सौरभ,
२०६६ पुस २२
'पानमुनजोम'- सबैले जानेकै कुरा हो उत्तर दक्षिण कोरियाको सीमामा दुई देशबीच प्रत्यक्ष वार्ता हुने ठाउँ हो । २२ डिसेम्बरका दिन त्यस्तै 'पानमुनजोम' नेपाल-भारतबीच खडा गर्ने पुष्पकमल दाहालको आशय बानेश्वरमा के प्रकट भयो- 'चोरको खुट्टा काटभन्दा आफ्नो खुट्टा तान्ने' कथाको शैलीमा लहरै खुट्टाहरू तानिए । गृष्मबहादुर देवकोटाको प्रस्तुति शैलीमा केही खाका यहाँ पाठकहरूको स्मरणार्थ पेस गरिन्छ-'अब ठाडै यहाँ यिनीहरूसँग कुरा गर्दिनँ, मालिक कहाँ जान्छु भन्नुभयो । यसले समस्त नेपालीहरूलाई लज्जा बोध गराएको छ । नेपालको राजनीति नेपालीले गरेको ठानेका थियौं'- भारत शक्ति पार्टीका अध्यक्ष ।
'नेपालको राजनीतिक दलका मालिक भनेको नेपाली जनतामात्र हुन् । देश बाहिर मालिक खोज्ने र देख्नेहरूले नेपालको राष्ट्रियता कमजोर बनाएका छन्'- प्रधानमन्त्रीका एक सल्लाहकार । जसको एउटा गोडा दरबार र अर्को लैनचौरमा भएको कारण नै एमालेले कहिल्यै ऊबाट त्राण पाउन नसकेको हो भनेर जगत जान्दछ ।
'यो दिल्लीलाई नेपालको राजनीतिमा खुल्लमखुल्ला निम्ता गर्ने प्रचण्डको राजनीतिक कला हो' - कांग्रेसका नेताहरू । जो दिल्लीलाई नेपालको राजनीतिमा घिसारेरै भित्र्याउने १९५० को राणा कांग्रेस दिल्ली सम्झौता र २०६३ को हिन्दी भाषाको १२ बुँदे दिल्ली सम्झौताबारे मौन छन् ।
'नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप निम्त्याउने खतरनाक चालबाजी'- एमालेको पारित प्रस्ताव । जुन एमाले महाकाली सन्धियता भारु ४० र ५० लाख लेनदेनका प्रसङसमेतले नांगिइसकेको छ ।
'मुलुकको लोकतन्त्रको संरक्षण, सम्बर्द्धन र समग्र विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेको र देशको शान्ति प्रक्रियाको सहयोगीसमेत रहेको मित्रराष्ट्र भारतलाई समेत मुछ्ने कार्य राजनीतिक मूल्य, मान्यता र कूटनीतिक मर्यादाविपरीत छ'- सद्भावना पार्टीको एक गुट । जसको झन्डा नै भारतीय तिरंगाको नक्कल हो । 'भारतलाई गाली गरेर र गलत आक्षेप लगाएर कुनै पनि नेता राष्ट्रवादी बन्न सक्दैन'- सद्भावना पार्टीको अर्को गुट । 'नेपालका राजनीतिक दलहरूसँग मात्रै वार्ता गछौरं भनी दाहालले दिएको अभिव्यक्ति अशिष्टताको पराकाष्ठा हो'- कांग्रेसका पूर्वउपप्रधानमन्त्री, जसको पुख्र्यौली थलो नै लमजुङको 'पाङदुर' गाउँ हो ।
'उनी आफैं गलत रणनीतिक उच्च आकांक्षाको सिकार भएकाले यसबाट उफ्रनु 'फ्रष्टेशन'हो । ताम लोभिपापी पार्टीका उपनेता ।
