बिहिवार, 10 सेप्टेम्बर 2009 07:42 नागरिक
गिरीश गिरी,नेपालगन्जमा रुद्र खड्का, काठमाडौं, भदौ २४- शल्यक्रिया सम्पन्न भएपछि रुकुमकी २० वर्षीया कमला चन्दलाई सोधियो, 'तपाईंलाई काठमाडौं कसले ल्यायो?'
उनले मुखमा लगाइएको अक्सिजन मास्क हटाउने कोशिस गरिन्, त्यो थोरैमात्र सर्यो र मुस्किलैले सुनिने आवाज निकालिन्, 'पुलिसले।'
दुर्गम जिल्लामा मृत्युसँग जुध्दै गरेकी कमलाले सायद अलि पछि थाहा पाउलिन्, उनलाई हेलिकोप्टरबाट बुधबार उद्धार गरेर ल्याउने स्वयं मुलुकका प्रधानमन्त्री थिए र उनको जीवनको मूल्यमा त्यही दिन बिहान नौ बजे तोकिएको क्याबिनेट बैठक रद्द भएको थियो।
'अचम्म,' शल्यक्रिया कक्षतर्फ जाँदै गर्दा थापाथलीस्थित प्रसुति गृहकी निर्देशक डा. लता वज्राचार्य नागरिकलाई भन्दै थिइन्, 'मेरो यत्रो करियरमा यो देशका 'ठूला मान्छे' ले गरेको पहिलो यस्तो काम देखें।'
सुदूरपश्चिममा 'शिक्षाका लागि नेपाल यात्रा' उद्घाटन गर्न पुगेका प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबारको रात नेपालगन्जमै बिताएर बुधबार बिहानै काठमाडौं आउने तयारीमा थिए। रुकुमका पूर्व जिविस सभापति खेममान खड्काले उनको 'हटलाइन' मा फोन गरे। प्रधानमन्त्रीले फोन साथै रहेका प्रेस सल्लाहकार बिष्णु रिजाललाई दिए र कुरा बु‰न लगाए। सुत्केरी हुनु ठीकअगाडि रक्तश्राव भएकी सिकिस्त महिलालाई ज्यान बचाउन केही गरिदिनुपर्यो भन्ने आग्रह थियो। जिल्ला अस्पतालका चिकित्सकहरूले तत्काल काठमाडौं नपुर्याए केही घन्टाभन्दा बढी नबाँच्ने घोषणा गरेपछि स्थानीय वासिन्दा प्रमुख जिल्ला अधिकारीकहाँ पुगेका थिए। प्रजिअले यस्तो कुरा प्रधानमन्त्रीलाई सोझै भन्न नमिल्ने भएकाले खड्काको सहायता मागिएको थियो।
'तुरुन्त पाइलटसँग कुरा गर्नुस्,' प्रधानमन्त्रीले उतिबेलै भनेको स्मरण गर्दै रिजालले नागरिकलाई सुनाए, 'हामीले गरेर कसैको ज्यान बच्छ भने त्यो ठूलो कुरो हो।'
प्रधानमन्त्रीलाई लिन नेपालगञ्ज पुगेको सेनाको सुपरपुमा हेलिकोप्टरका पाइलट पनि त्यसका निम्ति तयार भए। तर रुकुमबाट सोझै काठमाडौं पुग्न तेलले भ्याउँदैन थियो। पोखरामा रोकिनुपर्थ्यो।
'नौ बजे तोकिएको क्याबिनेट बैठकका कारण प्रधानमन्त्री अप्ठेरोमा पर्नुभएको थियो,' रिजालले भने, 'तैपनि उहाँले अडान लिनुभयो र हेलिकोप्टर रुकुम उड्यो।'
रुकुममा ओर्लने बित्तिकै भीडले बिरामी र उनका दाजु मानबहादुर मल्ललाई हेलिकोप्टरमा चढाइदिए। तत्कालै उडेको हेलिकोप्टरले उचाइ लिने बित्तिकै प्रधानमन्त्रीले झनै आत्तिएकी बिरामीतर्फ हेरे र सोधे, 'कस्तो छ अहिले?' जवाफमा मानबहादुरले बहिनी बोल्न नसक्ने बताए।
