ताले आफूहरुलाई पिछडिएको अवस्थामा पुर् याएको उनीहरुको आत्मबोली थियो। धर्मको झगडाले विखण्डन ल्याउने तर्फ उनीहरुको चिन्ता पनि देखिन्थ्यो। हामी आदिवासी÷जनजातिहरु बौद्ध र बोन धर्मका अनुयायी हौं भन्नेमा उनीहरु करिब सहमत देखिन्थे। यस्तै यस्तै अत्यन्त रोचक र उपलब्धिमूलक नै रहे दिनहरु।

यसरी नै अत्यन्त रमाइलो उत्साहपूर्ण तालिम कक्षा र सचेतना कार्यक्रमको एक हप्ता बितेको पनि पत्तै भएन। सबैसित घुलमिल भइसकेको मलाई अन्तिम समयमा आएर छुट्ने भन्ने बेलामा अलि नरमाइलो लागेको थियो। अन्तिम दिन २८ गतेको तालिम कक्षामा मैले बिदाइकै बारेमा कुरा गरेको थिएँ। पहिले त सबैजनालाई रमाइलो कुरा गरी हँसाइयो भने अलि पछि भावुक मुद्रा एकाएक देखियो। मेरो मात्र नभएर सबै प्रशिक्षार्थीको। म त बागलुङको दुर्गम ठाउँमा जन्मेको मान्छे स्याङ्जाको दुर्गम गाउँमा पुगेको थिएँ। कोही त यतिसम्म कि मसँग बोल्न समेत नखोज्ने किन भन्दा 'मुखबाट शब्दहरु नै ननिस्किएपछि के गर्ने सर आज असाध्यै नरमाइलो लागेको छ सर' कक्षामा सबैलाई बिदाइका शब्दहरु भनिसकेपछि औपचारिक समापन समारोहको आयोजना गरियो। त्यहाँ पनि सबैको उपस्थिति थियो। पिँडीखोलाका सक्रिय राजनीतिक दलदेखि शैक्षिक क्षेत्रका विभिन्न हस्तीहरु र सुरक्षाकर्मीसम्म थिए। एक हप्ताको अवधिमा सबैभन्दा राम्रो सहयोग नरोदय उच्च मावि र प्राचार्य हिमलाल न्यौपानेले गरेका थिए। अनि त्यस क्षेत्रमा विनोद भाइको नयाँ सम्भावनालाई धेरैले सलाम गरिरहेका थिए। सबैले विनोद रखालीमगर पिँडीखोलाको उदाउँदो तारा जसले समग्र पिँडीखोलाको भविष्य उज्यालो पार्नेछ भन्नेमा सबैको अटुट विश्वास थियो। उनलाई एक हिसाबले भन्दा असल नेता र नेतृत्वका रुपमा चित्रित गरेको पाएँ। असाध्यै खुशी पनि लाग्यो। सबैका भरोसायोग्य भाइ विनोदको पहल साथ र सहयोगले नै त्यो अभियान समग्रमा सफल भयो भन्ने मेरो ठम्याई हो। त्यस्तै अर्का धन्यवादका पात्र गाविस सचिव सुकदेव अर्याल जसले त्यो अभियानलाई साथ दिए। सबै पिँडीखोलाबासी दाजुभाइ दिदीबहिनीप्रति पनि मेरो आत्मीय सम्बन्ध बन्यो जसलाई मैले बिस्रनै नसक्ने भएँ। अन्त्यमा बाई बाई पिँडीखोला मौका मिले फेरि भेटौंला।