Home

मुर्दाको व्यापार

E-mail Print PDF
AddThis Social Bookmark Button

 

सुन्दै कति दिक्कलाग्दो! मुर्दाको व्यापार! बाँचुञ्जेल मुर्दाको जस्तै जीवन बाँच्ने सामान्य मानिसले मरेपछि पनि विश्रान्ति पाउँदैन। अझ मरेपछि त उसको मूल्य चर्किन्छ। जीवनभर पाँच हजार कमाउने सपना देख्ने मानिसको हाडखोर पाँच लाखमा बिक्छ। अनि यस्तो व्यापार हुन्छ अस्पतालमा। मुर्दाको वैधानिक मूल्य थोरै भए पनि अवैधानिक मूल्य अकासिन्छ। मानवीय संवेदना शून्य हुँदै गएको आजको समयमा मुर्दाको व्यापार...

महेश चौरसियाको सहयोगमा राजन नेपालको खोजपूर्ण विवरण :

 

जेठको टन्टलापुर घाममा छेलिँदै गत साता हामी महाराजगञ्जको शिक्षण अस्पताल परिसरभित्र रहेको एनाटोमी विभागअगाडि झाडीनजिक उभिइरहेका थियौँ। झाडीमा भर्खरै खोसि्रएको जमिनमाथि हाडखोर छरपष्ट थिए। हामी यताउति हेर्दै टहलिरहेको देखेपछि एकजना युवा हाम्रो नजिकै आए। उनको पहिलो प्रश्न थियो, 'दाइहरूलाई हड्डी चाहिने हो?' हामीलाई जुन विषयमा जानकारी चाहिएको थियो, त्यही विषय बताउन सक्ने मानिस टुप्लुक्क अगाडि आएकाले हामी ढुंगा खोज्दा देउता मिलेजस्तै दंग पर्‍यौँ।

ती व्यक्तिले अर्काे प्रश्न तेर्स्याए, 'दाइहरूलाई कति हड्डी चाहिने? पूरै सेट चाहिने कि पार्ट-पार्ट चाहिने?' उनी एकोहोरो बोलिरहेका थिए। हामीले पूरै सेटको लागि कति समय कुर्नुपर्छ भनेर सोध्यौँ। 'रेट मिलाउनुस्, हामी छिट्टै व्यवस्था मिलाइदिन्छौँ,' उनले भने, 'पूरै सेट त महँगो पर्छ।' कति पर्छ? हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै उनले भने, 'त्यस्तै चार पाँच लाख पर्छ। तपाईँहरू मेडिकल कलेजबाट आएको भए माथि सर (एनाटोमी विभागका प्रमुख) सँग कुरा मिलाएर आउनुस्। होइन भने, तलैबाट पनि मिल्छ।'

उनको कुरा सुन्दा यस्तो लाग्थ्यो, उनी बारीको तरुल बेच्न बसेका किसान हुन्, जसले ग्राहकले भन्नेबित्तिकै खनेर दिन्छ। उनी तरुल खनेजस्तै मानव चिहान खनेर हाम्रो अगाडि हड्डीको थुप्रो लगाउन तयार थिए।

भनिन्छ, मान्छे मरेपछि उसले सांसारिक दुःखबाट पूर्ण रूपमा मुक्ति पाउँछ। मरेपछि पनि पाप र धर्मका आधारमा मानिसले सुख या दुःख भोग गर्ने धार्मिक विश्वास नभएको होइन। तर, मृत्युपछि निर्जीव वस्तुमा परिणत हुने मानव शरीर बेचेर खानेहरू पनि छन् यहाँ। मानवीय संवेदनाको चरम पतन हो यो।

जिउँदाको त सुरक्षाको ग्यारेन्टी नभएको मुलुकमा मरेकाहरूको के सुरक्षा? जति सजिलैसँग यसो भन्न सकिन्छ, यसभित्रको यथार्थ त्यत्तिकै कुरूप छ। अस्पतालका बेवारिसे लाश सनाखत हुन नसकेपछि त्यसलाई चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूले चिरफार गरेर व्यावहारिक ज्ञान हासिल गर्ने काम वर्षाैँदेखि चलिरहेको छ। विद्यार्थीको हकमा यो विषयमा कसैले पनि आवाज नउठाए पनि परिस्थिति बदलिएको छ। हप्तामा औसत तीनदेखि चारवटा सम्म बेवारिसे लास आउने शिक्षण अस्पतालमा सबै लास विद्यार्थीको ज्ञान बढाउनमात्र हाजिर हुने गरेका छैनन्। देशका विभिन्न मेडिकल कलेजले पनि यहीँबाट लास लिएर जान्छन्। महाराजगञ्ज शिक्षण अस्पतालले १५ विद्यार्थी बराबर एउटा लास चिरेर विद्यार्थीलाई अध्ययन गराए पनि अन्य मेडिकल कलेजले ५० जना बराबर एउटा लासको चिरफार गर्छन्। एमबिबिएस अध्ययन गर्ने विद्यार्थीले एनाटोमी विषयअन्तर्गत लास चिरफार गरेर अध्ययन गर्नुपर्ने चिकित्सक बताउँछन्।

