Home

मैदानमा लाहुरे

E-mail Print PDF
AddThis Social Bookmark Button
कृष्ण ढुंगाना 
शनिवार, 30 जनवरी 2010
 
बागवीर पाइजा ब्रिटिस गोर्खामा भर्ती हुँदा गाउँमा शिक्षाको उज्यालो थिएन। ढुंगाको गारो लाएर बनाइएका विद्यालय त थिए, तर तिनमा खासै विद्यार्थी आउँथेनन्। म्याग्दीको शिख गाउँमा लाहुर जानुलाई सानको विषय ठानिन्थ्यो। चुरोट, बिँडीका प्याकेट र लडाइँका किस्सा बोकेर गाउँ फर्केका लाहुरे शिख देउरालीको चौतारोमा दिनभरि गफिन्थे र जोडी पाए त्यतै रोधी बसाउँथे। २०२५ सालतिरको ग्रामीण सामाजिक स्थिति हो यो।
 
'भर्ती भएपछि के काम गर्नुपर्छ पत्तो थिएन, गाउँ फर्किंदा सम्मान पाइन्छ भन्नेचाहिँ थाहा थियो,' उनले ४२ वर्षपछि लाहुर जानुको अर्को कारण सम्झिए, 'राम्री केटी पनि लाहुरेले नै पाउँथे त्यो बेला।'

सैन्य सेवाबाट अवकास पाएपछि बागवीरको जीवनमा दुइटा छनौट थिए - बेलायतमै बस्ने वा नेपाल फर्कने। 'मैले दोस्रो बाटो रोजेँ र लन्डन-काठमाडौंको टिकट काटेँ।' भइदिएछ के भने गाउँमै बस्ने गरी फर्किएको भन्दा पनि गाउँलेले नपत्याउने। 'मेरो अनुभवको एउटै सत्य छ, त्यहाँ मान्छे साँचो अर्थमा मान्छे हुन सक्दैन। यो गाउँचाहिँ आफ्नू होजस्तो लाग्छ,' उनले भने।

'के हुन्छ त?'

'तपाईंको मूल्य मेसिनभन्दा बढी हुँदैन।'

'अनि?'

'म आफ्नो बाटोमा स्पष्ट थिएँ, गाउँ फर्किनुका कारण थिए। हिमालमुन्तिरको गाउँ हेर्दैमा यति आनन्दको छ,' उनी यसो भन्दा शिख देउरालीबाट पश्चिम-उत्तरको धवलागिरी चुचुरोतर्फ आँखा सोझ्याउँदै फकल्यान्ड युद्ध सम्झिरहेका थिए।

'तपाईंलाई थाहा छ?' उनले फकल्यान्ड युद्धबारे मलाई कत्तिको जानकारी छ जान्न चाहे।

'अलिअलि,' म आफू अज्ञानी भएकोमा लाज लागेर आयो।

बेलायतले जितेको त्यो युद्धबारे मैले अर्जेन्टिनी फुटबल खेलाडी म्यारोडानाले सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा 'गड अफ ह्यान्ड'मार्फत इङल्यान्डलाई हराएपछि गरेको टिप्पणी सम्झेँ। फकल्यान्ड युद्धको चार वर्षपछि अर्जेन्टिना-इङल्यान्ड मेक्सिको सिटीमा आमने-सामने भएका थिए। र, दुई गोल गरेर अर्जेन्टिनालाई जिताएपछि म्याराडोनाले टिप्पणी गरेका थिए, 'हामीले जित्यौं, किनभने मैदानमा खुकुरीधारी गोर्खा थिएनन्।'

'हो, अप्रिल १९८२ को फकल्यान्ड युद्धको स्थल सेनामा म थिएँ,' बागवीरका आँखामा बल्ल चमक देखियो। युद्धले धेरै कुरा सिकाउँछ भन्ने उनको बुझाइ छ। प्रेम र युद्धमा जे पनि चल्छ भन्ने त सुनिएको हो। उनको बुझाइ भने भिन्न रहेछ, 'जसरी प्रेममा धोका नपाई मान्छेले जीवन बुझ्दैन, त्यस्तै युद्ध नभोगेको मान्छेले राष्ट्रियताको मूल्य बुझ्दैन। त्यसपछि मैले आफ्नो राष्ट्रको मूल्य थाहा पाएँ र गाउँ फर्किने बाचा गरेँ।'

