Home

अलग धारको खोजीमा ''बादल''

E-mail Print PDF
AddThis Social Bookmark Button

उजिर मगर, २०११ डिसेम्बर २४, एकीकृत माओवादीको दसवर्षे जनयुद्धकालमा एउटा नाम सधैं चर्चामा आइरहन्थ्यो, सैन्य क्षमता भएका व्यक्ति रामबहादुर थापा। लाहुरे पृष्ठभूमि, त्यसमा पनि मगर समुदायका। थापालाई त्यतिबेलै सैन्य विज्ञ उपमा दिइएको थियो। २०६० जेठ २८ गते। लामो समयपछि पहिलोपल्ट शान्ति वार्तामार्फत सार्वजनिक भएका थापाले खुलामञ्चमा भाषण ठोकेका थिए, 'प्रतिक्रियावादीहरूले बारम्बार भिडन्तमा मर्‍यो भनेर हल्ला गरे। मेरो टाउकोको मूल्य तोकियो। अहिले यहीँ आएको छु। म हुँ- बादल।

गुल्मी सदरमुकाम तम्घास वडागाउँमा २०१२ वैशाख १९ गते जन्मेका थापाका बुबा भारतीय सेनाका जागिरे हुन्। त्यसैले उनको बाल्यकाल भारतमै बित्यो। बुवाको अवकाससँगै परिवारको बसाइ चितवन सर्‍यो। थापाले स्थानीय शारदा माविबाट २०३१ सालमा एसएलसी उत्तीर्ण गरे।

रामपुर क्याम्पस भरतपुरमा आइएस्सी पढ्न जाँदा उनको भेट भएको थियो, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग। पहिलो भेटमै थापा दाहालसँग यति प्रभावित भएछन्, केही समयपछि दाहाल, मित्रराज दवाडी र खेम भण्डारीसँग नारायणी किनारमा मार्क्सवादी मण्डलीको स्थापना गर्दा उनको भूमिका महŒवपूर्ण बन्न पुग्यो। यो मण्डलीको त्यतिबेला कामै हुन्थ्यो, मार्क्सवादको अध्ययन गर्ने। उनीहरू त्यतिबेला चिनियाँ सांस्कृतिक क्रान्तिको पक्षमा थिए।

मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बालीविज्ञान (एग्रोनोमी) मा स्नाकोत्तर गर्न जाँदा थापा मार्क्सवाद पनि अध्ययन गरे। त्यतिबेला मार्क्सवाद सोभियत संघमा उत्कर्षमा थियो। उनलाई नजिकबाट बु‰नेहरू अहिले पनि भन्ने गर्छन्, 'सोभियत विकास उत्कर्षमा पुगेका बेला बादल त्यहीँ थिए। त्यसैले उनमा मार्क्सवादको प्रभाव निकै गहिरो छ।'

थापाले मस्कोमै छँदा नेपाल साम्यवादी दलमा रहेर काम गर्नसमेत भ्याए। नेपालमा ३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा हुँदा उनी नेपाल फर्केका थिए। त्यतिबेला उनी बहुदलको पक्षमा उभिए। २०३७ सालमा उनले दाहालको प्रस्ताव र अमिक शेरचनको समर्थनमा पार्टी सदस्यता लिए। उनी मोहनविक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा सक्रिय थिए।

कम्युनिस्ट पार्टीमा सुरक्षाका लागि भूमिगत नाम राख्ने चलन थियो। सदस्यता लिँदा रामबहादुर थापाको पहिलो भूमिगत नाम थियो, लाल सिंह। तर, पूर्णकालीन सदस्य भएपछि उनले आफ्नो नाम फेरेर 'आकाश' राखे। केही वर्षमै उनी यो नामबाट पनि अघाए। र, पछि आफ्नो नाम फेरि परिवर्तन गर्दै 'बादल' राखे।

बादललाई नजिकबाट चिन्नेहरू उनी ३६ सालको विद्यार्थी आन्दोलनबाट निकै प्रभावित भएको दावी गर्छन्। यही आन्दोलनमा नेपाली युवाको जोस देखेपछि थापा यो निष्कर्षमा पुगेका थिए- नेपालमा क्रान्ति सम्भव छ।