यहाँनेर राष्ट्रिय अप्रजातन्त्र पार्टी (थापा) को टिप्पणी पढ्न नपाइनु आश्चर्यै छैन र महाकाली सन्धिका विरोधीहरूलाई दिवालिया राष्ट्रवादी भन्ने अराष्ट्रिय अप्रजातन्त्र पार्टी (राणा) को टिप्पणीको अर्थ पनि छैन । तर के ध्रुव सत्य हो भने अंग्रेजीको वाक्यांश 'हलियर द्यान दाउ' (ता भन्दा म पवित्र) भनेर आफूलाई सावित गर्ने र आफ्नो धोइपखाली गरेर 'सौ चुहे खाके चली विल्ली हज करने' लाई चरितार्थ गर्न २२ डिसेम्बरको साँझदेखि २३ डिसेम्बरको साँझसम्म २४ घन्टा जुन होडबाजी नेपालको राजनीतिक बजारमा चल्यो त्यो यो देशको हरेक नागरिकले हेर्न लायक 'रमिता' रह्यो ।
यद्यपि पुष्पकमल दाहाल आफ्नो भनाइ राजनीतिक दलका लागि व्यङ्ग्य मात्र होभन्दै नेपाललाई १२ बुँदेको 'बन्दीपुर' बनाउने उपाध्यक्षका भनाइ टिपेर, आफैंले पनि खुट्टा ताने । एउटा यस्तो बच्चाको परिचय दिए उनले जो आफ्नै आच्छ्युँको आवाजले तर्सिन्छ । तर भित्र जे भए पनि दाहालले गरेको उद्घोष के नेपालको निम्ति एक अनिवार्य सत्य होइन ? यद्यपि उनी स्वयम् नौ वर्षसम्म दिल्लीले पालेको पात्रका रूपमा विवादग्रस्त भइसके ।
तत्कालीन मालेको आजजस्तो दुर्गति भए पनि, कालापानीसम्मको त्यसको मार्चले संसदमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालापानीको पक्षमा बोल्न बाध्य पारेको होइन ? र तत्कालीन राजदूत केभी राजनले नेपालको हो भन्ने सावित भयो भने भारत कालापानी फर्काउन तयार छ भनेका होइनन् ?
१९५० को सन्धि रद्द गर्ने कुरा माओवादीहरूले उठाए पनि भारतीयहरूले आफ्नो बचाउ गर्ने शैलीमा त्यसलाई रद्द गरेर नयाँ सन्धि गर्न आफू तयार रहेको बताएका होइनन् ? त्यसपछि दिल्ली पोषित नेपाली 'राजनीतिशास्त्रकार' हरू त्यसका बुँदाहरू केलाउन 'साखुल्य' हुँदै देखापरेका होइनन् ?
के माओवादीले उत्तर कोरियाली शैलीमा दक्षिणतर्फ बंकर खनिरहेको कुरा व्यक्तिगत विवादमा परेकी आफ्नै एक महिला नेतृबाट खुलेपछि मात्र भारतसँग सम्बन्ध सुधि्रनै नसक्ने गरी बिगि्रएको होइन ? 'भट्टराई' ले तुहाइदिएको वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव र तिनले फर्काइदिएको नागरिकताको प्रसङ घुसेको आर्थिक विधेयकका कारण उनको ज्यान गएको होइन ?
आजका मितिमा पनि एमाले माओवादी कुनै हालतमा नमिलुन् भन्नेमै छिमेकको सारा पैसा, मेहेनत, कूटनीति लागिरहेको छैन ?
