Home विचार / दृष्टिकोण युवा बेरोजगारी र आत्महत्या

युवा बेरोजगारी र आत्महत्या

E-mail Print PDF
AddThis Social Bookmark Button
गोविन्द सिँजाली मगर

वर्ष १८ की सरुको आजकल खुशीको सीमा छैन किनकी उनले पढ्नुको अर्थ घर परिवार समाजलाई बुझाउन सकेकी छ। घरपरिवारले उनीबाट पढाउनुको हिसाबकिताब मिल्ने छाँटकाँट देखिइरहेको छ। तसर्थ उनमा गौरवको पराकाष्टा छोएझैं लागिरहेको छ। उनी खुशी हुनुमा एउटै कारण छ उनले भर्खरै जागिर पाएकी छिन्। यता वर्ष २५ का सविन हिजो आज खुबै चिन्तित छ। उनले गत वर्ष स्नातकको अध्ययन सकेका हुन्। जागिरको लागि विगत एक वर्षदेखि उनी भौंतारिरहेका छन्। उनले जागिरलाई पच्छ्याइरहेका छन् तर अहँ भेट्न सकेको छैन। घर परिवारको सल्लाह मुताविक उनी विदेश जान खोजे। राम्रो तलब पाउँछ रे भन्ने सुनिएको कोरियाका लागि उनले परीक्षा दिए तर फेल भए। शिक्षित बेरोजगार सविन अब खाडी राष्ट्रतिर जाने बारे सोंच्दैछन्। उता वर्ष २२ का कृष्णबहादुर लाहुरे हुन चाहन्थे। दुई पटक उनी एआरओ सेलेक्सनमा फालिए। गत वर्ष उनको नेटमा नाम निस्किएन। उनलाई अहिले जीवनदेखि विरक्त लागिरहेको छ। उनी चिन्तित छन्। बुवा आमा तथा आफ्नो सपना पूरा गर्न नसक्दा उनी नशामा फस्न पुगेका छन्।

सरु, सविन र कृष्णबहादुर हाम्रो समाजका युवा वर्गका प्रतिनिधिहरु हुन् जो देशमै बसेर केही गर्न चाहन्छ तर रोजगारीको अभावमा आफ्नो अमूल्य समयलाई विनाकारण खर्चिरहेछ। अहिलेको अवस्थामा युवा वर्गको सबैभन्दा समस्या बेरोजगारी बन्दैछ। जसका कारण युवा वर्ग गलत कार्यमा लाग्ने गरेको उदाहरण हाम्रो समाजमा प्रशस्त पाइन्छ। थुप्रै युवा वर्गको आँखा एकाबिहानै प्रकाशित हुने पत्रिकाहरुमा रोजगारी, आवश्यकता जस्ता सूचनाहरुमा पुग्छ। उनीहरुलाई पत्रिकाको समाचार भन्दा पनि रोजगारीको अवसर कहाँ पाइन्छ भन्ने विषयवस्तु महत्वपूर्ण बनेको हुन्छ। हाम्रो समाज देशका युवा वर्गले भोगेको यो कटु यथार्थ पनि हो।
 

बढ्दो बेरोजगारीसँगै युवा वर्गलाई राजनीतिक पार्टीले पनि दुरुपयोग गरिरहेका छन्। युवा वर्गलाई लडाकु जत्था निर्माणमा अभिप्रेरित गरेर बेरोजगार युवालाई नेताहरुलाई दुरुपयोग गरेको उदाहरण हामी सामु प्रशस्त छन्। प्रत्येक चुनावहरु युवा वर्गलाई रोजगारीको आशा सन्चार गराउने बिहानी बनेर आउँछ। तर नेताहरु कुर्सीमा पुगेपछि त्यो सुन्दर बिहानीसँगैको आशा साँझसँगै विलिन भएको युवाहरु देख्न बाध्य छन्।