एउटा सिपाहीका लागि युद्ध ठूलो कुरा हुनु नपर्ने नि? 'हो खास त केही हैन, हामीलाई युद्धकै लागि ट्रेन्ड गरिएको हुन्थ्यो,' बागवीरले लामो सास फेरे। भने, 'हामी गोर्खाली स्थलसेनाको अफेन्सिभ लाइनमा थियौं र गोरेहरू हाम्रो ब्याक सपोर्टमा थिए।' सम्झनाको कुनै तहमा घुसेका पुराना दृश्य सम्झिए, 'युद्धमोर्चामा गोली लागेर मारिएको साथीको शरीर सम्झेर मैले बारम्बार आफैंलाई एउटै प्रश्न गरेँ - यति असुरक्षित स्थानमा म किन?' युद्धले कसैलाई किन दया गर्थ्यो र! अहिले उनलाई लाग्छ दुःख र पीडाको गहिरो अनुभवले मात्र मान्छेलाई सही अर्थमा जीवन बुझाउन सक्छ। त्यो गहिरो पीडापछि लामो समयसम्म उनले त्यही 'किन'को जवाफ खोजेछन् र निष्कर्षमा पुगेका रहेछन् - शिक्षाको अभावमा गाउँले युवाको 'लाहुरे जीवन' जोखिममा छ।

३० वर्षअघि आफूले भोगेको पीडाबाट पाठ सिक्दै २०४७ सालमा गाउँ फर्किंदा 'लाहुर' जाने शिखको बानी उस्तै थियो। फरक यत्ति थियो, हिजोसम्म भारतीय सेना र ब्रिटिस गोर्खाका लागि छाती नाप्न लाम लाग्ने युवाहरू अब अरब जान पासपोर्ट बनाउने लाममा थिए। राम्रो शिक्षा अभावमा विदेशी भूमिमा आइपर्ने दुःखका एक भुक्तभोगी बागवीर आफैं हुन्। एउटै थालमा खाएका सँगैका साथी भटाभट फुली थप्दै हाकिम भएछन्। पाँच कक्षासम्म मात्र पढेका उनले चाहिँ तिनै साथीलाई स्यालुट ठोक्दै आफ्नो सैन्य सेवा पूरा गरेका रहेछन्।

'अनि?'

'पाँच कक्षाको के भ्यालु उता? खुब गोता खाइयो।'

कामले काम सिकाउँछ भन्नेहरू धेरै छन्। तर जीवनभरि राइफल चलाएका बागवीरले सैन्य सेवाबाट सिकेको ज्ञान अर्कै छ- 'शिक्षाले संसार बदल्छ। नपढिकन जहाँ गए पनि मान्छेको स्तर फेरिनेवाला छैन।'

यतिबेला उनी गाउँमा छन्। अन्नपूर्ण पदयात्राका पदयात्रीले घोडेपानी-मुस्ताङ खण्डको शिखमा बाटोमै उनलाई भेट्न सक्छन्। उनको पौरख हेर्न सक्छन्। गाउँमा मोटर बाटोको पहुँच छैन, घाम लाग्दामात्र टेलिफोन चल्छ। तर आफूले भोगेको पीडाबाट भावी पुस्तालाई जोगाउन बागवीर सक्रिय छन्। दुर्गम गाउँमा शिक्षक जानै मान्दैनन्, तर उनी सञ्चालक समितिको अध्यक्ष रहेको शिख उच्च माविलाई शिक्षकको खाँचो छैन। केही शिक्षकको तलब वेलायत बस्ने नेपालीले बेहोरिदिएका छन्। भवन बनाउन सघाउने नेपालीको नाम ढुंगामा कुँदेर झुन्ड्याइएको छ। जापान, हङकङ, बेलायत, ब्रुनाइ, सिंगापुर, अमेरिका बस्ने तीन दर्जनभन्दा बढी नेपालीको नाम भित्ताको सूचीमा छन्। विद्यालयमा कम्प्युटर शिक्षा र इन्टरनेटको पहुँच छ। १० वर्षदेखिको निरन्तर प्रयासपछि अब शिख उच्च मावि म्याग्दीकै राम्रा विद्यालयको कोटीमा दरिँदैछ।

२०५८ सालमा भवन आगलागीबाट ध्वस्त भएपछि विद्यालयको भविष्यलाई लिएर गाउँमा ठूलो बहस भएको सम्झना अझै ताजै छ उनको मस्तिष्कमा। भवन भग्नावशेषका तस्बिर बोकेर बागवीर जिल्ला शिक्षा र जिल्ला प्रशासन कार्यालय धाएछन्। 'सरकारले सुको दिएन,' उनले भने, 'न त प्रहरीले अपराधी नै समात्यो।'

