Home

एनआरएन सरहरुलाई एक मजदुरको पत्र

E-mail Print PDF
AddThis Social Bookmark Button

दुर्गा सुवेदी

सरहरु, दर्शन हजुर, यो नेपाली श्रमिकका तर्फबाट

सरहरु, सर्वप्रथम म मेरो संक्षिप्त परिचय दिने अनुमति माग्छु । यहाँहरुलाई थाहै होला हजुरहरुले भर्खरै क्षेत्रीय सम्मेलन नामको एक भेला गरेर गएको दुबई । त्यही आसपासका एक सडकमा म पनि ४० डिग्री तापक्रमको अण्डा पाक्ने गर्मीमा निर्माण कार्यमा सहभागी भइरहेको छु । र, मजस्ता करिव १५ लाख नेपाली दाजुभाई यो अरवक्षेत्रमा यसैगरि पसिना बगाइरहेका छौं ।

 

खै मलाई त त्यति जानकारी भएन, तर सरहरु हालै दुबईको एक तारे होटलमा वास बसेर हामीलाई सुरक्षित बनाउनेबारे चिन्ता जाहेर गर्नुभयो रे । एकमन खुसी पनि लाग्यो, यो तातोमा हामीले बगाएको पसिना र पाएको दुखबारे एकआध बन्धुहरु त चिन्तीत हुनुहुँदो रहेछ । अनि अर्कोमन दुःखपनि लाग्यो तपाईहरुले कहाँ, कसरी र के भनेर हामीप्रति चिन्ता देखाउनुभयो । म र मजस्ता १५ लाख अज्ञानी नेपाली नागरिक-कृपया गैरअवासीय नेपाली भनेर नबुझ्नुहोला) अनबिज्ञ भयौं सरहरु ।

सरहरु सुकिला मुकिला हुनुहुन्छ, दुईचार अक्षर अंग्रेजी पढेर स्तरीय जीवन जीउन बिदेशीनुभएको छ, देश बिदेशका समाचारमाध्यत त पक्कै पढनुहुन्छ होला । हजुरहरुलाई थाहा होला कि तपाई आएको यही दुबई भनिने ठाउँमा पनि बाषिर्क दुई सय नेपालीले काम गर्दागर्दै प्राणपखेरु त्याग्छन । त्यसछेऊका अन्य अरब मुलुकमा गएको सन् २०१० मा मात्र ८ सय भन्दा बढी नेपालीले ज्यान गुमाएछन् । सुरक्षित आप्रवास र सामुहिक लगानीको नारा लिएर तपाईहरु तारे होटलमा बसेर हाम्रा पक्षमा घोषणापत्र जारी गरेको पनि सुन्यौं । तर सरहरु ८ सय नेपालीको चिहानमाथि उभिएर हजुरहरुले खास के भन्नुभयो ? तपाईले म र मजस्तै मृत्युलोकमा पुगेका नेपालीका लागि के गर्नुपर्छ भन्नुभयो ? र, अरु मारिनबाट जोगिन केही ब्यबस्था पनि गर्नुभयो कि ?

लाखौं रुपैयाँ साहुको रिन बोकेर अरब आएका हामीहरु भनिनसक्नुका पीडाहरु सहेर बसेका छौं । काम गर्दा गर्दै धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको छ, तपाईहरुजस्तै सुकिला मुकिला मेनपावरका साहुले ठगेर सयौं नेपाली काम न दामको अबस्थामा गुजि्रनुपरेको छ । जव हाम्रा साथीहरुको प्राण पखेरु उड्छ तव हामी मरुभूमिमा युद्ध गरिरहेका सिपाहीजस्ता हुन्छौं, न उसको शव नेपाल पठाउने स्थीति हुन्छ, न उसका आश्रति परिवारलाई दुईचार पैसा कसैले दिन्छ । तैपनि मजस्तै दुईचार पैसा कमाउने आशमा आएका साथीभाई मिलेर सहयोगका लागि हारगुहार गछौं दुईचार पैसा जुटाउंछौं र शब नेपाल पठाउंछौं । यो हाम्रो नियमित आकस्किताबिच तपाईहरु आएर तारे होटलमा हजारौं डलरको दारु पिउनुभयो रे, नेपालबाट केही थान कलाकार र पत्रकार बोलाएर आफ्ना वरिपरि घुमाउनुभयो रे । देखिजान्नेहरु भन्छन तपाईहरुले ती होटलमा बगाएको रक्सीले नेपालमा कम्तीमा एउटा अस्पताल, दुईचारवटा स्वास्थ्य चौकी, दुई तीनवटा एम्बुलेन्स किन्न सकिन्थ्यो रे ।

