Home

वार्ता अधिकारसम्पन्न (मालिक)सँग नै हुन्छ नोकरसँग होइन

E-mail Print PDF
AddThis Social Bookmark Button
दीपक अर्याल

फुको (Foucault) मानिस वा समाजमा श्रृजना हुने ज्ञान, सोचाइ वा मान्यताहरू सङ्कथन (Discourse) का माध्यमद्वारा उत्पन्न हुन्छन् भन्ने मान्यता राख्छन् र उनका अनुसार सङ्कथन भन्दा बाहिर रहेर कुनै चीजको कुनै पनि अर्थ र अस्तित्व छैन। ऊनको यस प्रसङ्गलाई वर्तमान नेपालको राजनीतिमा देखा परिरहेको सङ्कथनसँग तुलना गर्न सकिन्छ। डा. केशर जङ्ग रायमाझी, विजय गच्छेदार, खुमबहादुर खड्का, गोविन्दराज जोशी, केपी ओली, विद्या भण्डारी, सूर्यबहादुर थापा र नेपाली मिडियाका पत्रकार तथा सम्पादकहरू आपसी सल्लाह र मन्त्रणा विना एउटै कुरा बोलीरहेका र एउटै कुरा लेखिरहेका छन्। उनीहरूका विच गजबको अघोषित कार्यएकता देखा पर्छ। उनीहरूलाई कसैले यो बोल्नु पर्छ, यो लेख्नु पर्छ भनेर सिकाएको होइन तर सबैको बोली र लेखाइमा गजबको एकरूपता देखा पर्छ। यस्तो परिस्थिति र घटनाक्रममा बारेमा समाज विज्ञान र फुकोको लेखनीले राम्रोसँग व्याख्या गर्छ तर म भने माओवादी अध्यक्षको भाषण र त्यसका विषयमा देखिएको प्रतिकृयालाई यो सङ्कथन भन्दा बाहिर (त्यसो त कोही पनि बाहिर वा तटस्थ हुँदैन) बाट हेर्ने जमर्को मात्र गरिरहेको छु।

माओवादी अध्यक्षको भनाईको सानो अंश लिदै नागरिक दैनिक (पुस ८ मा) लेख्छ, "वार्ता अब दिल्लीसँग"। मिडियाले सृजना गर्न सक्ने सङ्कथनको एउटा आधार यही हो। यस शीर्षकले "वार्ता अब दिल्लीसँग" त लेख्छ तर त्यो भन्दा अगाडिको कुरा "कठपुतलीहरूसँग वार्ता गरेर केही भएन, अब तिनका मालिकसँग वार्ता यहीबाटै सुरू भएको घोषणा गर्छु" भन्ने कुरालाई कम महत्त्व दिन्छ वा महत्त्व दिन चाहँदैन। संसारको नियम हो अधिकार हुने वा मागहरू पुरा गर्न सक्ने र कार्यान्वयन गर्न सक्नेसँग मात्र वार्ता हुन्छ।जो पायो त्यहीँसँग वार्ता हुँदैन। वार्ताका लागि आधिकारिक व्यक्ति वा संस्था नै खोजिन्छ अर्थात् मालिक नै खोजिन्छ नोकर होइन। त्यसो त के मालिक के नोकर? सबैको अधिकार समान हुन्छ र नेपालका सन्दर्भमा नेपाली नेताहरूलाई माओवादीले "नोकर" नै भने पनि र उनीहरू नोकर नै भए पनि वार्ता उनीहरूसँग नै हुनु पर्छ विदेशी मालिकसँग होइन भन्ने अभिमानी, पाखण्डी "राष्ट्रवादी" अनुहारको झलक नेपाली मिडियामा छाउने विश्लेषक तथा कांग्रेस, एमाले, फोरम र राप्रपा तथा जनशक्ति पार्टीका अभिव्यक्तिमा देखिन्छ।

तर उनीहरू संसारमा जुनसुकै वार्ता र लेनदेन नोकरसँग होइन मालिकसँग नै हुन्छ भन्ने कुरा विर्सन्छन्। उत्तर कोरियाको लडाईँ दक्षीण कोरीयासँग छ तर ऊ "मालिक" अमेरिकासँग वार्ता गर्न चाहन्छ। गोर्खाल्याण्डको लडाईँ पश्चिम बंगाल सरकारसँग छ तर ऊ "मालिक" केन्द्रीय सरकारसँगै वार्ता गर्न चाहन्छ।हिजो फोरम माओवादीका विरूद्ध लडेको थियो तर वार्ता सरकार (मालिकसँग) नै भएको थियो। दशगजामा भारतीय पुलीस (SSB)ले नेपालीलाई पिट्यो भने वार्ता भारतीय प्रशासक वा सरकार (मालिक)सँग नै हुन्छ त्यो पुलीसवाला (भाडाको सिपाही)सँग होइन।यो कुनै अनौठो कुरा होइन, यो कुनै नौलो कुरा होइन। वार्ता अधिकार हुने, शक्ति हुने मालिकसँग नै हुन्छ।

