Home विचार / दृष्टिकोण दलहरु एक अर्कालाई कमजोर बनाउने खेलमा

दलहरु एक अर्कालाई कमजोर बनाउने खेलमा

E-mail Print PDF
AddThis Social Bookmark Button
नेत्र पहराईमगर
२०११ फेब्रुअरी १९ 

नेपालको राजनीतिक इतिहासनै विगत देखि वर्तमान सम्म फुट झुट अहमता र दलगत स्वार्थ भन्दामाठी उठ्न सकेन्। जुन पुरातन सोच र विचारका कारण नेपालका दलहरुले नयां बाटो अवलम्बन गर्न सकेनन्। तर दलहरु एक अर्काको सह अस्तित्व स्वीकार गर्न नसक्ने र कसरी हुन्छ एकले अर्को दललाई कम्जोर बनाउने खेलमा लागेका कारण देशले सहि बाटो निर्देशन गर्न सकेन। त्यती मात्रै होईन आफनै दल भित्रको विवाद मिलाउन नसक्ने अनि कसरी राष्ट्रिय र दलगत सहमति हुन सक्छ। माओवादी भित्र प्रचण्ड वैध र बाबुराम गुटको झगडा कांग्रेसमा शुसिल र देउवा गुटको झगडा एमालेमा केपी माधव र झलनाथ गुटको झगडा मिलाउन नसक्ने दलहरुले कसरी राष्ट्र हाक्न सक्छन भनेर प्रश्न चिन्ह खडा भइरहेको अवस्था पनि छ। तर दलहरु भने हामीलाई जनताले यत्ति प्रतिशत विश्वास गरेका छन् तिमिलाई उति प्रतिशत विश्वास गरेका छन् र मलाई हाम्रो दलको बढी कार्यकर्ताको समर्थन छ भनेर झगडामा अल्झिएर राष्ट्र निर्माणको अमूल्य समय र पैसा खर्चि रहेका छन्।
 
अहिले सम्मको घटनाक्रमलाई सुक्ष्म तवरले मूल्याडकन गर्ने हो भने प्रमुख तीन दलका नेताहरुले कसरी हुन्छ नेपाली जनता र आफना कार्यकर्ताको आंखामा छारो हाल्ने काम बाहेक अरु केही गर्न सकेका छैनन्। खाली एक दलले अर्को दललाई र एक नेताले अर्को नेतालाई आरोप प्रत्यारोप र कमजोर बनाउने जोड घटाउमा दलहरु लागेकाले सरकार निर्माण शान्ति प्रकि्रया र संविधान लेखनको कार्य ओझेलमा पर्दै आएको छ। यो कार्य दलहरुले वर्तमानमा पनि गरेकै छन् र विगतमा पनि गरेकै हो। तथापि बहुदलीय व्यवास्थाको पुनर्वाहाली पश्चात श्रमदान गरेर भए पनि गांउ गांउमा कच्ची सडक बाटो घाटोहरु पुग्दा केही हुन्छ कि भनेर नेपाली जनता हौसीएका थिए। तर ति सबै विकासप्रेमी कार्य माओवादीको जनयुद्ध संगै नैरास्यतामा बदलिन पुग्यो। तत्कालीन देउवा सरकारले माओवादीको माग पूरा नगरेका कारण माओवादीको माग पूरा नभएको भन्दै माओवादीले जनयुद्धको थालनी गर्यो। दश बर्षे जनयुद्धमा न त सरकार पक्षले विजय प्राप्त गर्न सक्यो नत माओवादीले नै। जस्को फलस्वरुप ७ दलले भारतको दिल्लीमा १२ बुंदे सहमति गर्दै जनयुद्धको अन्त्य र नेपालको पुरातन संरचनामा केही परिवर्तन ल्याउन सफल भए। तथापि नेपाल हरेक क्षेत्रमा कमजोर र दशकौं पछि पर्न बाध्य भयो। त्यही विगतको सहमतिले जनताको संविधान निर्माण सम्म निरन्तरता पाउनु पर्नेमा दलहरुको दलगत स्वार्थका कारण आरोप प्रत्यारोप यथावट अवस्थामा चलिरहेको छ। यो अवधिमा विभिन्न राजनीतिक घटना क्रमहरु घटे यधपि जनताले शान्तिको सास फेर्न पाएनन्। विगतको गलत राजनीतिक इतिहासलाई सहि राजनीतिक मूलप्रवाहमा ल्याउनुको साटो दलहरुले धमिलो पानीमा माछा मार्ने प्रयत्न मात्र गरेका छन्। दलहरुको यो कार्यले नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न र समृद्ध नेपालको निर्माण गर्न सक्ने देखिन्न। 
 
