पुरु जोशी
२०१३ मार्च २०
यहि मार्च १७ का दिन दोङ्देमुन स्थित ग्याङ्दोङ चर्चमा दक्षिण कोरियाका नेपाली महिलाहरुको साझा संस्था वोमन फर वोमन, भिजन नेपाल नेटवर्क र नेपाल कोरिया न्युज डट कमको संयुक्त आयोजनामा समाजसेवी दिल शोभा श्रेष्ठ सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । बिगत १७ बर्षदेखि अनवरत रुपमा नेपालका असहाय वृद्धवृद्धाहरु तथा अनाथ बालबालिकाहरुको पालन पोषण गर्दै आउनु भएकी समाजसेवी दिल शोभालाई उनको कार्यको सम्मान स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको थियो । जस अन्तरगत कोरियामा रहेका थुप्रै नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु एवम् कोरियनहरुका साथ बिशिष्ट ब्यक्तिहरुले एकसाथ समाजसेवी दिलशोभा श्रेष्ठलाई सम्मान गरेका थिए ।१०२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रममा समाजसेवी दिल शोभा श्रेष्ठलाई नै प्रमुख अतिथिको आसन ग्रहण गराइएको थियो भने कार्यक्रमको सभापतित्व वोमन फर वोमनकी अध्यक्ष जुनु गुरुङले गरेकी थिइन् । त्यसैगरि वोमन फर वोमनकी उपाध्यक्ष मल्लिका थकालीद्वारा स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संयोजक आस्था बिन्दु मल्ल रहेकी थिइन् ।
नेपाल कोरिया न्युज डट कमका सम्पादक गिरीराज कुँवरद्वारा संचालित उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाहरु तथा ब्यक्तिहरुबाट लगभग ७० लाख वन् सहयोग संकलन गरिएको थियो ९सहयोगदाताहरुको नामावली छिट्टै नै प्रकाशित हुनेछ० । वोमन फर वोमनको सकृयतामा संकलन गरिएको उक्त रकमलाई वोमन फर वोमनको तर्फबाट दिलशोभा श्रेष्ठलाई सोही दिन हस्तान्तरण गरेका थिए ।
भिजन नेपालको विधिवत उदघाटनः
समाजसेवी दिलशोभा श्रेष्ठ सम्मान कार्यक्रम कै क्रममा भिजन नेपाल नेटवर्कको बिधिवत उदघाटन गरिएको थियो । दिलशोभा श्रेष्ठद्वारा औपचारिक रुपमा ब्यानर खोली उक्त संस्थाको उदघाटन गरिएको थियो । संस्थाकी अध्यक्ष आस्था बिन्दु मल्लले समाजसेवा गर्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाको उदघाटन समाजसेवी दिलशोभा श्रेष्ठको हातबाट गर्न पाउनु सौभाग्य रहेको बताएकी थिइन् ।
सेगील चर्चबाट १० लाख वन् सहयोगः
सो दिन वोमन फर वोमनलाई सहयोग गर्दै आईरहेको सेगील चर्चबाट बिशेष रुपमा दिलशोभा श्रेष्ठलाई १० लाख वन् सहयोग गरिएको थियो । उक्त चर्चका पाष्चर जो बोङ गीले मन्तब्यको क्रममा भबिष्यमा नेपाल भ्रमण गरी दिलशोभा श्रेष्ठलाई भेट्ने ईच्छा समेत ब्यक्त गरेका थिए ।
नेपाल कोरिया न्युजबाट ५ लाख वन् सहयोगः
सो दिन नेपाल कोरिया न्युज डट कमद्वारा गत सलनालमा आयोजित भाग्यशाली चिठ्ठा कार्यक्रमबाट संकलित रकम मध्ये नगद ५ लाख वन् दिल शोभा श्रेष्ठलाई सहयोग गरेको थियो । नेपाल कोरिया न्युज परोपकार अभियान कोष अन्तरगत उक्त रकम नेपाल कोरिया न्युजका संचालक पुरु जोशी सम्पादक गिरीराज कुँवर र सह सम्पादक सन्तोष श्रेष्ठले संयुक्त रुपमा दिल शोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
मार्च २४ तारिख किम्हेमा सम्मान गरिनेः
दिल शोभा श्रेष्ठको सम्मानमा यहि मार्च २४ का दिन किम्हे वरपरका क्षेत्रहरुमा बसोवास गर्ने नेपालीहरुले किम्हे माईग्रेन्ट मिसन चर्चमा एक सम्मान कार्यक्रमको आयोजना गरी भब्य रुपमा सम्मान गर्ने भएको छ । किम्हे माईग्रेन्छ हासउ नेपाली सम्पर्क समिति बुसान शाखा र एन आर एन बुसान क्षेत्रीय कमिटीको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मान कार्यक्रम मार्फत त्यस क्षेत्रका नेपालीहरुले दिल शोभा श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।