Home

किन प्रस्ताव गरे बाबुराम भट्टराईले बादललाई ?

E-mail Print PDF
AddThis Social Bookmark Button
१९ जुन २०१०
श्रोतः नेपाल प्लस 
 
नयाँ सरकार बन्ने नबन्ने। प्रधानमन्त्रीले राजीनामा दिने नदिने। आगामी सरकार काँग्रेसको नेत्रित्वमा बन्ने वा माओवादीको। नयाँ सरकार बनी हाले कसको नेत्रित्वमा बन्ने ? अहिले बहसको विषय बनिरहेको छ। माओवादीमा पार्टीले प्रचण्डकै नेत्रित्वमा सरकार गठन गर्नुपर्ने निर्णय गर्‍यो। तर काँग्रेस र एमालेले स्विकार नगर्ने बताएपछि डा बाबुराम भट्टराई विकल्पका रूपमा अघि सारिए। तर पार्टीभित्र भट्टराईलाई प्रधानमन्त्रीमा स्विकार नगर्ने बताएपछि भट्टराई स्वयंले बादलको नाम अघि सारेका छन्। जन युद्द शुरुकालदेखिनै प्राय प्रचण्डको निकट रहेका बादललाई किन अघि सारे बाबुराम भट्टराईले ?
 
प्रधानमन्त्रीका रूपमा भट्टराईले बादलको नाम अगाडि सारेपछि केही मानिसहरू छक्क परेका छन्, बादल प्रधानमन्त्री हुन लायकका व्यक्तित्व हुन् र ? भन्दै। माओवादीभित्र राम बहादुर थापा ‘बादल’को जति चर्चा गरिन्छ त्यति बाहिर गरिन्न। जति हुनुपर्ने हो त्यति जानकारी सर्व साधारणलाई छैन। बादल जनसेनाको इन्चार्ज रहेका बेलापनि जनसेनाका सर्बोच्च कमाण्डर प्रचण्ड रहेकाले जनसेनाको सफलतासँग प्रचण्डलाई नै मुलत गाँसेर हेरेकालेपनि जनसेनाको सफलतामा बादलको चर्चा कम हुन गयो। त्यसैले पनि उनको नाम प्रधानमन्त्रीका रूपमा सहज नलागेको हो कतिपयलाई। मेडियाका नजिक पुग्ने, लेखहरु छपाउने, विवादमा आइरहने नगरेकालेपनि उनको चर्चा बाहिर कम हुन गयो। मुलत सैन्य क्षेत्र हेर्ने भएकाले पनि बाहिरबाट उनको नीतिगत, राजनितिक ज्ञान र भूमिकालाई कम आँकियो।

तर माओवादी पार्टी भित्र भने बादल नत संगठनात्मक रूपमा कमजोर छन् न नीतिगत रूपमै। माओवादी कार्यकर्ताहरू के भन्छन् भने २०५२ सालमा जनयुद्द शुरु गर्ने निर्णय गर्नासाथै सैन्य नीति बनाउने उनै थिए। त्यो बेलादेखि उनको सैन्य नीति कहिल्यै असफल भएन एकाध आक्रमणमा बाहेक। माओवादी जनसेनाको सर्वोच्च कमाण्डर पार्टी अध्यक्षका हिसाबले प्रचण्ड भएपनि सैन्य नीति बनाउने उनै हुन्थे।

बादल पार्टीभित्र अर्काको आलोचना अति कम गर्ने, कम बोल्ने, दिएको काम पूरा गर्ने, आत्म विश्वासी, ईमान्दार व्यक्तिका रूपमा छवि बनाएका व्यक्ति हुन्। अप्ठ्यारो परिस्थितिमा जोखिम लिने, पार्टी निर्देशनलाई ईमान्दारिताका साथ पालना गर्ने र प्रतिकूल अवस्थालाई अनुकूल पार्न सक्ने अदम्य कला बहेका व्यक्तिका रूपमा चिनिन्छन् माओवादीमा उनी। कार्यकर्ताहरूलाई विश्वासमा लिन सक्ने उनमा विशेष खुबी छ।

माओवादी जन युद्द शुरु गरेपछि पश्चिम कैलाली क्षेत्रमा एक ताक जनसेनाको ठूलो क्षति भयो। त्यसलाई पुर्न बादललाई खटाईयो। पछि पूर्वमा रीतबहादुर खड्का र धनुषाका यादव लगायत पक्राउ परे। संगठन कमजोर बन्यो। उनलाई पूर्वी कमाण्डर बनाएर पठाइयो। पछि काठमाडौं उपत्यकाबाट क्रिष्ण ध्वज, रेखा शर्मा, मुमाराम र जन सेनाका सैन्य ईन्चार्ज लगायत धेरै पक्राउ परे। उपत्यका क्षेत्र कमजोर बन्यो। त्यतिखेर फेरी बादल उपत्यका सम्हाल्न आइपुगे। उनले जहाँ जहाँ नेत्रित्व सम्हाले त्यहाँ त्यहाँ सुधारेरै छोडे।