उनको राजनीतिक गति तीव्र देखिन्छ। विगतमा उनले जति नेतृत्व लिए, त्यो सबैमा उनी सफल भएका छन्। थापा ३८ सालको चुनाव बहिष्कार गर्ने क्रममा पहिलो पल्ट पक्राउ परेका थिए। त्यतिबेला १० महिना जेल बस्नुपरेको थियो, उनले। जेलबाट छुटेलगत्तै उनी जिल्ला कमिटी हुँदै चार महिनामा क्षेत्रीय ब्युरो सदस्य बनेका थिए। २०४२ सालमा तत्कालीन नेकपा (मशाल)को केन्द्रीय सदस्य बने। लगत्तै उनलाई राप्ती अञ्चलको जिम्मेवारी सुम्पिएको थियो।

२०४३ सालको सेक्टर काण्डले काठमाडौं उपत्यका अस्तव्यस्त भएको बेला पार्टीले उनलाई त्यसको एक वर्षपछि नै बागमती इन्चार्ज बनायो। त्यतिबेला उपत्यका देव गुरुङले हेर्थे। गुरुङलाई गण्डकी पठाउँदै एक दशक राप्ती बसेका थापालाई उपत्यकाको जिम्मेवारी सुम्पिएको थियो। राप्तीमा हुँदा उनले आफ्नै नेतृत्वमा 'सिज' (सिस्ने जलजला) अभियान चलाएका थिए। त्यतिबेला मगर समुदायले उनलाई राम्रो साथ दिए। अहिले पनि माओवादीमा भन्ने गरिन्छ, 'जनयुद्ध'को मुख्य जग नै पछि गएर त्यही अभियान बन्न पुग्यो।

थापालाई पहिलो पटक भेट्दाको सम्झना गर्दै पोलिटब्युरो सदस्य लोकेन्द्र विष्ट मगर भन्छन्, 'ओहो, त्यो बेला बादलजी त हाम्रा लागि फिल्मी हिरो। त्यति सुकिला मगर त कम्युनिस्ट भए, हामी किन नहुने भनेर पछि लागियो।'

कुशल संगठक मानिने थापाले जहाँ खतरा भनेर औंल्याएको क्षेत्र हो, त्यहीँ कमान्ड लिएको इतिहास छ। उनले राप्ती हुँदै उपत्यका विशेष पूर्वी क्षेत्रको पूरै कमान्ड गरेका छन्। पहिलो संकटकाल घोषणा हुँदा थापा पाटनको नःटोलमा बस्थे। त्यहाँ उनलाई लामो समय कसैले चिनेनन्। उनलाई प्रायले चिनियाँ व्यापारी भन्ठान्थे। उनका सहयोगीका अनुसार जति ठूलो आक्रमण, घेरामा परे पनि उनी हडबडाउँदैनथे।

उनले पूर्वी कमान्ड सम्हाल्दा त्यो क्षेत्र निकै अस्तव्यस्त मानिन्थ्यो। उनी गएपछि त्यो क्षेत्रमा निकै सुधार आयो। माओवादीबाट अलग भएका संस्कृति मन्त्री गोपाल किराती माओवादीमा आउनुमा थापाको योगदान मानिन्छ। 'माओवादी पार्टी अघि बढ्नुमा बादलको ठूलो भूमिका छ। म उहाँलाई सधैं सम्मान गर्छु,' २०६० सालमा भूमिगत अवस्थामा रहँदा किरातीले भनेका थिए।

बाबुराम भट्टराई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टीको निर्णय हुँदा किरातीले थापालाई प्रधानमन्त्री बनाउनुपर्नेमा मत जाहेर गरेका थिए। किराती पछिल्लो पटक अध्यक्ष दाहाल पक्षबाट संस्कृति मन्त्री बनेका छन्। जनयुद्ध' सुरु भएको एक वर्ष मात्र पूरा भएको थियो, एकाएक थापाको चर्चा आयो, अर्को रूपमा। ०५३ पुसमा लखनउमा भएको पोलिटब्युरो बैठकमा थापा र पम्फा भुसालको यौनकाण्ड छताछुल्ल भयो। ०५३ मा दाहालको छोरीको विवाह र केही हप्ताभित्र कानपुरमा भएको मोर्चाहरूको बैठकमा थापा र भुसालबीचको सम्बन्ध तल्लो तहसम्म पुग्यो।