त्यो माओवादी युद्धको समयको थियो। 'त्यसपछि विद्यालयको भवन निर्माण संरचना जुटाउन ठूलै कष्ट भयो,' उनले भने, 'तर हार खाने पक्षमा हामी थिएनौं।' अर्का समाजसेवी खाका पुनले एउटा नयाँ आइडिया निकालेछन् - पुराण लाएर चन्दा संकलन गर्ने। म्याग्दीको ग्रामीण भेगको विद्यालयका लागि चन्दा संकलन गर्न २०६५ कात्तिकमा पोखरा चिप्लेढुंगामा सप्ताह पुराण लाइयो। लाहुरे बस्तीको पोखराले धुकधुकी मात्र रहेको शिख उच्च माविलाई श्वास हाल्ने काम गर्दियो।

'पुराणबाट ६३ लाख रुपैयाँ संकलन भयो,' आश्चर्यको भावमा उनले भने, 'दाताको उदार मन देखेर हामी उत्साही भयौं।' भवन नहुँदा भकारी ओछ्याएर कक्षा चलाइएको रहेछ। पुरणा सक्नासाथ भकारी कक्षा र भग्नावेशषका तस्बिर बोकेर बागवीर हङकङ र वेलायत उडेछन्। 'विदेश बस्ने नेपालीको खुला दिलले सघाए। नत्र हाम्रो के लाग्थ्यो र!'

अवकासको चिठी बुझेर नेपालको गाउँमा बस्छु भन्दा नपत्याउनेहरू अहिले चुपचाप छन्। 'कत्रो उत्साह बोकेर गाउँ फर्किएको सुरुमा त मन खिस्रिक्क भयो,' उनले पुराना दिन सम्झिए, 'तर फर्किनुका कारणमा म स्पष्ट थिएँ। उद्देश्य र लक्ष्यमा अडिग।'

काम गर्न चाहनेलाई नेपालमा प्रशस्त ठाउँ भएको उनको अनुभव छ। उद्देश्य र लक्ष्यले आत्मविश्वास ह्वात्तै बढाउँछ भन्ठान्छन्, बागवीर। 'गाह्रो र अप्ठ्यारो हरेक काममा हुन्छ, तपाईं कति समय त्यसका लागि सोच्नुहुन्छ र लागिरहनुहुन्छ भन्ने कुराले परिणाम निर्धारण गर्छ। ३० वर्षअघि जे सोच्थेँ, अहिले म त्यो गर्दैछु,' उनले भने।

स्थानीय स्तरको समुदाय परिचालनको शोध गर्न चाहनेका लागि उनका काम अनुसन्धानका विषय हुनसक्छन्। गाउँको विद्यालय जाने शिक्षकले दुर्गम भत्ताको आस गर्छन्। राम्रो आम्दानी नभए राम्रा शिक्षक राख्न सकिँदैन। विद्यालयको दीगो आयस्रोतका लागि स्वातमा एउटा सामुदायिक लज सञ्चालनमा छ। 'त्यो स्कुलको नियमित आम्दानी हो,' उनले भने, 'त्यसले केही शिक्षकलाई तलब खुवाउँछ।'

एकजना इमानदार अगुवा स्थानीय स्तरमा हुँदाको फरक अहिले शिख गाउँमा देख्न सकिन्छ। सहरका गनिएका विद्यालयमा समेत पुस्तकालयको पक्ष कमजोर छ, तर शिख उच्चमाविको पुस्तकालय तीन हजारभन्दा बढी पुस्तकले भरिएको छ। त्यसमा पनि गजबकै संयोग भएछ। महावीर पुनले आफ्ना स्वयंसेवक स्याटलाइटलाई स्वातस्थित त्यही लजमा बागवीरसँग परिचय गराएका रहेछन्। स्याटलाइटले 'कोसिस गर्छु' भनेर आश्वासन दिएछन्। काठमाडौं फर्केपछि 'बागवीरलाई पुस्तक दिने हो?' शीर्षकको लेख स्याटलाइटको नाउँमा माइसंसार डट कममा प्रकाशित भयो। सात सय कम शब्दको त्यो लेखले विश्वभरिका पुस्तकप्रेमीको मन तरंगित बनाइदियो।

'यसरी पुस्तक जम्मा होलान् भन्ने सोचेकै थिइनँ,' बागवीरले भनें, 'गज्जपै भयो।' पुस्तक दाताको सूचीमा लेखक, पत्रकार, अष्ट्रेलियाबासी नेपालीका साथै भारतीय दूतावाससमेत थिए। अब उनले देखेको सपना एउटै छ - स्नातकको अध्ययन गाउँमै सुरु गर्ने।
 
jellyfesh@gmail.com
साभारः नागरिक 
 

Latest News