यी करिब आधादर्जन 'ठाडै कुराकानी' का नमुना हुन् । तर यस्ता कुरा कहिल्यै न पञ्चले गरे, न कांग्रेसले गर्यो, न एमालेले । कांग्रेसबाट सन्यासीलाई सापटी लिएर दिल्लीमा परिचय गराई माग्न गएका एक यादवले 'द्वारका' त्यहीं छ भन्न छाडेर 'मक्का मदिना' छ भन्न थाल्छ भने तराईका पार्टीहरूका धर्म परिवर्तनका प्रसङहरू त यहाँ गर्दै नगरौं । नयाँ मुसलमानले धेरै प्याज खान्छ भनेर त इस्लामहरू नै भन्छन् ।
सुस्तामा वडा नं. ४ मात्र बाँकी रहेको समाचार आएपछि सद्भावनाको एउटा गुटले त्यो सयौं वर्षअघि नै निर्धारित भइसकेको हो भनेको कुरा अंग्रेजी दैनिकमै मुदि्रत छ- जबकि एक शताब्दी अघि भारत नै विश्व मानचित्रमा थिएन । यिनलाई हामीले आजका दिनमा पनि मन्त्रीका रूपमा देख्नु परिरहेको छ । १९५० को सन्धि नेपालको हितमा छ भनेर पटक-पटक अंग्रेजी दैनिकमा 'राजनीतिशास्त्रकार' हरूका कलमबाट आइरहेको छ । यो 'राजनीतिशास्त्र' मा सन्धिका मर्महरूको पढाइ हुन्छ कि कानुनशास्त्रको 'अन्तर्राष्ट्रिय कानुन' भन्ने भागमा ? - पाठकहरूले सोध्न नखोजे हुन्छ ।
रोचक त के छ भने पुष्पकमल दाहालको त्यस 'हिमाली 'पानमुनजोम' को प्रस्तावपछि उनको निन्दा गर्दै सम्पादकीयहरू, अग्रलेखहरू र स्तम्भहरू लेखिए । यो आफूले मानी आएको 'मालिक' को तर्फबाट 'एपलजिस्ट' को काम गरी दिनेमा एउटा घले दौड नै सुरु भयो छापामा र विद्युतीय सञ्चारमाध्यमले आफ्ना प्रशस्त समय त्यसैमा खर्च गरे । तर प्रत्यक्ष वार्ताको सामना गर्ने बित्तिकै त्यसको अन्तर्राष्ट्रियकरण हुन्छ भनेर सार्क सन्धिमै पनि दुई देशबीचको साझा मुद्दा उठाउन नपाइने प्रावधान भारतकै कारण राखिएको होइन र ?
आफूलाई फेरि राजामा फर्काइ दिए नेपालको एक तिहाइ छोडिदिन्छु भनेर रणबहादुर शाहले इस्ट इन्डिया कम्पनीलाई गरेको अर्जीको परम्परामा महेन्द्रले कालापानी छोडिदिएर भारतलाई रिझाए । आज कोही गण्डक, कोही कोसी, कोही महाकाली र कोही अन्तर्राष्ट्रिय विमानस्थलमा उसको सुरक्षा सेवालाई तैनाथ हुन दिने गरी सरकारमा पुग्ने र सत्ता लम्ब्याउन पाइने पुरस्कार थापिरहेका स्पष्टै छ- जहाँ नंग्नताको सीमाना नै छैन त्यहाँ लज्जाबोधको, अपमान भएको आदि-आदिका कुरा ? यो कालमा केही फरक छैन, विश्व २१ औं शताब्दीमा छ र नेपाल १८ औं शताब्दीमा ।
जतिसुकै 'वाणिज्य सन्धि' र 'व्यापार विविधीकरण' का बारेमा नेपाली अर्थशास्त्रीहरूले अनेक शास्त्रीय र व्यावहारिक कसरत गरे पनि दक्षिणसँगको नेपालको व्यापार घाटाले खर्बौं नाघिसकेकोबाटै थाहा हुन्छ ती आम नेपालीका पक्षमा नभई कम्युनिस्टहरूले भन्ने 'दलाल पुँजीपति' कै पक्षमा छन् । यहाँ फाइदाजनक छ भनेर छापाको 'ब्यानर हेडलाइन' बनाउने मात्रै छ । आम मनोविज्ञान नै कम्युनिस्टहरूका भाषामा भन्नुपर्दा 'आत्मसमर्पणवाद' ले ग्रस्त छ ।