रोल्पाकी एक केन्द्रीय सदस्यले थापालाई यौनकाण्ड लागेपछिको अनुभव यसरी सुनाइन्, 'त्यतिबेला हामी रातभर हिँड्ने अवस्था थियो। यो सुनेर दिनभर सेल्टरमा रुन्थ्यौं।' थापालाई ०५३ चैतमा फरिदावादमा भएको पोलिटब्युरो बैठक (पिबी)ले यौन अराजकताको आरोपमा अनुशासनको कारबाही गरेको थियो। २०५४ असारमा फरिदावादमै भएको पिबी बैठकले थापा-भुसाल यौनकाण्डलाई राजनीतिक रूपमा 'लिन प्याओवादी उन्मुख प्रवृत्ति' भनी थप कारबाही गर्‍यो।

पार्टीले थापा-भुसाल यौनकाण्डबारे दस्तावेजीकरण गर्दै भनेको छ, 'जहाँसम्म अहिले उहाँहरूले एकअर्काप्रति लगाएका आरोप छन्, मुख्यतः कमरेड बादलले कमरेड हिमानीलाई लगाएको भयानक षड्यन्त्रकारी र सफल खेलाडीको आरोप तथा कमरेड हिमानीले कमरेड बादललाई लगाएको उपभोगवादीको आरोप ती उपरोक्त गल्ती कमजोरीकै सन्दर्भसँग सम्बन्धित भएकाले आआफ्ना गल्तीको पश्चाताप र आलोचनापछि तिनको खास औचित्य देखिन्न।'

यौनकाण्ड पुष्टि भइसकेपछि थापा र भुसालबीच चर्को आरोप प्रत्यारोप भएको थियो। २०५६ साल पुसमा जालन्धरमा शुद्धीकरण अभियान बैठकको पूर्वसन्ध्यामा थापालाई केन्द्रीय सदस्यमा लिने निर्णय भयो।

२०५८ साउनमा रविन्द्र श्रेष्ठले थापालाई एकाएक पार्टीमा स्थापित गर्ने प्रस्ताव ल्याएपछि उपत्यकामा हलचल नै मच्चियो। थापालाई स्थापित गर्ने प्रस्ताव २०५८ कात्तिकमा फरिदावादमा भएको पोलिटब्युरो बैठकमा राख्दा वैद्य, थापा र रविन्द्र एकतिर थिए।

२०६० मा पार्टीले राजा ज्ञानेन्द्रसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव अघि सारेपछि थापालाई वार्ता टोलीमा समावेश गरिएको थियो। त्यतिबेला दरबारले बाबुरामलाई छोडेर थापालगायतसँग मात्रै भेट्ने प्रस्ताव अघि सारेको थियो। यसले भट्टराईसँग अन्तर्विरोध चर्किन पुग्यो।

अहिले भट्टराई मात्र होइन, थापालाई मूल्यांकन गर्ने विषयमा दाहालसँग पनि विवाद बढेको छ। ०६१ असारमा इलाहावादमा दाहाल, भट्टराई दीनानाथ शर्मालगायतले मुख्य समस्या केन्द्रमा थापा रहेको आशंका गरेका थिए। थापालाई हेडक्वार्टर कब्जा गर्न भट्टराईले उक्साएको आशंका पनि गरिएको थियो। त्यतिबेला पनि पूर्वी कमान्डबाट थापाले दाहालसँग भेट गर्दा भट्टराई सशंकित बन्ने गर्थे।

यति हुँदाहुँदै पनि अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईले उनीप्रति मूल्यांकन गरिरहेको देखाउँछ। आफ्ना कमान्डरको कमान्ड कहिलेकाहीँ उल्लंघन गरेको भन्दै चुनबाङको चर्चित बैठकमा थापाले आत्मालोचना गरेका थिए।

चुनाबाङ बैठकमा अध्यक्ष दाहालसँगको सम्बन्धका विषयमा उनले भनेका छन्, 'कमरेडहरू, म मगर जातिबाट आए"। मगर परिवारमा जन्मन खोज्ने मेरो इच्छा त थिएन। म मगर जातिको परिवेश र संस्कारसहित आए"। अध्यक्ष प्रचण्ड, तपाईं ब्राह्मण परिवारमा जन्मेर आउनुभयो। तपाईं पनि ब्राह्मण परिवारमा जन्मिन्छु भनेर जन्मनुभएको होइन। त्यो ऐतिहासिक परिवेश र संस्कारसहित तपाईं आउनुभयो र इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो। हाम्रो फ्युजन भयो आफ्ना सीमा र संस्कारसहित। मार्क्सवादबारे हामीबीच अन्तर्विरोध छैन तर संस्कारहरूमा अन्तर्विरोध छ।