तपाईहरु दुबई आएर क्षेत्रीय तहको सम्मेलन गर्दा, नेपाली श्रमिकहरुको मृत्युकुण्डमा आएर रमाउँदा पनि तपाईहरुले यहांका अलपत्र, मृतक, घाइते र पिडीत नेपाली श्रमिकलाई उद्धार गर्न एउटा भलाई कोषको ब्यबस्था गर्न सक्नुभएन् । तपाईहरु ठूला लगानीकर्ता हुनुहुन्छ, नेपालमा लाखौं डलर लगानी गर्ने उद्घोष गर्नुहुन्छ, तर किन दुई चार सय डलर निकालेर गरिव, दुःखी र पीडा खेपिरहेका नेपाली श्रमिकको उद्धारका लागि ठूलो छातीभएको देखाउन सक्नुहुन्न ?

मैले मानें, तपाईहरु दुबई आएर सुरक्षित आप्रवासनका लागि खुवै चिन्तीत हुनुभयो रे । तर, सरहरु भाषणमात्र गरेर के हुन्छ ? सुरक्षित अप्रवासनका लागि के गर्नुपर्छ भन्ने सवैलाई थाहा छ, नेपालमा मन्त्रालयमा पनि थुप्रै एनजीओ, आईएनजीओले अध्ययन प्रतिबेदन दिएकै होलान, हाम्रा महामहिमहरुलाई पनि त्यसबारे राम्रै ज्ञान छ । तर, हामीलाई चाहिएको काम हो काम । काम गरेर देखाउनुस ।

मजस्तै गरिव नेपालीहरु अहिले हाउसमेडको नाममा अरबी मुलुकहरुमा आईरहेका छन तर उनीहरुले आफ्नो सीप र श्रम हैन शरिर बेच्न बाध्य छन् । आधुनिक बम्बईको कोठीमा परिणत भएका यी अरबका कोठीहरुमा तपाई हाम्रा छोरी चेलीले कसरी जीवन बिताइरहेका छन के एनआरएन सरहरुले यसबारे ध्यान दिनुभएको छ ? उनीहरुलाई बिना तालिम, अनुहार हरेर अरवतिर आयात गरिन्छ र अरवी सरदारहरुका घरमा आसिन पुरुषरुपी राक्षसहरुलाई निःशुल्क भोग गर्न दिइनछ । उनीहरुलाई अरब ल्याउन तल्लीन एनआरएन भन्ने पबित्र संस्थाकै सरहरु हुनुहुन्छ भन्ने तितो सत्य मैले बोल्नैपर्छ । अनि आफै बोक्सी आफै धामी कसरी हुनुहुन्छ एनआरएन सरहरु ? अरवक्षेत्रमा तपाईका जुन नेताहरु छन उनीहरुले नेपालमा म्यानपावर एजेन्सी चलाईरहेका छन नेपाली श्रमिकको बेचबिखन गरिरहेका छन् ।

हामीले नेता मान्नुपर्ने भनि तपाईले तोकिदिएका यस क्षेत्रका एनआरएन नाइकेहरु बिदेशी एजेन्सीसंग भिसा दलाली गरि नेपाली श्रमिकका थाप्लाका कम्तीमा दश हजार रुपैयाँको भार थप्न सक्रिय हुनुहुन्छ । सरहरुको सक्रियता र आगामनले नेपालीहरुको भिसाशुल्क बढेको छ भने सरहरुका घरपरिवार र आश्रति मोटाइरहेका छन् ।

माफ गर्नुहोला सरहरु, तपाईहरुको भेला हुने, लाखौं रुपैयाँ जाँडमा उडाउने, नेपालका चलेका कलारका मगाएर राजसी शैलीमा मनोरञ्जन लिने नैसर्गिक अधिकारमाथि मैले प्रश्न उठाएँ, तपाईहरुले गरेका पवित्र भाषणमाथि मैले थोरैभएपनि करनीको पक्ष खोजे । त्यसमा पनि मेरो आफ्नै तर्क छ । किनकी तपाईहरु बिदेश बसेर पनि आफैंले देश चलाएको जस्तो, आफ्नै कारण मुलुक टिकेको जस्तोमात्र गर्नुहुन्न, आफुलाई मुलुक चलाउन दिनुपर्नेसम्म माग गर्न थालिसक्नुभएको छ ।

