
24/09/2009 15:16:00
माधवजी, करिब दुई वर्षअगाडि तपाईं एक दिन मेरो क्लिनिकमा आउनुभएको थियो। त्यतिवेला नयाँ सरकार बन्ने कुरा चलिरहेको थियो। तपाईंले मलाई भन्नुभएको थियो, 'डाक्टरसा'ब हामी तपाईंका लागि के गर्न सक्छौँ ?'
मैले भनेको थिएँ, 'माधवजी, मलाई कुुनै पद अफर नगर्नूस्। मैले नाइँ म पद लिन्न भन्नुपर्छ। तपाईंलाई पनि पद दिँदा पनि लिएन भनेर चित्त दुख्न सक्छ। मलाई पनि अस्वीकार गर्नुपरेकोमा दुःख लाग्न सक्छ। र, अन्ततः हामीबीचको मित्रता गायव हुन सक्छ। तसर्थ मलाई पद अफर नगर्नूस्।'
त्यतिखेर मैले भनेको थिएँ, म यौटा कुरा तपाईंसँग माग्छु, 'म तपाईंलाई कुनै पनि वेला जे भन्छु त्यो सुनिदिनुहोला, त्यसमाथि मनन गर्दिनुहोला।'
माधवजी, आज तपाईंलाई म त्यही कुराको सम्झना दिलाउन चाहन्छु। आज नयाँ पत्रिकामार्फत म तपाईंलाई तपाईंले मलाई दुई वर्षअघि दिनुभएको वचन र प्रतिज्ञाको हेक्का दिलाउन चाहन्छु। त्यतिखेर तपाईंले मलाई वचन दिनुभएको थियो, 'तपाईंको कुरा अवश्य सुन्नेछु।' माधवजी, के तपाईं मेरा कुरा सुन्दै हुनुहुन्छ ? तपाईं मेरा कुरामाथि मनन गर्न तत्पर हुनुहुन्छ ?
तपाईंसँग मेरो सम्बन्ध ०४६ सालदेखि निरन्तर रहेको छ। तपाईं र म ०४७ सालको चुनावपछि एमालेले चुनाव प्रचारका क्रममा पर्खालमा लेखेका नारा मेट्न चुनपानी बोकेर थापाथलीमा पुगेका थियौँ। त्यसलाई सम्झनुहोस्, म तपाईंको त्यतिसम्म सहयोगी हुँ।
तपाईंसँग मैले मित्रता गर्दा तपाईंको इमानदारी देखेर गरेको थिएँ। मैले तपाईंको घर देखेको थिएँ, तपाईंको घरको अवस्था देखेको थिएँ। तपाईं कुनै भ्रष्टाचारमा मुछिनुभएको थिएन, घुसखोरीमा मुछिनुभएको थिएन। त्यस अर्थमा म तपाईंको निकट थिएँ। मित्रका रूपमा र डाक्टरका रूपमा। आज तपाईं सरकारप्रमुख हुनुहुन्छ। अब तपाईंले त्यही इमानदारी देखाउनुपर्यो, त्यही सत्यवादिता र धर्म देखाउनुपर्यो।
तपाईं जेमा पनि हार्नुभएको हो। तपाईंले हार्नुभयो, मलाई दुःख लाग्यो। तपाईंजस्तो नेता हार्नु नहुने, तर कतै कमी-कमजोरी भएर हार्नुभयो होला। त्यतिवेला मैले तपाईंलाई सोधेको थिएँ, 'तपाईंले महासचिव पदबाट किन राजीनामा दिनुभयो ?'
