Home

जाँदाजाँदै गिरिजाबाबुले के–के भन्नुभयो?

E-mail Print PDF
AddThis Social Bookmark Button
काठमाडौं। भनिन्छ, जीवनको अन्तिम घडीमा मान्छेले सत्य बोल्छ। 
 
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहिद गंगालाल हृदयरोग केन्द्र पुर्यावइनु अघिल्लो दिन आफ्ना सहयोगी एवं परिवारका सदस्यसित अलि झर्किइरहेका थिए। त्यसदिन उनले चिकित्सकहरूसित आफ्नो मनका कुरा खोले 'मलाई राष्ट्रपति हुन दिएनन्। मैले धेरै रिस्क मोलेको त हो नि, होइन र? म कहाँ राजाविरोधी थिएँ र? मैले बेबी किङको प्रस्ताव पठाएकै हुँ, महाराजले मानेनन्। आखिर उनी पनि गए।'
 
आफ्नै पार्टीका नेता राष्ट्रपति हुँदा पनि कोइरालाको मन मानेको रहेनछ। हुन पनि माओवादी नेताहरूले समेत यतिवेला कोइरालालाई राष्ट्रपति नबनाउनुमा गल्ती भएको बताउन थालिसकेका छन्। सम्भवतः मुलुकको प्रथम राष्ट्रपति भएर देह त्याग्न पाएको भए उनीभित्र यस्तो पीडा रहने थिएन र उनले जीवनको अन्तिम घडीमा सहजता अनुभूति गर्थे होलान्। 

अन्तिम घडीतिर आउँदा कोइराला खानेवेलामा पनि रिसाउन र झर्किन थालेका थिए। उनका सहयोगीले पहिले यस्तो अनुभव गरेका थिएनन्। 
 
यसअघि अघिल्लो बिहीबार महाराजगन्जको डेराबाट उनी सुजाताको घर मन्डिखाटार जान्न भन्दै थिए। गत बुधबार बिहानचाहिँ उनले आफ्ना पिए शेखर थापालाई 'डाक्टरलाई फोन लगाऊ' भने। त्यसपछि डाक्टरलाई बोलाएर बल्ल उनलाई छोरीको घरमा सारिएको हो। 
 
अस्पतालबाट घर फर्किएपछि बिहीबार आफ्ना पिए र सहयोगीलाई बोलाएर कोइरालाले 'तिमीहरूलाई धन्यवाद, मलाई सहयोग गर्यौ, अब मैले के नै सहयोग गर्न सक्छु र!' भन्दै बिदा माग्ने भाकामा कुरा गरेपछि उनीहरूले त्यतिवेलै अड्कल काटेका थिए, यो शुभ संकेत होइन। कोइरालाले त्यही वेला भनेका थिए 'माधव नेपाललाई बोलाइदेओ।'
 
शुक्रबार नै अचेत हुने लक्षण देखिएपछि डा. अर्जुन कार्कीलाई अब कोइराला फर्कन्नन् भन्ने लागिसकेको थियो। डाक्टरले फोक्सोमा मेसिनबाट पम्प लगाएर प्राण जगाउने प्रयत्न गरे। धेरैचोटि सिपीआर प्रयोग गरियो। यस्तो गर्दा ढुक्ढुकी बाँकी रहने र तत्काल मृत घोषणा गर्नबाट बच्न सकिन्छ भन्ने विश्वासमा थिए चिकित्सकहरू। शनिबार पञ्चमी तिथि परेको र त्यसअघि मृत घोषणा गर्दा पञ्चकभित्रै पर्ने भएकाले हिन्दु संस्कारअनुसार सकभर दुई/तीन दिन टार्न सकिन्छ कि भन्ने यत्न गरिएको थियो। गंगालालबाट भेन्टिलेटर मगाउने प्रसंग रोकिए पनि सिपीआर, सक्सन, मोनिटर र डिसी सेक्सन झिकाइएको थियो। 
 
डा. मनबहादुर केसीले शनिबार बिहान पौने नौ बजेदेखि सिपीआर चलाए। डा. अर्जुन कार्की र जगदीश अग्रवालको त्यतिवेला खाना खाने समय भएको थियो। धुकधुकी मात्रै रहेको विश्वास गरिएका कोइरालालाई पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई जसरी लामो समय राख्ने अवस्था नभए पनि हिन्दु मान्यताअनुसार शनिबार र पञ्चक दुवै अशुभबाट पार लगाउन खोजिएको थियो। तर, कसैको उपाय लागेन र शनिबार दिउँसै मृत घोषणा गरियो। 
 
कांग्रेसको भविष्य कता? 
 
गिरिजाप्रसादको निधनपछि अब नेपाली कांग्रेसको मात्रै होइन, छोरी सुजाताको राजनीतिक भविष्यसमेत अप्ठ्यारोमा परेको छ। कांग्रेसभित्रको समीकरण कुन दिशातिर जान्छ भन्ने कुराको अहिल्यै निधो छैन। सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केबी गुरुङ, प्रकाशमान, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत अधिकांश नेता माओवादीका कटु आलोचक भएकाले अबको राजनीति मुठभेडतिर जाने सम्भावना पनि छ। तर, यस्तो भएमा भारत, राजा, प्रहरी(प्रशासन, मनी र मसल्स सबैतिर राम्रै पहुँच बनाएका खुमबहादुर खड्का अगाडि आउन सक्छन् र उनले नै विस्तारै कांग्रेसको नेतृत्व हत्याउने सम्भावनालाई पनि नकार्न सकिँदैन। माओवादीसित मिलेर जानुपर्छ भन्ने लाइनका कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला आदिको राजनीतिक भविष्य निकै कठिन बनेको छ। कांग्रेसको नेतृत्व राजासित झुकाव राख्ने परम्परावादीका हातमा गयो भने अग्रगामी भनेर कहलिएका नरहरि आचार्य, गगन थापा आदिको राजनीतिक भविष्य पनि छायामा पर्न सक्छ। 
 
खुमबहादुर यतिवेला माओवादीलाई तह लगाउँछु भनिरहेका छन्। हुन त उनले माओवादी पार्टी सानै भएका वेलामा पनि तह लगाउन नसकेका हुन्, यतिवेला आएर कसरी सम्भव होला? यस्तो प्रश्न एकातिर छ, तर उग्र माओवादीविरोधी धारको अगुवा कांग्रेसी नेता खुमबहादुर नै हुन्। उनी हिन्दुवादी र संवैधानिक राजतन्त्रका समर्थकसमेत हुन्। भारतसित पनि उनले सम्बन्ध सुमधुर बनाएका छन्।

विक्लीनेपालबाट साभार
 

Latest News