कठिन र जोखिम पूर्ण अवस्थामा जनताका छोरा छोरीलाई पठाउने गर्छन् प्राय नेताहरू। तर माओवादीले गरेका ठूला आक्रमणमा बादल आफैँ नेत्रित्व गर्थे। त्यसैले पनि उनले पार्टीभित्र धेरैको विश्वास जितेका हुन्। पार्टीभित्र अध्ययनशील नेताका रूपमा गनिएका उनले विश्व क्रान्तिका सैन्य कला र सैन्य रणनीतिबारे राम्रो ज्ञान राखेको बताइन्छ। भाषण गर्न उति पारंगत नमानिएपनि जनता र कार्यकर्ता माझ गएर आफ्ना बिचारहरूमा सहमत गराउन सक्ने विशेष कला भएको चर्चा गरिन्छ। उनले रक्षा मन्त्रालय सम्हाल्दापनि समग्ररुपमा देशको नीति नै बदल्नुपर्ने, सबैलाई समान ब्यवहार गरिनुपर्ने, नातावाद र क्रिपावाद हटाउनुपर्ने भन्दै आफ्नो तर्फबाट कुनैपनि पद र जागिरका लागि व्यक्तिगत तवरबाट सिफारिस नगरेको बताउँछन् माओवादीहरु।

मौका पर्दा क्याम्प बदलिरहने नेताका रूपमापनि चिनिँदैनन् उनी। शुरुदेखि प्रचण्ड नीतिका निकट मानिए पनि उनी ईतर पक्षकासित खरो रूपमा प्रस्तुत भएनन्। माओवादी शान्ति वार्तामा आउनु केही अघि प्रचण्ड र बाबुराम भट्टराईबिच तिब्र मतभेद भएर पार्टी फूटको संघारमा पुग्दापनि पार्टी नीतिलाई सबैले मान्नुपर्ने र मिलाएर लैजानुपर्ने भन्दै समन्वयात्मक भूमिका खेलेका रहेछन् उनले। प्रचण्ड नीतिका निकट रहेपनि बाबुराम पक्षियहरुसितपनि उनको अनावश्यक टक्कर रहेन।

माओवादीका तिन उपाध्यक्ष मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराई मध्ये यी तीनै जना कुनै न कुनै क्याम्प नजिक वा बिचारले फरक छन्। वैद्य भट्टराई पक्षका आलोचक हुन्। जनबिद्रोह गर्नुपर्ने उनको पार्टी नीति भएपनि निकटताका हिसाबले उनी प्रचण्डतिर छन्। अर्का भए नारायणकाजी श्रेष्ठ। उनी प्रचण्डका निकट र वैद्य क्याम्पका विरोधीका रूपमा चिनिएका छन्। पार्टी एकता भएको धेरै नभएकालेपनि उनलाई सहजै प्रधानमन्त्री हुन दिने अवस्था छैन। किनभने प्रधानमन्त्री हुनकालागि श्रेष्ठ भन्दा त्याग गरेका अरूपनि नेता छन् माओवादीमा।

फेरी बाबुराम भट्टराईका आलोचकका रूपमा रहेकालाई पनि प्रधानमन्त्री हुन सहज छैन। पार्टी भित्रका सबै पक्षलाई मिलाएर लैजान सक्ने, सबै बिचारलाई सम्मान गर्न सक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय ज्ञान भएका, प्रचण्ड, वैद्य, बाबुराम र नारायणकाजी का तीनै धारले पत्याउने, उनी प्रधानमन्त्री भए पार्टी भित्र सर्वसम्मत गराउनपनि सहज हुने। नेपाली काँग्रेस र एमालेले पनि आपत्ति नजनाउने संभावना रहेकाले डा भट्टराईले बादललाई अगाडि सारेका हुन्। अहिले राष्ट्रिय सुरक्षा नीति माओवादीको प्राथमिकतामा परेको, जनसेना र नेपाली सेनालाई मिलाएर लैजान सक्ने र त्यसका लागि नीतिहरू बुझ्ने व्यक्तिको खाँचोपनि छ। बादल यी सबै परिस्थितिका लागि उपयुक्त देखिएकालेपनि उनले अगाडि सारेका हुन्।
 
 

Latest News