हो, मैले तपाईंलाई त्यतिखेर भनेको थिएँ, 'कांग्रेस झन् नराम्ररी हारेको थियो। गिरिजाप्रसाद कोइरालाले त राजीनामा दिएनन्। तर, तपाईंले ठूलो नैतिकता देखाउनुभयो।' आज तपाईंले त्यही नैतिकता फेरि देखाउने वेला भएको छ।
भावुक प्रचण्डले तपाईंलाई व्यवस्थापिका संसद्मा ल्याए। संविधान मस्यौदा समितिका सभापति बनाएर तपाईंलाई भारतका बाबासाहेब अम्बेडकरझैँ हुने मौका प्रदान गरिदिए। नयाँ नेपालको नयाँ संविधानका निर्माता हुने मौका त्यत्तिकै दिइएको होइन। तपाईंलाई कति आदर र कदर गर्यो माओवादीले, त्यो हामीले बुझेका छौँ, तपाईंले पनि बुझ्नुपर्ने हो। तपाइर्ंर् स्वयंले त्यो पद र आदरलाई बेवास्ता गर्नुभयो।
तपाईं आत्मा साक्षी राखेर भन्नूस्- के त्यो पदमा माओवादीको अधिकार थिएन ? संविधानसभा कसको मुद्दा हो, कसको प्रेस्त्रिmप्सन हो ? माओवादीबाहेक गणतन्त्र कुन दलको एजेन्डा थियो ? तपाईंको त कर्तव्य थियो संविधान मस्यौदा समितिको अध्यक्षमा माओवादीका व्यक्तिलाई ल्याउनु। तर, तपाईं प्रधानमन्त्रीको सानो पद सुरक्षित गर्न कांग्रेसको पछि लाग्नुभयो र यति ठूलो अनैतिक काम गरिदिनुभयो।
तपाईं आफ्नो धर्म सम्झेर भन्नूस्- तपाईंले गलत गर्नुभयो कि गर्नुभएन ? तपाईंंको यस अनैतिकताका कारण तपाईं मेरो नजरमा दस गुना तल झर्नुभयो। कुनै समयको निकट मित्रलाई यसरी आफ्ना नजरबाट झार्नुपरेकोमा मलाई दुःख लागेको छ, माधवजी ! तपाईंले पछि बुझ्नुहुनेछ- मान्छेको नजरबाट खस्नुको अर्थ के हुन्छ। आज तपाईं प्रधानमन्त्री हुनुहुन्छ, आर्मीको स्यालुट खाएर हिँड्नुहुन्छ, तर पद त दुई दिनको घामछाया मात्रै हो, माधवजी ! आचरण, नैतिकता, इज्जत त्यागेपछि, जनताको नजरबाट झरेपछि मान्छे कहाँ पुग्छ, त्यो तपाईंले बुझ्नुपर्यो।
तपाईंले गर्नु/नगर्नु गरिहाल्नुभयो, तर अझै पनि जनताको नजरमा माथि उठ्ने प्रयत्न गर्न सक्नुहुन्छ तपाईं। अब पदलाई दाउमा राख्नूस्। तपाईं प्रधानमन्त्री भइहाल्नुभयो। तपाईं भूतपूर्व प्रधानमन्त्री हुने अवस्थामा पुगिहाल्नुभयो, भूतपूर्व प्रधानमन्त्रीले पाउने सुविधा पाइहाल्नुहुन्छ। तपाईंले कुनै पनि हालतमा नपाउने पद पाइहाल्नुभयो। कांग्रेसको गुन मानिहाल्नुभयो। गिरिजाप्रसाद कोइरालाको चाकरी पनि गर्नुभयो। पछाडिको ढोकाबाट फर्काइ पनि पाउनुभयो। इज्जत र बेइज्जत पर्याप्त देख्नुभयो। प्रधानमन्त्री भएर भारत र अमेरिका पुग्नुभयो। बाराक ओबामालाई पनि भेट्नुभयो नै होला। यौटा साधारण नेपालीको छोराले देख्ने सपना पूरा गरिसक्नुभएको छ, तपाईंले।