नेपालको शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुरयाउछौं भनेर सदैव कुर्लने दलका नेताहरुको भाषण मंचमा र अन्तरवार्तामा ज्यादै सुनियो। तर स्वः पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन पश्चात खै देशले गति लिन सकेको र शान्ति प्रकियाका मुद्धाले मूर्तरुप लिएको आज नेपालको राष्ट्रियताका सवालमा फेरी गम्भिर प्रश्न खडा भएको छ। एउटा प्रधानमन्त्रीको निर्वाचन गर्न समेत आधा बर्ष वा महिनौ १७ औं पटक सम्म कुर्नु पर्ने दलका नेताहरुले कसरी राष्ट्रिय सहमति र हित गर्दछन भनेर विश्वास गर्ने। नेपालका नेताहरु च्ााहे राणा राजसंस्था पंचायत्त हुदै हाल सम्मका नेपाली नेताहरु खाली इतिहास निर्माणका लागि एक पटक जसरी भए पनि प्रधानमन्त्री भएरै छाडने लालचले गर्दा देशको समस्या र शान्ति प्रकि्रया ज्यू का तीउ रहेको छ। तर नेताहरुको दिमागमा सद्धबुद्धि र राष्ट्रिय स्वार्थ कहिले पलाउने हो त्यो भविष्यले नै वताउने छ। 

लामो समयको अन्तराल पश्चात नयां सरकारको निर्माण हुने भएको छ। यधपि बि सं २०६७ पुस २५ का लागि नियमित हिउँदे अधिवेशनको आवहान राष्ट्रपतिबाट भयो। यो अधिवेशन सुरु भएको ३ दिन पछि २८ पुसलाई प्रधानमन्त्रीको निर्वाचन तय गरियो तर त्यो पनि हात्ती हात्ती आयो फुस्स नै भएर छाडेयो। किनकी एमाले कांग्रेस उमेदवारको विरुद्धमा मतदान गर्ने भए पछि रामचन्द्र पौडेलले १७ औं पटकको प्रधानमन्त्रीको निर्वाचन अगावै आफनो उमेदवारी फिर्ता लिए। जस्को फलस्वरुप राष्ट्रपतिले पुन।ं एक हप्ता भित्र सहमतिको सरकार निर्माण गर्न आवहान गरे। त्यो राष्ट्रपतिले गरेको सहमतिको सरकारको आवहानको म्याद पनि ७ माघ २०६७।मा समाप्त भयो। तीन प्रमुख दलको सिफारिसमा पुनः पाँच दिनको म्याद थप गर्दै बि सं २०६७ माघ १२ सम्म राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आव्हान गरियो। त्यो पनि समाप्त भएरै छाडेयो र पुनः विगतकै बहुमतीय निर्वाचन प्रणालीमा संविधानसभा संसद प्रवेश गर्न बाध्य भयो। तर संविधानसभाले आफनो निर्वाचन संम्बन्धी नियमावली शंसोधन गरेकाले पुरानो परिवृति संसदमा दोहोरिन सकेन र बहुमतीय प्रणाली अन्तर्गत प्रधानमन्त्रीको निर्वाचन २० माघ २०६७ का दिन सम्पन्न भयो। सोही प्रकि्रया अनुसार झलनाथ खनालले मओवादीको समर्थन प्राप्त गर्दै संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित भए। निर्वाचित भए लगत्तै आफनै दल एमाले भित्र र अन्य दलहरुबीच विवाद सुरु भएको छ। सबै दलले एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्ड बीच भएको सम्झौता दुईजना बीचको सम्झौता भएको आरोप लगाउदै आएका छन। माओवादीले एमाले संग भएको ७ बुद्धे कार्यान्वयन भए मात्र सरकारमा जाने अडडी कसेको छ भने। एमालेको एउटा समूहले मओवादी र एमाले बीच भएको ७ बुंद्धे सहमति एमाले पार्टी हित विपरित भएको भन्दै सहमति कार्यान्वयन नगर्न लागि परेको छ। उत्ता संस्थापन पक्षका निर्वाचित प्रधानमन्त्री भने सहमति कार्यान्वयन गर्दै माओवादीलाई गृह मन्त्री दिएर सरकार निर्माण गर्दै आफनो कार्याकाल बढाउने पक्षमा उभिएका छन। त्यो विवाद सरकार निर्माणले पूर्णता नपाउनजेल जारी रहने देखिन्छ। 