शान्ति प्रक्रियापछि थापा केही समय सार्वजनिक कार्यक्रममा देखिएनन्। धेरैले शंका गरे, थापा कहाँ छन्? ०६२/६३ पछि उनी एक्कासि साउनमा सार्वजनिक भए, मगरात मुक्ति मोर्चाको पाल्पा अधिवेशनमा। सञ्चार माध्यममा आउन खासै नरुचाउने थापा ०६५ सम्म दुई पटक मात्र टेलिभिजनमा देखिए, ०६० सालको शान्ति वार्ताताका नेपाल टेलिभिजनको 'दिशानिर्देश' र ०६४ मा कान्तिपुर टेलिभिजनको 'बहस' कार्यक्रममा।

अन्तरिम संसदमा सभासद छान्ने जिम्मा थापाको थियो। संविधानसभाको चुनावमा प्रत्यक्ष/समानुपातिक उम्मेदवार छान्ने जिम्मा पनि थापाले पाएका थिए। थापा चितवनको क्षेत्र नम्बर २ बाट विजयी बने। बाहिरी सैन्य विज्ञको दर्जा पाएका थापा गणतन्त्र नेपालको पहिलो मन्त्रिपरिषदमा रक्षा मन्त्री बने।

संविधानसभाको ठूलो दल माओवादीले सरकार नेतृत्व गरिरहेका बेला थापाकै मन्त्रालय अन्तर्गत रहेका तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाललाई पदच्युत गर्ने प्रस्ताव ल्याइएको थियो। तर, उनले प्रधान सेनापतिलाई पदच्युत गर्दाको परिणाम के हुन्छ, अनुमान गर्न सकेनन्।

बालाजु, खरिपाटी बैठकमा थापा पार्टीलाई एकढिक्का बनाउने काममा सक्रिय थिए। चुनबाङमा थापाले दाहालसँग गरेको प्रतिबद्धतालाई आत्मसात गर्दै दाहालकै पक्षमा रहने आकलन गरिएको थियो। पार्टी बहुपदीय ढाँचामा जाँदा थापा पार्टीको शक्तिशाली पद महासचिवमा आए। खरिपाटीमा १७ दाहाल र १७ वैद्य पक्षमा हुँदा थापा तटस्थ बसेका थिए। त्यही नजिरलाई टेकेर माओवादीमा विवाद आउँदा एउटा जमात भन्ने गर्थ्यो, 'पार्टी फुटाउनु हुँदैन। हामीले बादल दाइले जस्तो भूमिका खेल्नुपर्छ।

पालुङटार बैठकमा थापा दाहालसँगै थिए। तर, 'शान्ति र संविधान' भन्दै दाहाल भट्टराईतर्फ लागेपछि थापाले आफ्नो कित्ता 'क्लिएर' पारेका छन्। धोबीघाट समीकरण छिन्नभिन्न भएपछि थापा अहिले वैद्य समूहको नेतृत्व गर्दैछन्।

बीचमा बस्दा 'मध्यमार्गी' भइने। आफ्नो धार नहुने निश्कर्षमा थापा पुगेको उनका पुराना सहयोगी बताउँछन्। थापा अहिले पार्टी नेतृत्वले 'जनमुक्ति सेना' विघटन गरेको, पार्टीले चाहेको संविधान निर्माण हुन नसक्ने निष्कर्षमा पुगिसकेका छन्। र, उनले संविधान घोषणाकै दिन पार्टीमा विद्रोह हुने घोषणा गरिसकेका छन्। थापा अहिले वैद्य विचार समूहको मियो बनेका छन्। भनिन्छ, वैद्य र थापाबीच छिट्टै नै पारिवारिक नाता गाँसिदैछ। यही पारिवारिक, वैचारिक एकतासँगै थापाको भावी राजनीतिक यात्रा तय हुनेछ।शनिबार बस्ने बैठकको पूर्वसन्ध्यामा थापा निकै अघि बढिसकेका छन्। चुनबाङ बैठकले गरेको निर्णय 'अन्तरिम सरकार, संविधानसभा, संघीय गणतन्त्र र नयाँ संविधान निर्माण' गर्ने उद्देश्य यही बैठकले छिनोफानो गर्दैछ। तर, थापा त्यही विषयमा अहिले फरक देखिएका छन्।