यस्तै निराशासँगै विलिन भएका युवा हुन् शम्भु राजवंशी। शम्भुलाई धेरैले नचिन्लान् किनकी शम्भु जस्ता युवाहरुको हाम्रो समाजमा कमी छैन। शम्भुका बुवा हुन् डिकेन्द्र राजवंशी। झापा विद्रोहमा आफूलाई अग्रपंक्तिमा राख्दै कामचोर विरुद्ध क्रान्तिको ज्वारभाटा सिर्जना गर्ने व्यक्ति हुन् डिकेन्द्र जो पन्चायती व्यवस्थाको अन्यायको जन्जिर तोड्न आन्दोलनमा होमिएका थिए। उनले सोंचेका थिए यो व्यवस्थाको अन्त्यसँगै आङ ढाक्ने समस्या नहोला। आकाशलाई छानो सम्झेर सुत्नुपर्ने दिन सकिएला। मुख्यतः बेरोजगारी समस्या हल होला। युवाहरु स्वरोजगार होलान् अन्याय र अत्याचारको शिलशिला बन्द होला। त्यही समयमा उनका सहकर्मीहरुलाई पन्चायती शासकहरुले बर्बरता पूर्वक हत्या गरे। ०४६ सालको आन्दोलनमा पनि उनी आन्दोलनको अग्रपंक्तिमा रहेर विधिको शासन ल्याउन उद्यत रहे। ०६२-०६३ को जनआन्दोलनमा पनि डिकेन्द्र सक्रिय रहे। जीवनको दस वर्ष जेल जीवन बिताए। आन्दोलनकै क्रममा उनको खुट्टामा गोली लाग्यो। आफ्नो युवा जीवन पार्टीमा समर्पण गरेर बिताएका डिकेन्द्र ०६२-०६३ को जनआन्दोलनसम्म आइपुग्दा छ दशक पार गरिसकेका थिए। उनको जीवन बिस्तारै वृद्धावस्था तर्फ केन्द्रीत भइरहेको थियो। उनी सर्वहारा गरीब परिवारका व्यक्ति थिए। हातमुख जोड्न निकै समस्या थियो। उनीसँगै झापा विद्रोहमा होमिएका ०४६ सालको आन्दोलनमा समाहित भएका व्यक्तिहरु सत्ता सन्चालनको बागडोर सम्हाल्न पुगिसकेका थिए। तर उनी चाँहि बाँच्नका लागि संघर्ष गरिरहेका थिए। उनको जीवनकालमा आफूले जागीर खान असमर्थ रहेतापनि छोरो शम्भुलाई जागिर लगाउने उनको धोको थियो। पार्टीले पनि जागिर लगाइदिने आश्वासन दिएका थिए। पार्टी सरकारमा रहँदा छोरालाई जागिर लगाइदिन उनी कैयौं पटक काठमाडौं धाए। पार्टीले कानमा तेल हालेर बसेपछि काठमाडौंमै पार्टी कार्यालयमा आई उनी बसेका थिए। अवसर पाई सत्तामा पुगेपछि सहकर्मीहरु सुविधाभोगी भएका थिए। स्वार्थी मनोवृत्तिको वृद्धि भएको थियो। उनको अन्तिम इच्छा छोरालाई जागिर लगाइदिने थियो। किनकी छोरा नै उनको बुढेसकालको सहारा थियो। तर पूराना योद्धा डिकेन्द्रप्रति पार्टीभित्र चासो देखाउनेको अभाव भएपछि उनको हृदय छियाछिया हुन्थ्यो। पार्टी कार्यालयमै उनी कैयौंपटक रोएका थिए। छोरालाई जागिर लगाइदिन नेताका पाउ पर्दापर्दै थाकेका डिकेन्द्र आफ्नो जीवनबाट समेत थाके। अर्थात् पार्टी कार्यालयमै आत्महत्या गरेर उनले देहलीला समाप्त पारे।

