Home विचार / दृष्टिकोण लाखौ नेपालीहरुलाई दोश्रो दर्जाको नागरिक बनाउने षडयन्त्र

लाखौ नेपालीहरुलाई दोश्रो दर्जाको नागरिक बनाउने षडयन्त्र

E-mail Print PDF
AddThis Social Bookmark Button
थर्क राना, क्याम्बेर्ली, बेलायत

हालै नेपाली पत्रपत्रिकाहरुमा देखिएको समाचार अनुसार नयाँ बन्ने सँविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक अधिकार र मतदान गर्ने अधिकार बिनाको नागरिकता दिने व्यवस्था हुने भन्ने बुझिएको छ। यस विषय प्रति सम्पुर्ण विदेशवासी नेपालीहरुको ध्यान आकर्षित हुन अत्यन्तै जरुरी देखिन्छा। यो समाचारले बेलायतमा नेपाली बजार जसरी तातेको छ, त्यसरी नै सीधासाधा हरुको पनि कान्सिरी तातेको छ।

यदि यो समाचार साँचो हो अनि गोर्खालीहरु र सम्बंधितहरुलाई समेत यो नियम लागु गराउने दुस्प्रयास गरिएको हो भने यस कार्यले निश्चित रूपमै लाखौंको संख्यामा विदेशमा रहेका सोझा, सीधासादा, इमानदार तथा देशभक्त नेपालीको मर्म मा आघात पुर्याउने मात्र होइन दुई देशको संधि सम्झौता अनुसार पठाइएका गोर्खा परिवार र उनीहरुका सम्बंधितहरुको योगदानको कदर गर्दै बेलायत र हङकङले समेत दिएको नागरिकता कामको लागी बाध्यतावस लिन परेता पनि उनीहरुको नेपाली नागरिकता कायमै राख्न पाउने र उनीहरुका विदेशमा जन्मेका / जन्मने संततिहरुले समेत वँशजको आधारमा नेपाली नागरिकता लिन पाउने अधिकारको प्रावधान गरियोस भन्ने माग प्रति पनि ठाडो प्रहार गरिएको प्रस्ट हुन आउँछ। त्यति मात्र होइन यो जमात र भविष्यमा जन्मिने उनीहरुको संतानहरुलाई समेत नेपालबाट नाल नै काटीदिने र गैरनेपाली तथा दोस्रो दर्जाको नागरिक बनाउने षडयंत्र रचेको प्रस्ट हुन्छ। सांचै नै यो कुरा संविधानमै लेखिने हो र अन्य एनआरएनलाई जस्तै प्रवासी गोर्खा समुदायलाई समेत यो नियम लागु गरिने हो भने यो समुदाय प्रति ठुलो अन्याय गरेको ठहरिने छ।
 
मताधिकार बिनाको नागरिकता को कुनै अर्थ रहंदैन। भन्ने नै हो भने यस्तो नागरिकता लिनू भनेकै आफ्नो देशबाट नै सदाको लागि बिदा स्विकार्नु जस्तै हो। यसो गर्नु हुँदै हुन्न र गर्न पनि पर्दैन। बेलायत र संसारका अन्य देशहरुले समेत द्वैध नागरिकताको प्रावधान राखेको अवस्था छ। फलत गोर्खा र उनीहरुका सम्बंधितहरुको योगदानको कदर गर्दै उनीहरुको नागरिकता दिईराखेका छन् भने नेपालका नेताहरुले पनि यस्तो उधाहरणिय कार्यको अनुसरण गरेर उदारता देखाउन किन कन्जुस्याई गरिरहेका छन्? आखिर घाटा के मा र कस्लाई हुन्छ? बरु यसो गर्न सकेमा दक्ष जनशक्ति र उनीहरुको सीप र सम्पति त नेपाल फर्कने थियो।

विदेशमा जन्मेका र यतै दिक्षित भएका नेपाली युवाहरुले चाहेमा आफ्नो देशमा गएर शासन सत्ता र देश निर्माण कार्य मा सहभागी हुन किन नपाउने? यो त उनीहरुको जन्मसिध्द नै अधिकार हो। तर नेपाली शासकहरुले भने जानी जानी बुझ पचाई रहेका छन् र लाखौं नेपाली हरुलाई अधिकार विहिन र गैर नेपाली बनाउने गैर जिम्मेवारीपूर्ण र गैर कानूनी चक्रव्युह रचिराखेका छन्। उनीहरुको चिन्ता भनेको आफ्नो कूर्ची सदाको लागी कसरी जोगाउन सकिन्छ र जसरी पनि जोगाउन पर्छ भन्ने रहेको प्रस्ट हुन्छा। एस्तो महाजाल वा चक्रव्युह को लक्षित वर्ग - हामी सम्पूर्ण विदेशवासी नेपालीहरु तथा बहुसंख्यक गोर्खालीहरु बेलैमा सचेत भई एकजुट भएर संगठित रूपमै प्रतिकार गर्न र आफ्नो र आफ्नो संततिको अधिकार सुनिश्चित गर्न अविलम्व लाग्नु पर्ने देखिन्छ - समय एकदमै कम छ ! 

(लेखक मगर संघ बेलायत का निवर्तमान अध्यक्ष हुन्।)
 

Latest News