'त्यसपछि उहाँले मलाई आफू बसेको सिटैनिर बोलाएर पैसा छ कि छैन भनेर सोध्नुभयो,' मानबहादुरले भने, 'मैले १० हजार रुपैयाँ बोकेर ल्याएको सुनाएँ।'
पोखरामा तेल भरिरहेकै बेला प्रधानमन्त्रीले काठमाडौं विमानस्थलमा एम्बुलेन्स तयार पार्न आदेश दिए। सवा दस बजे काठमाडौं ओर्लंदा एम्बुलेन्स तयार थियो। 'एम्बुलेन्समा चढाउने बेलामा पनि प्रधानमन्त्री नै अघि सर्नुभएको थियो,' यसअघि १४ वर्षअघि रुकुममै गिरिजाप्रसाद कोइरालालाई मात्र प्रधानमन्त्रीका रूपमा प्रत्यक्ष देखेको बताउने मानबहादुरले भने, 'त्यसपछि प्रसुतिगृह लैजाने आदेश पनि उहाँले नै दिनुभएको थियो।'
प्रसुतिगृहमा बुधबारै दिउँसो शल्यक्रिया गरेर कमलाको गर्भबाट मृत शिशु निकालिएको थियो। 'पेटभित्रै साल छुट्टिँदा सात दिनदेखि रक्तश्राव भएको रहेछ,' शल्यक्रियामा संलग्न डा. सुधा थापाले भनिन्, 'आमाको शरीरबाट बच्चामा रगत जाने त्यो बाटो अलग भएपछि गर्भमै बालकको मृत्यु भइसकेको थियो भने आमा शल्यक्रिया गर्नसमेत रगत नपुग्ने 'सिभियर एनिमिया'को अवस्थामा पुगिसकेकी थिइन्।' चिकित्सकका अनुसार शल्यक्रिया गर्दा उनको शरीरमा हेमोग्लोबिनको मात्रा ३.८ थियो भने रक्तचाप ६०-१००। 'अप्रेसन सफल भएको छ,' डा. थापाले भनिन्, 'आशा गरौं, उनलाई अब केही हुने छैन।' अवस्था सामान्य भइदिएको भए अबको एक सातामा उनी सुत्केरी हुने थिइन्।
'बहिनी बाँचेको देखेर खुशी लागेको छ,' सदरमुकामभन्दा दुई घन्टा परको रातमाटा गाउँमा सामान्य खेतीकिसानी गरेर जीवन गुजार्ने गरेको बताउने मानबहादुरले भने, 'आजसम्म गाउँमा यस्तो हुँदा सबैको मृत्युमात्र देख्दै आएको थिएँ।'
पाँच वर्षअघि बिहे गरेकी कमलाका श्रीमान दिनेश चन्द र तीन वर्षीया छोरी गाउँमै छन्।
प्रधानमन्त्री नेपालले नागरिकको जीवन महत्वपूर्ण ठानेर गर्भवती कमलाको उद्धार गरेको बताएका छन्। 'उनको उद्धारले मन्त्रिपरिषद् बैठक बस्न सकेन,' उनले बुधबार साँझ नागरिकसँग भने, 'मन्त्रिपरिषद् बैठक त फेरि पनि बस्न सक्छ।'
उनी नेपालगञ्जमा रहँदा कमलाको अवस्थाबारे रुकुमबाट फोन आएपछि सँगै रहेका सहयोगीले 'हेलिकप्टर आउन सक्दैन' भन्ने जवाफ दिएको प्रधानमन्त्रीले सुने। प्रधानमन्त्री आफैलें फोन मागेर 'हामी हेलिकप्टर लिएर आउँदैछौ' भने।
'जाने कि नजाने? मौसम के छ? सुरक्षाको प्रश्न थियो,' उनले भने, 'मैले जाऔं भनेँ।'
'मैले सुरूमा हेर्दा उनी निराश थिइन् तर हेलिकप्टरबाट ओर्लिएपछि उनमा आत्मविश्वास देखेँ। डाक्टरले तीन घन्टामा उपचार नभए ज्यान जानसक्छ भनेका थिए। उनलाई उद्धार गर्न पाउँदा मलाई सन्तोष लागेको छ।'
साभार : नागरिक










