Home विचार / दृष्टिकोण माओवादीका भेडा र प्रतिगामी बगरे

माओवादीका भेडा र प्रतिगामी बगरे

E-mail Print PDF
AddThis Social Bookmark Button
रामचन्द्र राई 

बजारमा एउटा हल्ला छ ! एनेकपा माओवादी मा चर्को मतभेद र चरम गुटबन्दी ! पार्टी आफै पनि फुटको संघारमा…… विरोधीहरुका लागि यो साह्रै सुखद समाचार हो। हल्ला चलाउनेहरुको नियत र प्रयोजन एउटा कुरा भयो यद्यपि हल्लाको पछि लागेर मजाक गर्ने कतिपय माओवादी कै कार्यकर्ताले जान वा अन्जान वश यो कुरालाई थप मलजल गर्ने काम गरिरहेका छन्। उक्त कुरामा पनि विभिन्न स्वार्थहरु लुकेका हुन सक्छन। आत्म केन्द्रीत व्यक्तिवाद पदलोलुपता व्यक्तिवादी अवसरवाद अराजकतावाद आदि यसका उदाहरण हुन्। व्यक्तिको आचरण कस्तो हुन्छ सामान्य कुरा हो यद्यपि मजाक गर्दै हिँड्ने ती व्यक्तिहरु हास्य कलाकार होइन र होइनन् एउटा सामान्य नागरिक पनि।
 
पार्टी अनुशासनका न्यूनतम सर्त नेपाली जनताको मूल्याङ्कन र आफ्नै मर्यादाको पनि ख्यालै नगरी ती जसरी प्रस्तुत भइरहेका छन् विरोधी मिडियाहरुको लागि त्यही खबर समाचार बजारको बहुमुल्य बिक्रीमा मालामाल बन्ने गरेको छ। पार्टी अन्तरसंघर्षको कुरा छताछुल्ल बाहिर ल्याएर सर्वहारा वर्गको शत्रु हँसाउन उद्यत्त मानिसहरु आफूलाई सहानुभूति दिँदै लेखिएको खबरपत्र हेरेर राहतको महशुस गर्दा हुन् या…… कम्युनिष्ट क्रान्तिकारीको बोक्रा ओडेर जनताको पेटमा लात मार्ने ती मानिसहरुले कालिदासको स्मरण गराउँछ तिनीहरु रुखको टुप्पामा बसेर जरा काट्ने काम गरिरहेका छन्। ती मानिसहरुको आचरण देख्दा एउटा कथा याद आउँछ। कथामा "बगरे ले हरेक भेडालाई दिनदिनै काट्न थालेपछि खोरका सम्पूर्ण भेडाहरु चिन्तित र त्रसित हुन थालेछन् भेडाहरुको त्यो गति मति देखेर बगरेले एउटा उपाय अपनाएछ र उसले प्रत्येक भेडालाई पालैपालो कानमा गएर भनेछ भेडा तिमी भेडा होइनौ सिङ हौ। तत्पश्चात हरेक भेडाले अर्को दिनबाट आफुलाई भेडा हैन सिङ सम्झिन थालेछन् र जुन भेडालाई बगरेले काट्थे बाँकी अरु भेडाले त्यो त जाबो भेडा भएर पो काटियो म त सिङ हुँ नि म त काट्टिन्न भनेर ढुक्कै भएछ। यो प्रकि्रया दिनदिनै चल्दथ्यो भेडा काटिन्थ्यो बाँकी भेडाहरुको बुझाइ त्यही थियो जुन मालिकले भनेका थिए। अन्ततः भेडाहरु सकिदै गएछन् र बाँकी अन्तिम दिन एउटा बचेको भेडाको काटिने पालो आएछ त्यसपछि बल्ल उसले थाहा पाएछ ए म पनि भेडै पो रहेछु।" माओवादी भित्रका भेडा र प्रतिकि्रयावादी बगरेहरु बीच आज यस्तै लुकामारी चलिरहेको छ। आफूलाई सिङ सम्झिने ती मानिसहरुलाई प्रतिकि्रयावादीहरुले यसरी आफ्नो आम्दानीको राम्रो स्रोत बनाइरहेका छन्। यसर्थ पहिला प्रथम आफूलाई सिङ सम्झिएर ढुक्क हुने कर्यकर्ताहरुको एउटा जमातलाई सम्झाइ बुझाइ गर्न जरुरी देखिसक्यो।