सबैभन्दा दुखको कुरा त के हो भने नेपाली नेताहरूले हामीहरू "भाडाका टट्टु होइनौं" त्यसैले हामीसँग नै वार्ता गर अनि हाम्रो मालिक छैनन् वरू हामी नै मालिक हौं भन्ने् हिम्मत र साहस गर्दैनन्। के माओवादीले मालिकसँग वार्ता गर्दा नोकरसँगको अस्तित्व संकटमा पर्ने कारणले उनीहरूले उनीहरूमाथि लागेको आरोपको खण्डन गर्न नसकेको हो? नत्र भने आफूहरूलाई लगाइएको आरोपको खण्डन पार्टीहरूले किन गर्दैनन्? नेपाली मिडियाका विश्लेषकहरूले पार्टी र पार्टी नेतृत्वमाथि लागेको यो आरोपका वारेमा किन कुनै कुरा उठाउँदैनन्? किन उनीहरू माओवादी अध्यक्षको सम्पूर्ण भाषणहरूलाई एकै ठाउँमा राखेर विश्लेषण गर्न हिच्किचाउँछन्। अध्यक्षले नोकरहरूसँग वार्ता गर्दा काम लागेन त्यसैले मालिकसँग वार्ता गर्छु भनेको कुरालाई किन मालिकसँग वार्ता गर्न लाग्यो भनेर मात्र हल्ला गर्छन्। खै "नोकर"को चर्चा गरेको? खै "नोकर"हरूले खण्डन गरेको? खै "नोकर"का विषयमा आवाज उठेको? खै "नोकर"हरूले आफुलाई "नोकर" भन्यो भनेर विरोध गरेको? आफुलाई "नोकर" भनेकोमा उनीहरूलाई कुनै आपत्ती छैन, कुनै रिस, राग र द्वेष छैन। कुनै अपमानवोध र पीडा छैन। उनीहरूलाई त माओवादीले "दिल्ली" वा "मालिक"सँग वार्ता गर्ने भयो भन्ने कुराले पिरोलेको छ। उनीहरू आफुलाई "मालिक"का रूपमा स्थापित गर्न चाहँदैनन् त्यसैले उनीहरू आफुलाई "नोकर" भनेको कुराले पोल्दैन, दुख्दैन वरू माओवादीले "दिल्ली"सँग कुरा गर्ने भयो भन्ने कुराले पोल्छ, दुख्छ। ठूला-ठूला राष्ट्रवाद र हस्तक्षेपका कुरा उठाउँछन् तर आफुलाई दिल्ली वा भारतको "नोकर", "कठपुतली" र "टट्टु" भनेकोमा दु:ख मान्दैनन् बरू त्यो आरोप खप्दा भारतीय "मालिक"हरूसँग नजिक रहेको देखाउन सकिने कुरामा लालायित हुन्छन्।उनीहरूलाई "दलाल" भनेकोमा कुनै दुख र गुनासो छैन, उनीहरू यसको खण्डन गर्दैनन् किन भने यसले गर्दा उनीहरू भारतसँग नजिक रहेको महशुस गर्छन् र यसको खण्डन गर्दा भारतीय "मालिक"हरूको निगाहभन्दा टाढा रहेको महशुस हुनेछ।