करीब ६ महिना सम्म राष्ट्रलाई अनिर्णयको बन्दी बनाउनमा एमाले पार्टीले प्रमुख भूमिका निर्वाह गर्यो। यधपि अरु दल चोखो भन्न खोजेको होइन तर एमालेले आफनो निर्णय नदिएर तटस्थ बस्दा देश अनिर्णयको बन्दी भएको धु्रव सत्यलाई कसैले नकार्न सकिदैन। अन्ततः एमाले भित्र भएको एउटा गहकिलो तान्डव नृत्यलाई सबैले गहन विश्लेषण गरिरहेका छन्। किनकी उही पार्टीको नेता प्रधानमन्त्री हुदा हुदै किन फेरी उही पार्टीको अर्को नेता प्रधानमन्त्री बन्नु पर्ने एक गैरजिम्मेवारीपूर्ण नाटकको सुरुवाट एमालेमा भएको छ। यो गलत कार्यले सर्वसाधरण नेपाली जनता तीनछक परेका छन्। त्यती मात्रै होईन यो कार्यले पार्टी कार्यकर्ताहरुलाई समेत हिनताबोध र दुविधामा फसाईदिएको छ। राष्ट्रिय सहमतिको सरकारबाट एक इन्च पनि हलचल नगर्ने प्रण गरेको एमाले अन्ततः ६ महिना पश्चात हलचल गर्न बाध्य भयो। र उसले विगतमा देखाएको दोधारे चरित्र पुनः पुष्टी गर्न सफल भयो। आफनै पार्टीका पूर्व महासचिव माधव नेपाल प्रधानमन्त्री हुदा हुदै किन उही पार्टीको अर्को नेता झलनाथ खनालको नेतृत्वमा प्रधानमन्त्रीको आवश्यक्ता पर्यो। यो बिषयले एमालेमा निश्चिततै ठूलो विवाद र अन्तरघात सुरु भएको प्रमाणित गरेको छ। हुनत अन्य पार्टीमा पनि घात प्रतिघात भएका छन् र हुन्छन् तर एमालेमा भएको अन्तरघात भविष्यका लागि ठूलो चुनौतीका रुपमा खडा हुने निश्चित भएको छ। 