त्यसो त "छलफलमा विविधता कामकारबाहीमा एकरुपता" को नीति अवलम्बन गर्दै आइरहेको माओवादी पार्टी भित्र अहिले नेतृत्वहरुको विचार र बहसलाई कतिपय यस्तै कार्यकर्ताले ठिक ढंगले बुझेको जस्तो देखिँदैन। जनयुद्धकालीन समयमा चर्को अन्तरसंघर्ष चलाउँदै र यसको हल गर्दै आएको पार्टीकै केही पूराना कार्यकर्तामा पनि यो केटाकेटीपना देखिनु दुर्भाग्यपूर्ण होला। सायद यो समय र समाजको प्रभाव पनि हुन सक्दछ। नेपाली परिवेश र नेपाली मौलिकता अनुसार क्रान्तिको रथलाई हाँक्दै यहाँसम्म ल्याइपुर् याउदा नयाँ विचारको प्रतिपादन गरेर अझै अघि बढिरहेको स्थितिमा "राजनैतिक र बैचारीक हिसाबले मिल्दा मिल्दै लडनपर्छ र लडदा लड्दै मिल्नपर्छ" भन्ने वैज्ञानिक मान्यतालाई राम्रोसँग आत्मसात गरेको जस्तो पनि देखिँदैन। यो संकीर्णतावादी सोँच र साँस्कृतिक समस्या हो। सारत विचारका बहसहरुलाई गुट उपगुटको रुपमा बुझिदिने जस्ता समस्याहरु आइरहेका छन्। यो आफैमा दुर्भाग्यपूर्ण भइरहेको छ।

२१ औं शताब्दीको नेपाली क्रान्तिको मोडल कस्तो हुने आजको महान् बहस यहींनेर केन्द्रीत हुन जरुरी छ। यसलाई कसरी विजयको अन्तिम बिन्दुमा पुर् याउने सायद यो अन्तराष्ट्रिय बहसको बिषय बनीसक्यो र नेपाली क्रान्तिका नेतृत्वहरुको अगाडि खडा भएको प्रश्न यहीँनेर हुनसक्छ। आज संसारका जनताले नजिकबाट हेरिरहेका छन कि विश्व क्रान्ति विजय यात्राको सुरुवात नेपालबाट कसरी हुन्छ यही कुरालाई हेर्दै संसार भरिका क्रान्तिकारीहरुले नयाँ विचार र विज्ञानको विकास गर्न खोजिरहेका छन्। त्यही जिज्ञासा र समस्याको हल गर्न आज एनेकपा माओवादी छैठौ विस्तारित बैठक हुँदै क्रमशः महान् बहसमा जुटेको छ। उच्च जनवादको सफल प्रयोग कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेको माओवादी पालुङटार बैठक पछि आम कार्यकर्ताहरुको बुझाइ एकरुपतामा गइसकेको छ। यस्तो बेला फेरि विचारको महान् बहसलाई स्वच्छ ढंगले जनवादी केन्द्रीयताको आधारमा बहस चलाउनुको साटो एउटालाई उचालेर अर्कोलाई हिर्काउने विखण्डनवादी तरिका अपनाउन केही सिङहरु प्याच्च बोलेर विवाद सृजना गर्ने मतिमा लाग्दैछन् सीमित व्यक्तिहरुको सवालमा यो राहत होला यद्यपि देश र जनताको निम्ति निकै ठूलो घाटा र क्षतिको संकेत हो।

