Home

बेलायतमा सर्वसाधारण गम्भीर आतंकित

E-mail Print PDF
AddThis Social Bookmark Button
२०११ अगष्त १४, देश बनाउन शताब्दियौं लाग्छ, तर बिगार्न?कुनै समय सूर्य कहिल्यै नअस्ताउने साम्राज्यका रूपमा चिनिने बेलायत यतिखेर गम्भीर संकटबाट गुज्रिरहेको छ। राजधानी लन्डनमा ठीक एक साताअघि उत्पन्न आगोको सानो फिलिंगो देख्दादेख्दै डढेलोमा परिणत भएको छ। तोडफोड, लुटपाट र आगजनीको शृंखला लन्डनका मुख्य बजार र चोक छिचोल्दै देशभर फैलिन लागेको छ। नागरिकको जीवनमा खास असर परेको नदेखिए पनि सर्वसाधारण आतंकित हुन थालेका छन्। व्यवसायी असुरक्षित महसुस गर्दैछन्। आफ्नो सुरक्षा प्रणालीका लागि गौरव गर्ने ब्रिटिसहरूको विश्वासलाई मुख छोपेर सडकमा उत्रेका आक्रोशित र उन्मत्त युवाले नराम्ररी हल्लाइदिएका छन्।
 
छुट्टी मनाउन विदेश गएका प्रधानमन्त्री र नगर प्रमुख कार्यक्रम छोट्याएर फर्किए। सप्ताहन्तको रमाइलोमा डुबेका गृहमन्त्री र प्रशासक आँखा मिच्दै काममा दौडिए। केही दिनअघिमात्र नेतृत्वविहीन भएका प्रहरी हतारहतार लौरो खोज्दै मैदानमा उत्रे। सबैका लागि यो नयाँ चुनौती थियो। पूर्वमेयर बिबिसीसँग भनिरहेका थिए, '३१ वर्षयता यस्तो घटना देख्नुपरेको थिएन।अरू देशमा भएका हडताल, लुटपाट, आगजनी, विद्रोह र विध्वंसलाई सधैँ टेलिभिजनका पर्दामा विस्मय र कौतुहलका साथ हेरिआएका अंग्रेजहरू आफैँ यस्ता घटनाको सामना गर्न विवश भए।पुनम क्षेत्री आफ्नो बर्थडे केक काट्दाकाट्दै बिबिसी टेलिभिजनद्वारा प्रसारित दृश्य देखेर भनिरहेकी थिइन्, 'छि, के भएको होला यस्तो? नेपालमा रोकियो, तर यहाँ पनि त्यस्तै देख्नुपर्‍यो। हिजोदेखि टिभी खोल्यो कि यस्तो मात्र देखिन्छ। यस्तो देख्यो कि म पहिलेको नेपाल सम्झिन्छु।मनोज आचार्यको पनि यस्तै अनुभव छ। राति कामबाट फर्किंदा उनले निकै हन्डर पाएछन्। उनको भनाइ छ, 'यो घटनाले त मलाई इराकमा केही नेपालीको हत्या भएका बेला काठमाडौंमा भएको लुटपाटको सम्झना गरायो। ऋतिक रोशन काण्डमा पनि यस्तै भएको हो।

विपत्ति आउन धेरै ठूलो निहुँ चाहिँदैन। यो दुर्घटनाको पछाडि पनि धेरै ठूलो कारण छैन। बेलायतको यतिखेरको पहिलो प्राथमिकता ओलम्पिक खेलको आयोजना हो। सरकारको सम्पूर्ण ध्यान र शक्ति यसैमा केन्द्रित छ। ओलम्पिक सम्पन्न गर्न पहिलो पूर्वाधार शान्तिसुरक्षाको प्रत्याभूति हो। सुरक्षामा सानो चुक हुँदा कैयौं देशले ऐतिहासिक अन्तर्राष्ट्रिय आयोजनाको अवसर गुमाउनुपरेको छ। यस्तै कारण कुनै समय म्युनिख र मस्कोका ओलम्पिकहरू विवादमा परेको इतिहास साक्षी छ। 

यतिखेर अमेरिकाझैं बेलायत पनि अन्तर्राष्ट्रिय आतंककारीको तारो बन्नसक्ने खतरा टड्कारै छ। इराकको आक्रोश मत्थर भए पनि तालिबान र कर्नेल गद्दाफीहरूको अस्तित्व मेटिएको छैन। अलकायदाको भूत पनि मडारिरहेको छ। त्यसैले, सरकार र प्रहरी प्रशासन स्वभावतः सुरक्षा व्यवस्थाप्रति विशेष सचेत देखिन्छन्। शंकास्पद क्षेत्रमा चेकिङ बढाइएको छ। यस क्रममा बढी सन्देहास्पद मानिस बस्ने ठाउँ भनी चिनिने टोटनहममा गत शनिबार राति जाँच गर्दा प्रहरीमाथि गोली प्रहार भयो। प्रत्युत्तरमा प्रहरीले गोली चलाउँदा मार्क दुग्गन भन्ने व्यक्तिको मृत्यु भयो। मृतक व्यक्ति शंकास्पद गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ। दाबी त के प्रमाणितै भए पनि कसैको हत्या गर्न प्रहरीले पाउँदैन। सरोकारवालाले यसलाई प्रहरी ज्यादतीका रूपमा लिए। तुरुन्तै एउटा जमात विरोध जनाउन प्रहरीकहाँ पुग्यो, अर्कातिर युवाको हुल विद्रोहको मुद्रामा तोडफोड, लुटपाट र आगजनीमा उत्रियो।