मलाई लाग्छ, माओवादी र अन्य पार्टीहरू सबै नोकर भएकाले वार्ताका लागि मालिकको आवश्यकता नै छ त्यसैले माओवादीले प्रष्टसँग वार्ताका लागि मालिक आवश्यक रहेको कुरा बताएको मात्र हो। अन्य नोकरहरूले मालिकको कुरा लुकाएका छन्, माओवादीले लुकाएन। फरक त्यति मात्र हो। हालको प्रसंगमा एमाले वा कांग्रेसका नेताहरूले माओवादीले विदेशी हस्तक्षेप निम्त्यायो भनेर कराइरहनु भन्दा आफुलाई लागेको "नोकर"को आरोपको खण्डन गर्नुपर्छ। उनीहरूले हामीहरू नोकर होइनौं, वार्ता हामीसँगै हुनुपर्छ भन्न सक्नुपर्छ तर अफसोच उनीहरू त्यस कुराको खण्डन गर्न चाहँदैनन। उनीहरूलाई त्यस कुरामा कुनै आपत्ती नै छैन। उनीहरूलाई आपत्ती त उनीहरूका मालिकसँग माओवादीले वार्ता गर्न लागेकोमा मात्र छ। मिडियाका वरिष्ठहरूले पनि नेपालका राजनीतिक पार्टी र उनीहरूका नेतालाई लागेको आरोपको वारेमा कुनै कुरा गर्न चाहँदैनन बरू मालिकसँग माओवादीले वार्ता शुरू गर्न लाग्यो भन्नेमा बढी चिन्ता देखाउँछन्। आखिर सबैका मालिक एउटै भएको सन्दर्भमा मालिकको नजिक को हुने भन्ने चिन्ताले मिडियाका वरिष्ठहरूलाई पनि सताए जस्तो देखिन्छ। उनीहरूलाई पनि उनीहरूको मालिकको नजिक माओवादी जाने र उनीहरू मालिकको निगाहबाट टाढा हुने भयले सताएको जस्तो देखिन्छ।

माओवादी अध्यक्षका भनाईहरूमा कुनै नयाँ कुरा छैन। यस भनाईलाई अनौठो मान्नुपर्ने र त्यसका विषयमा सम्पादकीय लेखी हाल्नु पर्ने जरूरी पनि छैन। सम्पादकीय माओवादी अध्यक्षको बोली जस्तो मजाकको कुरा नहुनु पर्ने हो तर माओवादी अध्यक्षको मजाकको कुरालाई लिएर नेपाली मिडियाले सम्पादकीयको मजाक उडाइरहेका छन्। अध्यक्ष सधै यसै गरि बोल्छन्, बोलिरहेका छन्। बरू मलाई लाग्छ, उनी पहिलोपटक सही बोलेका छन्। उनको आशय हामीहरू सबै नेपालका राजनीतिक पार्टी, नागरिक समाज, मिडियाहरूका मालिक भारतीय शासक हुन् भने किन नोकरहरूका विच मात्र वार्ता गर्ने बरू सिधै मालिकसँग वार्ता गरेर समस्या समाधान गरौं भन्ने न हो।उनको

भनाईलाई जसरी अर्थ लगाए पनि मिल्छ।वरिष्ठहरूले वैदेशिक हस्तक्षेप निम्त्याएको अर्थ लगाए मैले नेपालका राजनीतिक दल र नेताहरू भारतका नोकर तथा टट्टु भएकाले उनीहरूसँग वार्ता गर्नुको अर्थ छैन त्यसैले भारतसँग वार्ता हुनु पर्छ भनेका थिए भनेर अर्थ लगाउँला। माओवादी स्वयंले त्यस भनाईलाई व्यङ्गका रूपमा व्याख्या गरेको छ। यही नै सङ्कथनको मान्यता हो, यसैको मन्थन पछि विचार निस्कन्छ, ज्ञान निस्कन्छ र कुनै लेखक तथा विद्वानहरूले त्यसलाई लेख्दै र फलाक्दै हिड्छन्।
 
अन्त्यमा विडम्बना नै भन्नुपर्छ कि माओवादीले "नोकर" भनेकाहरूलाई आफुलाई "नोकर" भनेकोमा कुनै आपत्ती छैन तर माओवादीले आफ्ना मालिकहरूसँग वार्ता गर्छु भनेकोमा ठूलो आपत्ती छ। जबसम्म नेपाली राजनीतिक दलहरूले आफुलाई आफुहरू "नोकर" नभएको भनेर खण्डन गर्दैनन् तवसम्म माओवादीले लगाएको आरोप सही ठहर्छ र उनीहरूले भनेको यसकारण जायज ठहरिन्छ कि वार्ता अधिकारवाला व्यक्तिसँग मात्र हुन्छ अर्थात् मालिक, सरकार, हाकिमसँग। अधिकार नै नभएकासँग वार्ता हुँदैन त्यसैले अधिकार हुने शत्रु भए पनि, त्यो विदेशी भए पनि, त्यो भारतीय नै भए पनि वार्ता उसैसँग हुन्छ। अधिकार नभएकासँग वार्ता हुनै सक्दैन।
अस्तु

deepakaryal@gmail.com
साभारः माइसंसार
 

Latest News