रूद्र श्रीसमगर
पोखरा, ९ साउन
पर्वतको भोक्सिङका प्रतिभाशाली किशोर राजन गुरुङलाई उच्च शिक्षा अध्ययनका लागि पोखरा इञ्जिनियरिङ कलेजले सघाउने भएको छ । आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित प्रवेशिका उत्तीर्ण राजनलाई इञ्जिनियरिङ डिप्लोमा अध्ययनका लागि कलेजले निःशुल्क पढाउने कलेजका प्रशासन प्रमुख एवं तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले जानकारी दिनुभयो । तर, त्यसका लागि भने राजनले यही साउन १२ गते हुने सीटीईभीटीको प्रवेश परीक्षा भने उत्तीर्ण गर्नुपर्नेछ ।आइतबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कलेजका प्रशासन प्रमुख गुरुङले राजनलाई डिप्लोमा तहको ओभरसियर अध्ययनका लागि करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको अध्ययन शुल्क मिनाहा गरिने जानकारी दिनुभयो । भविष्यमा राजनले राम्रो गर्दै गएकामा स्नातक तहको पढाइ पनि निःशुल्क गर्न सकिने बारेमा आफूहरूले सोंचिरहेको भन्दै गुरुङले आफ्नो प्रतिभालाई मर्न दिन नहुनेमा जोड दिनुभयो ।
ह्वाइट लोटस स्टुडियो प्रालिद्वारा सञ्चालित तमुमै ताँ डटकमद्वारा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता सरिता गुरुङको पहलमा देश तथा विदेशका विभिन्न सहयोगदाताहरूबाट संकलित ७८ हजार २ सय ५० रुपैयाँ, तमु समाज ओमानका तर्फबाट प्रतिनिधि पदम गुरुङद्वारा ५० हजार १ सय ११ रुपैयाँ, मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’बाट ६ हजार रुपैयाँ, ट्रिनिटी एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक डीबी गुरुङबाट ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा सहयोग रकम ग्रहण गर्दै प्रतिभाशाली किशोर वैज्ञानिक राजन गुरुङले आफूले सबैको साथ र सहयोगलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै राजनले भविष्यमा पानीबाट चल्ने इञ्जिन र फाइटर ड्रोन बनाउने आफ्नो योजना रहेको सुनाए । कार्यक्रममा बोल्ने वक्ताहरूले राजनको प्रतिभालाई मर्न दिन नहुने र त्यसका लागि सबैको सहयोग र अभिभावकीय भूमिका आवश्यक रहेको बताएका थिए ।
ह्वाइट लोटस स्टुडियो प्रालिका प्रबन्ध निर्देशक युग गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रोशनी गुरुङले गर्नुभएको थियो ।
{gallery}gallery/rajan_gurung_news.zip{/gallery}