हालै मिडिया टाइकुन रुपर्ट मर्डोकद्वारा सञ्चालित ऐतिहासिक पत्रिका 'न्युज अफ दी वर्ल्ड' ले गरेको विवादास्पद फोन ह्याकिङ काण्डका सन्दर्भमा पनि प्रहरीले अपेक्षित भूमिका निर्वाह नगरेको देखिएको थियो। उक्त काण्डले १ सय ६८ वर्षको इतिहासमा कलंक बोक्दै त्यो पत्रिकाले मृत्युवरण गर्नुपर्‍यो। यसले प्रहरीप्रतिको सम्मानपूर्ण जनधारणा केही खस्केको छ। बौद्धिक समुदायमा असन्तोष बढेको देखेपछि, नैतिक जिम्मेवारी स्विकार्दै तत्कालीन प्रहरी प्रमुखले राजीनामा दिएका थिए। त्यसपछि गिरेको मनोबल उठ्न नपाउँदै भएको यो घटना प्रहरीका लागि अकल्पनीय चुनौती बनेको छ।

परिचय र अनुहारविहीन विप्लवी जमात र केही गुन्डा, लुटेरासामु एक समय झन्डै सिंगै संसार कब्जा गर्ने महाशक्ति राष्ट्रको प्रशासन निरीह भएको छ। प्रधानमन्त्री, गृहमन्त्री, मेयर, कार्यवाहक प्रहरी प्रमुखलगायतले लुटेरालाई कुनै हालतमा छुट नदिने र दोषीमाथि कारबाही हुने चेतावनी दिए पनि त्यसले कुनै असर गरिरहेको छैन। बरु नयाँ-नयाँ ठाउँ र ठुल्ठुला व्यापारिक केन्द्रमा दंगा फैलिँदै गएको छ। बिहीबार क्रोइडन १८६८ मा स्थापित पाँच पुस्तादेखि चलिआएको फर्निचरसम्बन्धी प्रसिद्ध कारखाना रिब्सलाई पनि खरानी पारियो। प्रधानमन्त्री डेभिड क्यामरुनले विप्लवीविरुद्ध कडा नीति अख्तियार गर्ने सम्भावना छ। हाल बेलायतमा कन्जरभेटिभ र लिबरल डेमोक्रेटिक पार्टीको संयुक्त सरकार छ। सरकारको नेतृत्व कन्जरभेटिभले गरेको छ।

लन्डन महानगरको एउटा चर्चित क्षेत्र हो। एउटा दुईतले बस असामान्य किसिमले सडकमा रोकिन्छ। चालकले हतार-हतार सबैलाई तुरुन्तै ओर्लन आग्रह गर्छ। असामान्य स्थितिबारे कुनै जानकारी नपाएका यात्रु अलमलमा पर्छन्। ओर्लिन इन्कार गर्छन्। कारण सोध्छन्। त्यो त चालकलाई पनि थाहा छैन। उसलाई यति निर्देशन आएको छ, 'त्यता असुरक्षाको खतरा छ, तुरुन्तै बस खाली गराऊ र ग्यारेज जाऊ।' ओर्लिन नमान्ने यात्रुप्रति चालक कठोर हुन्छ र आदेशात्मक स्वरमा भन्छ, 'तपाईंहरूकै हितका लागि हो, तुरुन्तै ओर्लनुस्, अप्ठ्यारोका लागि माफ गर्नुहोला।सबै ओर्लन्छन्। चालकले बस बेपत्तासँग कुदाउँछ। त्यसको पछिपछि एक हुल अश्वेत युवा आँधीझैं दौडिन्छन्। देख्नेहरू सबै अज्ञात, अनिष्टको आशंकाले त्रस्त हुन्छन्। भागाभागको स्थिति बन्छ। पसलेहरू ढोका थुन्छन्। एकैछिनमा आगोको लप्का देखियो। पसलका सिसा फुटेको आवाज आयो। घार्रघुर्र मानिस दौडिए। कोही पाखा लागेर रमिता हेरिरहे। 