मेडिकल कलेजले विभागबाट एउटा लास लिएर जान लास फ्रिजमा राखेको खर्च २१ हजार र लास नकुहियोस् भनी प्रयोग गरिएको केमिकलहरूको खर्च १६ हजार गरी ३७ हजार रुपैयाँ बुझाउनुपर्छ। तर, थोरैले मात्र यति रकममा लास पाउँछन्। स्रोतका अनुसार उपत्यकाभित्रका मेडिकल कलेजहरूले कम्तीमा पनि एक लाख रुपैयाँ नतिरी लास लान पाउँदैनन्।

 

महाराजगञ्ज क्याम्पस एनाटोमी विभागका प्रा. रामप्रसाद उप्रेती पहिले-पहिले लासलाई कुहिनबाट जोगाउन प्रयोग गरिने केमिकलको खर्च लिएर मेडिकल कलेजहरूलाई लास उपलब्ध गराउने गरिएको बताउँछन्। 'म क्याम्पस चिफ हुँदा पैसा लिएर बेच्ने गरिएको थिएन,' उनले भने, 'कतिलाई त न्यूनतम खर्च समेत नलिई दिने गरिएको थियो।'

सनाखत नभएका शवलाई ३५ दिनसम्म अस्पतालको मुर्दाघरमा राखिन्छ। यति समयसम्म कसैले शवमाथि दाबी नगरेपछि मृत शरीरलाई झाडीमा गाडिन्छ। सनाखत नभएको शव गाड्ने, कुहिएपछि हड्डी निकाल्ने, पखाल्ने, सुकाउने र बेच्नका लागि तयार गर्न चार जनाको टोली नै खटिएको छ, शिक्षण अस्पतालमा। जमिनमा गाडिएको लास कहिले कुहिएला र बाहिर निकालौँला भन्दै कुर्नेहरू छन्। हड्डी र मासु छुट्टिएपछि चिहानबाट मानिसको हाडखोर बाहिर निकालिन्छ।

 

शव गाड्ने काममा खटिएका एक कर्मचारीका अनुसार यसरी निकालिएको हड्डीलाई एउटा ठूलो भाँडोमा उमालिन्छ। राम्ररी उमालेपछि हड्डी थोरै पहेलो रङको हुन्छ। हड्डीलाई उमालेपछि हड्डीमा भएको क्याल्सियम माथि आउने गर्छ। पहँेलो बनेको हड्डीलाई एक हप्तासम्म घाममा सुकाइन्छ। त्यसपछि हाइड्रो क्लोरिक एसिड मिसिएको पानीमा हालेर हड्डीलाई पोलिस गर्ने गरिन्छ। त्यसपछिमात्र त्यो हड्डी प्रयोग गर्न मिल्ने हुन्छ। शिक्षण अस्पताल फोरेन्सिक विभागका डा. प्रमोद श्रेष्ठका अनुसार हप्तामा तीनदेखि चारवटा बेवारिसे शव पोस्टमार्टमपछि गाड्ने गरिएको छ।

एक चिकित्सकका अनुसार पछिल्लो समय नेपालभित्रकै शिक्षण अस्पतालमा मानव हड्डीको माग बढेको छ। स्रोतका अनुसार चिहानबाट हड्डी उत्खनन र यसको बिक्रीमा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरूको मिलेमतो छ। विद्यार्थीका लागि प्य्राक्टिकल गर्ने हड्डी कहाँबाट कसरी आउँछ भन्ने प्रश्नमा शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक विमलकुमार सिन्हाले भने, 'जहाँबाट पनि पाइहालिन्छ नि। हड्डीको के समस्या छ र?' अस्पताल हाताभित्रै चिहान खन्दै हड्डी निकाल्ने गरिएको सर्न्दभमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिन मानेन्।

 

मेडिकल साइन्स अध्ययन गरिरहेका विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न प्लास्टिकका मानव आकारका हड्डी बनाइएको हुन्छ। त्यस्ता कृत्रिम हड्डीमा विविधता र सत्यता कम मिल्ने भएको भन्दै गैरकानुनी रूपमै यस्तो हड्डीको प्रयोग गर्ने गरिएको छ। तस्करहरूले समेत चिहानबाट हड्डी संकलन गरेर शिक्षण अस्पताल र मेडिकलका विद्यार्थी हड्डी बेच्ने गरेका छन्। मानव हड्डीको खरिदबिक्री गैरकानुनी हो।