पुष्पकमल दाहालले व्यङ्ग्य भनेर प्रस्ताव फिर्ता लिए पनि त्यस बोलीपछि सविस्तार उठाइएका बुँदाहरूले २२ डिसेम्बरको बोलीलाई केवल एक आवेग मान्न दिँदैनन् । तर तत्कालीन नेपाली वातावरण यस्तो भएर आयो मानौं हामी ड्राकुला सिरिजअन्तर्गतको कुनै सिनेमा हेरिरहेका थियौं- अचानक टुँडिखेलमाथि ग्रहण लागि दिँदा हामी वरिपरि बसेकै दर्शकहरूका दन्त पंक्तिमा दाह्राहरू लम्बिन थाले । अनिमात्र हामीले चिन्यौं- आफू वरिपरि बसेका दर्शकहरू नै ड्राकुला पो रहेछन् ।
हकिम असानुल्लाह खानहरूको कमीकमजोर मुलुकमा कहिल्यै हुँदैन । दिल्लीको एउटा कुनामा केही उठेको डाँडोमा अंग्रेजहरूले मोर्चा हालेका थिए । २/४ सय अंग्रेज तिनका सिख, पठान आदि गरी दुई हजार जति सिपाही थिए । यता हिन्दु, मुसलमान सबै गरी ७० हजार भारतीयहरूले लालकिला घेरेर बहादुर शाह जफरलाई अनुरोध पठाए- हात्तीमा बसेर अगुवाइ मात्र गर । हामी तिम्रो मुगल राज्यलाई उही शान र मानका साथ फर्काइ दिन्छौं । बहादुर शाह हात्तीमा सवार भएर निस्कन पनि लागे । तर उनको प्रधानमन्त्री र राजवैद्य (हकिम) असानुल्लाह खानले उनको पिछा छोडेन । ऊ निरन्तर भन्दै गयो- यिनले लडाइँका बेला तिम्रा साथ छोडिदिएर भाग्छन् । तिमी युद्ध मैदानमा एक्लै र अलपत्र पर्छौ । बन्दी बन्नेछौं । बरु अहिले पगरी मात्रै भए पनि जोगिएको छ, पुर्खाले सरापी हाल्ने स्थिति त छैन ।
उसले पटक-पटक त्यही पंक्ति दोहोर्याइरहेपछि लालकिला बाहिर निस्किसकेका जफर भित्र पस्छन् । ७० हजारको मनोबल गिर्छ । ३५ हजारले तत्काल युद्धमैदान छोड्छन् पनि र कालान्तर यस्तो देखापर्छ ती चार सय बि्रटिससँग भित्रभित्रै नमिलेको कोही थिएन- आफ्नै प्रधानमन्त्री असनुल्लाह खान, आफ्नै सबैभन्दा पि्रयतमा पत्नी जीनत महल, आफूले युवराजाधिराज बनाउन तयार गरेको सबैभन्दा प्यारो छोरो जवान बख्त आफ्नै सम्धी रजव अली, सबैभन्दा अथाह तरल सम्पत्ति भएका दुवै ठूला व्यापारी सेठ चुन्नामल र बनियाँ रामदाश ।'
पुष्पकमल दाहालका राजनीतिक आफन्त भनेका विभिन्न दलमा भएका उनका समकालीन राजनीतिक सहकर्मीहरू नै हुन् । तर तिनमा सयौं जवान बख्त र रजव अली, सयौं रामदास र जिनत महल, सयौं चुन्नामल र असनुल्लाह खान तिनले मात्रै देखेनन्, यसपालि देशले नै देख्यो । जबकि मुद्दा सबैको साझा हो, त्यो होस्टेमा सबैले हैंसे गर्नुपर्ने दर्जाको हो ।
त्यसोत त चन्द्रागिरीको टुप्पामा पुगेपछि भक्तपुरका रणजित मल्लले आफ्ना सात छोराहरूलाई दिएको सराप, पाल्पाका महादत्त सेनले आफ्ना भारदारहरूलाई दिएको सरापका पंक्तिहरू नेपाली समाजमा सदियौंदेखि आज पनि जीवित छन् र अझ सदियौंसम्म गइरहनेछन् ।
Source: ekantipur