सत्य त न्यायप्रेमी जनता वा नेतृत्व पंक्ति या कार्यकर्ता पंक्तिमै अधिकांशका परिवारको कम्तीमा पनि एकजना सहिद घाइते वा बेपत्ता नभएको कोही नहोला। त्यही त्याग र बलिदानको मूल्य चुक्ता गरेर हासिल गरेको उपलब्धिको रक्षा कसरी गर्नुपर्छ भन्ने कुरा कोही कसैले सिकाउँछ भने त्यो उसको नैतिकता र हैसियत भन्दा बाहिरको कुरा हुन पुग्दछ। एउटा सुन्दर मुलुक निर्माणका खातिर "अन्तर संघर्ष भनेकै कम्युनिष्ट पार्टीको जीवन हो यो भएन भने पार्टी जीवित रहँदैन" भन्ने कुरामा सहमत भएर फरक विचारप्रतिको आफ्नै सल्लाह राख्नु सम्मान जनक कार्य हो। तथापि सहिदहरुको रगतमा अंशबण्डा गर्ने या यसको ब्याज लिन विचारको बहसलाई अलग थलग बनाएर गुट उपगुटको रुपमा प्रचारबाजी गर्ने नारद बनेर नेतृत्वहरु बीचको सम्बन्धलाई चिस्याइदिने खालनायक परम्पराको थालनी यदि कसैले गर्न खोज्छ या गर्छ भने नेपाली जनताले बन्दुक साम्राज्यवाद र विस्तारवादको विरुद्ध मात्रै उठाएका हैनन् जनतालाई धोका दिने र सहिदहरुको रगतमा अंशवण्डा गर्नखोज्नेहरु तर्फ पनि बन्दुकहरु सोझ्याउन सक्छन्। मुक्ति आन्दोलनको क्रममा बारुद खाएर आगो ओकल्न तयार हरेक क्रान्तिकारिहरुको परिवर्तनप्रतिको इरादा माथि कसैले धावा बोल्न चाहन्छ भने त्यसको सानदार प्रतिवाद वा प्रतिकार गर्ने अधिकार आम जनतामा सुरक्षित छ।

नेतृत्व पंक्तिका कार्यशैलीहरु कतिपय अवश्य नकारात्मक भएका होलान् तथापि नकारात्मकले सकारात्मक कुरा पनि सँगै लिएर आएको हुन्छ र सकारात्मकसँगै नकारात्मक कुराहरु पनि हुन्छन् बरु समग्रलाई कसरी उपलब्धीमा बदल्ने प्रश्न यही हो। कत्ति कुरा समय र परिस्थितिको आवश्यकता र बाध्यता पनि होलान्। पक्कै पनि यो पार्टी शान्ति प्रकि्रयामा आए पश्चात कति कुरामा समन्वय र सम्झौता गरेका उदाहरणाहरुलाई नकार्न सकिन्न। तथापि गुमाउनु भनेकै पाउनका लागि हो। र पाउनु भनेको गुमाउनु पनि हो द्वन्द्ववादले हरहमेशा यही कुराको उजागर गर्दछ।

अन्तमा माक्स्रवादलाई लागु गर्ने सन्दर्भमा जडसुत्रवादी बन्ने र सृजनशीलता अपनाउने नाउँमा संशोधनवादी हुने दुवै खतराबाट बचेर नेपाली क्रान्तिलाई एकीकृत र केन्द्रीकृत ढंगबाट सुरक्षित अवतरण गर्न जरुरी छ। एक-एक क्षमतावान र प्रतिभाशाली जननेताहरुको आवश्यकता र क्रियाशीलताको खाँचो यो मुलुकले सधै महशुस गरिरहेको छ। देशैभरिका दमित र उत्पीडितहरु तमाम रुपमा क्रान्तिकारी नेतृत्वहरुकॊ पक्षमा एकिकृत र केन्द्रित हुदै देशद्रोही र क्रान्ति विरोधी बगरेहरुको विरुद्ध एकजुट बन्न सके २१ औं शताब्दीको पहिलो दशकमा सर्वहारा गरीब जनता विश्व क्रान्ति र यसको विजयको सुरुवात नेपालबाटै सुरु हुनेछ भन्ने कुरामा कुनै दुईमत छैन।
 

Latest News