यसरी युवावस्थामा पार्टीमा लागेर जीवन अर्पेका डिकेन्द्रलाई पार्टीले नै वास्ता गरेन। उनी मात्र पार्टीलाई सत्तामा पुर्याउने फलामको भर्याङ बने। बुवाको मृत्युपछि छोरा शम्भुको चित्कारलाई टेलिभिजनको पर्दाले हाइलाइट गर् यो। त्यो बेला अश्रुभेल सँगै शम्भुले टेलिभिजनको पर्दाअगाडि भनेका थिए यदि जागिर लगाइदिन सक्दैन भने हामी गरीबहरुलाई किन आशा देखाएकोर? बुवाले पार्टीको लागि जीवन सुम्पिनुभयो। आज हामी खान नपाएर मर्ने स्थितिमा छौं। के मेरो बुवाले यही देख्नको लागि गोली खानु भएको थियो? वास्तवमा गम्भीर प्रश्न थियो यो। बेरोजगारीले जन्माएको नमीठो पीडा शम्भु पोख्दै थियो। डिकेन्द्रको मृत्युपछि उनको परिवारले केही राहत पायो। तर शम्भुले जागिर चाँहि पाएन। बुवाको मृत्युपछि पुनः जागिरको खोजीमा हिँडेका शम्भुले जागिरको अभावमा आत्महत्या गरे।

युवा बेरोजगारीले निम्त्याएको यो समस्या निकै दर्दनाक छ। राजनीतिक पार्टीहरुले युवाहरुलाई आश्वासनको भारी बोकाई यसरी नै निराशाको खाडलतर्फ डोर्याइरहेछ जहाँ अन्धकार भविष्य छ। त्यसैले युवाहरु ऋण काढेर घरजग्गा बन्धकी राखेर विदेश पलायन भइरहेका छन्। दिनहुँ हजारौं युवा खाडीराष्ट्र तथा अन्य मुलुक गइरहेका छन्। किनकी नेपालमा बसेर सुखद भविष्य तिनीहरुले देख्न सकेका छैनन्। 

विदेशमा पनि त्यस्तै समस्या छ। केही समय अघि ओमनमा पुगेका नेपालीहरुको कुरा उल्लेखनीय छ। राम्रो तलब र सजिलो कामको आशा गर्दै पन्ध्र जना नेपाली त्यहाँ पुगेका थिए। त्यहाँ पुगेपछि तिनीहरुले भनेजस्तो काम र तलब त परै जाओस् पन्ध्र घण्टा काम गर्दा पनि तलब पाएनन्। सम्झौता अनुसारको काम र तलवको कुरा गर्दा उल्टै तिनीहरु जागिरबाट निष्काशित भए। विना पैसा निकालिएपछि तिनीहरु विचल्लीमा परे। एक हप्ता भोकभोकै बसे। एक दिन दुई नेपाली भेटिए। त्यसपछि ती नेपालीसँगै पन्ध्र जना अलपत्र परेका नेपालीहरु पाँच महिना देखि सँगै बसे। ती दुई जना साथीहरुले प्लाष्टिकमा ल्याइदिएका खाना दाल थोरैथोरै बाँड्दै एउटा सानो कोठाको चिसो भूइँमा दुःखद जीवन बिताइरहेको दृश्य खिचेर तिनीहरुले नेपालका सन्चारमाध्यममा पठाएका थिए। त्यो कारुणिक विचल्लीको दृश्यमा तिनीहरु भन्दै थिए हामी पाँच महिनादेखि चिसो भुइँमा सुतेर थोरै खाना खाएर बाँचिरहेका छौं। नेपाल सरकार हामीलाई बचाउनुपर्यो। एनआरएनलाई पनि हामीले गुहार् यौं दुतावासलाई पनि खबर गर् यौं तिनीहरु आशा मात्र देखाउँछन्। आशा गर्दागर्दै अब त सास पनि जालाजस्तो भइसक्यो। ती बाँच्नका लागि पाँच महिनादेखि निरन्तर संघर्ष गरिरहेका पन्ध्र नेपाली भन्दै थिए। अब हामीसँग एउटा मात्र विकल्प छ। त्यो हो सामूहिक आत्महत्या।