'सनाखत भए पनि, नभए पनि जो कसैको चिहानबाट हड्डी झिकेर त्यसको प्रयोग र किनबेच गर्नु गैरकानुनी मानिन्छ,' अधिवक्ता टिकाराम भट्टराईले भने, 'मृत शरीरको कुनै अंग वा हड्डीको प्रयोग अथवा किनबेच गर्न नेपालको कानुनले अनुमति दिँदैन।' अधिवक्ता भट्टराईले मानव हड्डीलाई जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न मिल्ने कानुनी प्रावधान नभएको अवस्थामा त्यसको किनबेच गर्नु त झन् ठूलो अपराध भएको बताए। 'सनाखत भइसकेको शव आफन्त वा परिवारजनको सम्पत्तिको मानिन्छ र सनाखत नभएका बेवारिसे शवलाई राष्ट्रको सम्पत्ति। यसलाई सरकारले नै सद्गत गर्नुपर्छ,' अधिवक्ता भट्टराईले भने।

हड्डीको व्यापार

हड्डीबाट बनाइएका सामग्री युरोप, मध्यपूर्वी देश तथा तिब्बत निर्यात पनि हुने गरेको पाइन्छ। मानव खप्परमा चा"दीले कभर गरेर आकर्षक कचौरा निर्माण गरी युरोपका केही देश र मुख्यतः स्थलमार्गबाट तिब्बतको नाका हु"दै चीन जाने प्रहरी अधिकारीहरू बताउ"छन्। हवाईमार्गबाट र पार्सलबाट समेत बाहिरिने गरेको उनीहरूको अनुभव छ।

मुस्लिम राष्ट्रहरूमा घर वा पसलमा मानव खप्पर राख्दा शुभ हुने विश्वास रहेकाले यसको माग हुने गरेको प्रहरी अधिकारी बताउ"छन्। केही पर्यटकले सजावटको सामग्रीका रूपमा प्रयोग गर्नसमेत मानव खप्पर किन्ने गरेका छन्।

कच्चा मानव खप्पर प्रतिगोटा पा"च हजारसम्ममा बजारमा किन्न पाइने भए पनि चा"दीले कभर गरेको खप्पर ५० हजारसम्ममा बिक्री हुने एक जानकारले बताए।

मानव हड्डी तस्करीको यदाकदा सूचना प्राप्त भए पनि प्रहरीले पछिल्लो समयमा कसैलाई पनि पक्राउ गर्न सकेको छैन। डेढ वर्षअघि मानव हड्डी तस्करको एक समूहलाई प्रहरीले पशुपतिको जंगलबाट पक्राउ गरेको थियो। बोरामा हालेर मान्छेको हड्डी लिएर जाँदै गरेको अवस्थामा तस्करहरूको एक समूह पक्राउ परेको थियो। 'बोरामा मान्छेको हड्डी बरामद हुँदा मानव हड्डीको कारोबार गर्नेमाथि कस्तो मुद्दा चलाउने भन्ने बारेमा नै अन्योल भयो,' हनुमानढोका प्रहरी परिसरका डिएसपी अरुणकुमार बिसीले भने, 'पछि सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो।'

अस्पष्ट कानुनी व्यवस्थाका कारण पक्राउ परेका अभियुक्तहरूसमेत सहजै धरौटीमा रिहा हुने गरेकाले प्रहरीले हड्डीको रहस्यमय व्यापारको सञ्जाल भत्काउन त्यति चासो देखाउन सकेको छैन।

लामो प्रयासपछि अभियुक्तहरू पक्राउ परे पनि सार्वजनिक अपराध ऐन, २०२७ को अस्पष्ट दफाहरू लगाउन बाध्य छ। सार्वजनिक अपराध जिल्ला प्रशासन कार्यालयले हेर्ने र सो ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले अधिकतम २८ हजार रुपैयाँ जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय मात्र गर्नसक्ने कानुनी प्रावधान छ। यो कानुनमा टेकेर अभियुक्तहरू सहजै धरौटीमा रिहा हुने गरेका छन्।

केही वर्षअघिसम्म नेपालमा समातिने मानव हड्डी भारतबाट आउने गरेको दाबी गर्थे प्रहरी। तर, अहिले अस्पताल परिसरमै गाडिएका लास खोतल्न थालिएपछि त्यो डाक्टर पढ्ने विद्यार्थीले मात्र व्यावहारिक ज्ञान हासिल गर्न प्रयोग गरिरहेको छ भनेर पत्याउन गाह्रो छ। पशुपतिनाथ पारिपट्टि रहेको चिहान पनि बेला-बेलामा खनिने गरेको तथ्य सार्वजनिक हुने गरेको छ। त्यहाँ रहेका पक्की चिहान सुरक्षित रहे पनि मृतकलाई माटोमात्र पुरेर छोड्नेहरूको हाडखोर बेचेर खान पल्केकाहरूले थुप्रै चिहान उधिनिसकेका छन्।

 

श्रोत नागरिक