आधा अनुहार ढाकेका युवा हातहातमा बियर, ल्यापटप र लट्ठी बोकेर उन्माद प्रकट गर्दै उफ्रँदै अर्कातिरबाट आए। ठूला सपिङ मलमा त हमला गरेनन्, तर साना पसल र रेस्टुरेन्ट बाँकी राखेनन्। लुटेराको मुख्य लक्ष्य रक्सी, ल्यापटप, आइफोन, ब्ल्याकबेरी र पैसा रहने गरेको छ। यहाँसम्म कि, उनीहरूले पूर्वी क्षेत्रको प्रतिनिधित्व गर्ने संसद हैदी अलेकजेन्डरको मूल सडकमा रहेको निजी कार्यालय फोडेर ल्यापटप लगेछन्। लुटेराले कतै आइफोन बीस-बीस पाउन्डमा बेचिरहेका छन्, कतै सय पाउन्डमा ल्यापटप। सबै ठाउँमा लुटेराको लगभग यस्तै प्रवृत्ति देखिएको छ।
 
के हो यो? विद्रोह हो? यस्तो पनि विद्रोह हुन्छ? कुनै लक्ष्य छैन, माग छैन, नेता छैन, संगठन छैन। सबै स्वतस्फूर्त। यो कुनै साम्प्रदायिक वा जातीय भावनाबाट प्रेरित दंगा पनि हैन। झट्ट हेर्दा यो फगत केही उपद्रवीको ताण्डवजस्तो लाग्छ। तर यो जसरी विस्तार भइरहेको छ, त्यो कुनै संगठित आन्दोलनभन्दा कम छैन। हाम्रोजस्तो देशमा भएको भए अहिलेसम्म कति नेता वा गुटले यो आफूहरूले गराएको भनी दाबी गरिसक्ने थिए होलान्। तर, वैयक्तिक स्वतन्त्रता र शान्तिसुरक्षालाई सर्वाधिक महत्व दिने समाजमा यस्तो अवाञ्छित काममा संलग्न हुनेलाई कसैले कुनै हालतमा स्विकार्दैन।

तर, अचानक कसरी यस्तो भयो त? यी युवा किन ज्यानको माया मारेर मैदानमा ओर्लिए? किन बहुलाए? यो प्रश्नले सबैको टाउको घोचिरहेको छ। यसलाई विद्रोह नै ठान्ने धेरै छन्। लामो समयदेखि यहाँका विभिन्न कम्पनीसँग आबद्ध आर्किटेक्ट सुभाष अधिकारीको तर्क छ, 'यो बढ्दो बेरोजगारीको परिणाम हो। बेरोजगारी र आर्थिक मन्दी। मन्दीका कारण सरकारले थुप्रै दरबन्दी कटौती गर्‍यो, जसले बेरोजगारीको संख्या बढ्यो। युवालाई बेरोजगारी भत्ता दिइन्छ। भत्ताले केही काम नगरी खान पुग्छ। यसले एकातिर उनीहरूको बानी बिग्रियो भने अर्कातिर बेकामे भनी उनीहरू आत्मग्लानिबाट ग्रस्त भए। आफ्नो अस्तित्वबोध नै उनीहरूलाई भइरहेको छैन। त्यसैले सिर्जना गरेको विसंगति हो यो।

उपद्रवीहरूलाई कसैको पनि पटक्कै डर छैन। अनुहार छोपेर आउँछन्, पसल फोड्छन्, लुट्छन्, आगो लगाउँछन् अनि चिच्याउँदै भाग्छन्। प्रहरी हेरेका हेर्‍यै हुन्छन्। नागरिक र व्यवसायी रमिते बनेर पाखा लाग्छन्। कसैले कसैलाई रोक्दैन। कुनै हस्तक्षेप गर्दैन। दुई दिनसम्म त प्रहरी पनि निरीहझैँ थियो। त्यत्रो ताण्डव मच्चिँदा पनि किंकर्तव्यविमूढ भएर बस्यो। मन्त्रिपरिषदबाट विशेष आदेश नआएसम्म प्रहरीले बल प्रयोग गर्न मिल्दैन भनियो।आक्रमणकारीमाथि हस्तक्षेप गर्दा झुक्किएर निर्दोष व्यक्तिमाथि असर पर्‍यो भने अर्को बबाल हुन्छ। त्यसैले प्रहरी निकै संयमित भए भने लुटेरा हौसिए। प्रहरीले दोषीलाई पक्राउ गरेर कारबाही गर्ने, तर घटनास्थलमा बल प्रयोग नगर्ने रणनीति बनायो। हुल्याहालाई खोजीखोजी मुन्ट्याउँदै लैजाने गर्छ। यतिखेर हरेक सडकमा प्रहरीका गाडी साइरन बजाउँदै लुटेरा पक्रन दौडिरहेका छन्। लुटेराको पहिचान गर्न हेलिकप्टर र कुकुरसमेत प्रयोग गरिएको छ।हिजो बेलुका म बसेकै घरअगाडि मूल सडकका पसलको सिसा फोडेर लुटपाट गरियो। सडकभरि सिसा र बियरका बोतल छरिएका थिए। चोरेका रक्सीका डब्बा फालिएका थिए। युद्धमैदानजस्तो भएको थियो। तर बिहान मर्निङ वाकमा जाँदा देखेँ, वातावरण पूर्ववत थियो- सफा, शान्त, स्निग्ध। मानौं केही भएकै छैन। तर, बेलुकासम्म वातावरण यस्तै नरहन सक्छ।