यसरी बेरोजगारी समस्याले युवाहरु दिनदिनै निराश हताश र उदास बन्दै छन्। देशमा रोजगारी नपाएपछि मलेशिया, कतार, साउदी अरब लगायतका कैयौं देशमा लाखौं नेपाली सुन्दर भविष्य खोज्न गइरहेका छन्। मरुभूमिमा ऊँट चराउने, भेडा हेर्नुपर्ने, अग्लो घरमा जोखिमपूर्ण कार्य गरेर स्वदेशमा जागिर नपाउनुको पिडा स्वरुप विदेशमा श्रम पोखिरहेका छन्। कम्पनीले सम्झौता अनुसारको तलब नदिने, घरपरिवारलाई पैसा पठाउन समस्या हुने भएपछि मलेशिया, कतारमा जाने नेपालीहरुले बिदाको दिनमा नेपालीहरु भेला हुने ठाउँमा प्रहरीको आँखा छली सिडी, चुरोट, सुर्ती बेचेर दुई चार पैसा कमाउन खोजेको त्यो दृश्य पक्कैपनि कम कारुणिक छैन।

यता नेपालमा ईडीभीमार्फत् अमेरिका जान हजारौंले फारम भरिरहेका छन्। कोरियाका लागि पाँच हजार कामदार कोटाका लागि चालिस हजार भन्दा बढीले फारम भरेका थिए। यसरी स्वदेशमा रोजगारीको अभाव भएपछि पछिल्लो आँकडा अनुसार चार महिनामा एक लाख भन्दा बढी युवा विदेश पलायन भइसकेका छन्। यो वृद्धिदर ३४ प्रतिशत रहेको तथ्यांकले पुष्टि गर्दछ।

हुन त आफ्नै देशमा स-सम्मान जागिर गर्न कसलाई मन नहुँदो हो र तर गरीबी बेराजगारीबाट मुक्ति पाउन घर परिवारलाई छोडेर युवा वर्ग विदेशको यात्रा गर्न विवश छन्। त्यसमाथि विदेशमा हुने चरम श्रम शोषण, महिलामाथि हुने यौनशोषणको खबरले स्वाभिमान हुन चाहने नेपालीहरुको शिर निहुरिन्छ। देशमै बसेर केही गरौं जागिर पाउन निकै गाह्रो छ। गाउँ रित्तिएको छ। गाउँमा युवाहरु भेट्न गाह्रो भइसक्यो। दक्ष जनशक्ति दिनदिनै विदेश पलायन हुँदैछ। सरकारले युवा स्वरोजगार कार्यक्रम अघि सारेपनि त्यो प्रभावकारी हुन सकेको छैन। एक शिक्षित बेरोजगार साथी भन्दै थिए नपढीकन जागिर पाउन गाह्रो पढेपछि पनि गाह्रो। तसर्थ युवा बेरोजगार अहिलेको हाम्रो देशको निकै ज्वलन्त संवेदनशील समस्या बनेको छ। यसप्रति राज्य गम्भीर भएनन् भने युवाहरु पलायन हुने क्रम अझ बढ्नेछ। त्यसपछि युवाहरुलाई देशको कर्णधार भनेर गर्व गर्नुमा कुनै अर्थ रहने छैन। बाँकी उदास हतोत्साही युवाहरु कुलतमा लागिरहने छन्। घर परिवारलाई मर्दाको छोरा भन्ने उदाहरण दिन नसकेपछि युवाहरु आत्महत्याको बाटो रोज्न पछि पर्ने छैनन्। शम्भुको परिवारलाई दिएको राहत जस्तै फिल्म पिप्ली लाइभमा नत्थाको परिवारलाई दिइने राहत जस्तै आफ्ना परिवारलाई राहत दिलाउन आत्महत्या गर्न तम्सिन दिन आउन सक्दैन भन्न गाह्रो छ। यसर्थ युवा बेरोजगारको विषयमा राज्य चनाखो हुनु आवश्यक छ। के राज्य युवाहरु यसरी नै आत्महत्याको शिकार भएको हेर्न चाहन्छ ?
 

Latest News