अब तपाईंलाई त्यो पद काम छैन। त्यसैले त्यसलाई दाउमा राख्नूस्। यसै पनि त्यो पद सधैँ रहने होइन। अब संकल्प-प्रस्तावलाई तुरुन्तै ल्याउनूस्। कांग्रेसले जति विरोध गरे पनि त्यसलाई संसद्मा ल्याउनुहोस्। तपाइर्ंकै पार्टीका अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले भनिरहेका कुरा मनन गर्नुहोस्। तपाईं खड्ग ओलीको पछि नलाग्नूस्, आफ्नै पार्टीका नेता भए पनि। खड्ग ओलीले तपाईंलाई खत्तम पार्छन्। उनले जसरी तपाईंलाई प्रधानमन्त्रीको पदसम्म पुर्याए, त्यत्तिकै तल गिराउन पनि सक्छन्। आफ्ना अध्यक्ष र महासचिवले भनेका कुरालाई आडमा राखेर संकल्प-प्रस्ताव संसद्मा भित्र्याउन दिनुहोस्। त्यसपछि राजनीतिक गतिरोधको गाँठो फुक्छ। हामी जनता यो गाँठो फुकाउन चाहन्छौँ। हामीलाई नयाँ संविधान लेख्नुपरेको छ, गणतन्त्रलाई संस्थागत गर्नुपरेको छ।
माधवजी, तपाईंले माओवादीलाई दिनुसम्म धोका दिनुभयो। अब कम्तीमा पनि राष्ट्रलाई त धोका नदिनुहोस्। नयाँ संविधान समयमा नलेख्नु भनेको राष्ट्रलाई धोका दिनु हो। जनयुद्ध र जनआन्दोलनमा मरेका, अंगभंग भएका र दुःखकष्ट पाएका हजारौँ नेपालीहरूको अनुहार सम्झिएर संकल्प-प्रस्ताव ल्याउनुहोस्। आफ्ना पुराना गल्तीलाई सुधार्ने ठूलो अवसर हो यो। संकल्प-प्रस्ताव ल्याउनुभयो भने तपाईंले जनताबाट वाहवाही पाउनुहुनेछ। तपाईंको गिरेको प्रतिष्ठा केही हदसम्म माथि पुग्नेछ। भावी निर्वाचनमा तपाईंलाई अवश्य फाइदा हुनेछ।
माधवजी, तपाईंले स्विकार्नैपर्छ- राष्ट्रपतिको कदम गलत भएकै हो। हो, स्विकार्नूस्- कटवाल प्रकरण गलत भएकै हो। तपाईंलाई म एक मित्रका हैसियतले अनुरोध गर्दछु। स्विकार्नु भएन र संकल्प-प्रस्ताव रोक्नुभयो भने तपाईंलाई जनताले टिक्न दिनेछैन।
तपाईंलाई पक्कै सम्झना होला, ज्ञानेन्द्र शाहले जथाभावी प्रधानमन्त्री बनाइरहेको वेला म तपाईंलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हिँडेको थिएँ। किनभने त्यतिवेला तपाईं चुनाव जितेको मान्छे हुुनुहुन्थ्यो, एमालेको महासचिव हुनुहुन्थ्यो, नैतिकता र सही आचरण भएको मान्छे हुनुहुन्थ्यो। मैले तपाईंका समर्थनमा लेखहरू लेखेेको थिएँ। तपाईंले मलाई फोन गरेर कृतज्ञता प्रकट गर्नुभएको थियो।
आज तपाईं राजतन्त्रका होइन, गणतन्त्रका प्रधानमन्त्री हुनुभएको छ। तर अपशोस्, तपाईंलाई मैले बधाई दिन सकेको छैन। किनभने तपाईं पछिल्तिरको बाटोबाट, गन्हाउने बाटोबाट प्रधानमन्त्री पदमा पुग्नुभयो। अघिल्तिरको बाटोबाट, सुवासैसुवास भरिएको बाटोबाट तपाईं त्यहाँसम्म पुग्नुपर्ने मेरो सदीच्छा थियो। तपाईंले हतार गर्नुभयो। अर्काे निर्वाचनमा हामी तपाईंलाई जिताउँथ्यौँ। म सानो मान्छे हुँ, तर मेरो बोली पनि कतै त सुनिन्थ्यो होला।
तर, अझै पनि तपाईंले गल्ती स्विकार्नुभयो भने मेरा आँखामा तपाईर् मित्र रहनुहुनेछ।
साभार : नयाँ पत्रिका