अर्को कुरा तपाईहरुले सामुहिक लगानीको कुरा गर्नुभएछ । तपाईहरुमध्ये कतिजना नेपालमा लगानी गर्नसक्ने हैसियतमा हुनुहुन्छ ? बिदेशमा बसेर एकदुई हजार डलरको जागिर खाएर एनआरएनको पदमा बस्ने अनि बिदेशी नागरिकता धारणा गर्ने तपाईहरुबाट मुलुकले लगानीका लागि के आश गर्ने ? हो, कमाउनका लागि बिदेश आएका हामीजस्ता नागरिकको दुई चार पैसा ठूला परियोजनामा लगानी हुन सके नेपालमा लोडसेडिङ हटथ्यो होला, हाम्रा भाई बहिनीहरुले तीनै आयोजनामा जागिर पाउँथे होला । तर खै कुन संयन्त्र बनाएर तपाईले हामीजस्ता नेपाली नागरिकलाई आह्वान गर्नुहुन्छ र बिश्वास दिलाउनुहुन्छ तिमीहरुले कमाएको पैसा हामीलाई देऊ हामी लगानी गरिदिन्छौं भनेर ? तपाईहरुका कुरा कुरामै सिमित रहे, एक करोड डलरको कोष बनाउने सपना बाँडनुभएको पनि निकै भयो तर अहिलेसम्म एक करोड रुपैयाँ पनि एनआरएनका नेताहरुबाट लगानी भएको छैन् ।

तपाईहरु खासमा बिदेशमा बसेको उच्चबर्गका नेपालीहरु हो जुन अबसरको खोजीमा बिदेश हान्नियो, घरपरिवार त्याग्नुभो, देश त्याग्नुभयो, नागरिकता त्याग्नुभो । अनि अहिले मुलुक सम्बृद्ध बन्ला र हामी त्यसको फल पाउन नसकौंला कि भनेर सरकारसित बार्गेनिङ गरिरहनुभएको छ । तपाईहरु दुई चार हजारको संख्यामा रहनुभएका टाठा बाठा पूर्व नेपाली नागरिकहरुले हामी बाध्यतामा बिदेशिएका तर पछि नेपाल फर्केर घरपरिवारको हेरचाह गर्ने नेपाली नागरिकलाई आफ्नो भिडमा मिसाएर के स्वार्थ सिद्ध गर्न खोज्नुभएको हो ? यहाँहरुलाई याद रहोस, हामी नेपाली नागरिक हौं हामी नेपाल फर्केर आफ्नो खेतवारीमा काम गर्न तयार छौं तर दोहोरा नागरिकता हामीलाई चाहिदैन् ।

तपाईका यस्तै अमिल्दा माग, कथनी र करनीमा भएको फरक तथा धुर्त कुरा गर्ने बानीले बिदेशीएका आम नेपाली श्रमिक तपाईको संस्थाप्रति आर्कषिर्त भएका छैनन् । तपाईहरु जहिले पनि हामी नेपाली गरिव जनताको भीड देखाएर आफ्नै सरकारसित बार्गेनिङ गर्नुहुन्छ, चाहिने नचाहिने सर्त राखेर लबिङ गर्नुहुन्छ अनि नेपालमा लगानी गरेर नाफाजति बिदेश ल्याउन पाउनुपर्ने सर्त अघि सार्नुहुन्छ ।

त्यसैले सरहरु कृपा गरेर नेपाल सरकारले तपाईहरुलाई दिएको परिचयपत्र लिनुस र उसले तोकेको सीमाभित्र रहेर नेपाल आउने जाने सकिन्छ भने लागनी गर्ने गर्नुस् । हैन भने सम्मेलन गर्ने नाममा नेपाली जनताको रगत पसिनाबाट संकलित लाखौं रुपैयाँ राजश्व माग्ने अनि बिदेशी रक्सीको आहलमा डुब्ने काम बन्द गर्नुस् । सुरक्षित आप्रवासन सरहरुको न रुचीको कुरा हो र रुची गरेर पनि केही गर्न सक्ने हैसियत त्यसैले आफ्नो ब्यापार बढाउन हामी गरिव नेपाली श्रमिकलाई ढाल नबनाउनुस है सरहरु ।

लौ त बिदा पाउँ, यो अज्ञानीले हजुरहरुका काम कर्तब्यमा प्रश्न उठाएको क्षमा माग्दै प्रष्टीकरण दिन मन लागे यसै मिडियामार्फत उत्तर पठाउनुहुन अनुरोध गर्दछु ।

श्रोत- अनलाईन खबर डटकम   

 

Latest News