नेपालमा राष्ट्रिय स्वार्थ र जनहितका लागि होइन खाली एक पार्टीले अर्को पार्टीलाई कमजोर पार्ने रणनीतिका कारण पार्टी फुटने र जुत्ने हुदै आएको छ। हाल सालै तमलोपा विभाजन भएको छ। यो नेपाली राजनीतिक इतिहासका लागि नैलो सवाल होइन। तर आज स्मरण गर्नु पर्ने हुन्छ एमालेबाट फुटेर गएको माले २०५५ सालमा निक्कै बलियो छौ भनेर घुर्कि दिन्थ्यो। यसरी नै त्यतिवेला माले बलियो यसपल्ट माओवादी बलियो। किनकी उ जनयुद्धबाट आएको ढङढङी समाप्त भएको छैन। त्यती मात्रै होईन संविधानसभाको निर्वाचनमा उसले सबै भन्दा बढी मत र सिट ल्याउन सफल भएको छ। त्यही झोकमा उदण्डता हिँसा अराजकता र सत्ता कब्जा को रणनीति अवलम्बन गर्न माओवादी पुग्यो। तर जे भएपनि माओवादीले कुन बाटो जाने भनेर कसरत गरिरहेको अवस्था छ र विगत देखि वर्तमान सम्म विविध उदण्डता कर्ताको रुपमा भूमिका निर्वाह गर्दै आएको यो पार्टीले अर्को पार्टीलाई निषेध गर्ने आर्काको सहअस्तित्व स्वीर्कार्दै नस्वीकार्ने र घुमाउरो पाराले खेल आफ्नै पक्षमा पार्ने दाऊले गर्दा व्यावस्थापिका संसदभित्रै विभिन्न बवाल र हात पात हुदै आएको छ। यो नेपाली जनताको नाममा दलगत स्वार्थ र अधिनायकत्व स्थापितका खातिर भएको एक नौटंकी हो। 

माओवादी दश बर्षे जनयुद्धबाट आएको भएर होला राष्ट्र कसरी हांक्ने र संसदीय अभ्यास कसरी गर्ने भन्ने सवालमा उसमा सदैव दुविधा उत्पन्न हुन्छ। त्यसैले पटकपटक विविध सवालमा अल्झेर राष्ट्रलाई सहि ढङगले निकास दिन नसकेको प्रष्टता नेपाली जनताको सामु छ। अहिले सम्म पनि जनयुद्धका समयमा जंगलमा सिकेका कुरा संसदभित्रै पुन।ं अभ्यास गर्नाले देशको हविगत अवस्था विश्वले नियाल्ने अवसर पाएको छ। युद्धको अन्त्य संगै विरोधी संगको सहकार्य गर्दा र राष्ट्रलाई आमूल परिवर्तनसंगै नयां स्थायी शान्तिमा परिणत गर्नका लागि सजिलो निश्चित रुपमा छैन। तर माओवादीले सदैव आफनो हैकमवादी ढङढङीले गर्दा उसले सहज भूमिका निर्वाह गर्न सकेन। त्यस्को प्रत्यक्ष वा अप्रत्यक्ष फाईदा एमालेले लिन पुगेको छ। जस्को कुनै पनि मुद्धामा स्पष्ट दृष्टिकोण छैन। माओवादीले आफूले जनयुद्धका बखत अर्जेको प्रतिष्ठालाई उसले दिगो राख्न सकेन। त्यस्को प्रमुख कारण अन्य दलहहरुकेा सहअस्तित्वलाई स्वीकार गर्न नसक्नुनै हो भन्ने मलाई लागेको छ। जस्को कारणले माओवादी आज अन्य दलहहरुको विश्वासको नजरबाट टाढिन बाध्य भएको छ। त्यो अन्य दलहरुको रहर नभई माओवादीले गरेको हर्कतका कारण हो।

नेपालको राष्ट्रियता दिन प्रति दिन कमजोर हुदै आएको छ। यो हुनुमा पार्टीहरु र विगतका शासकहरुको ठूलो कम्जोरी छ। वर्तमान अवस्थामा भन्ने हो भने एमाले लगायतका केही अवसरवादी मधेसी दलहरु खाली फाइदाका लागि मात्रै राजनीति गरिहेका छन्। फलतः राष्ट्रिय राजनीति जवजव सहमतिको नजिक पुग्छ तवतव एमाले अनिर्णयको बन्दी भएर रामहेरेर बस्दछ। माओवादीले आफनो सत्ताकब्जाको रणनीति त्याग गर्न सक्दैन कांग्रेस शंकैशंकामा रुमलिन्छ अनि कसरी देशले गति लिन्छ। यो कार्यले मुलुकलाई मात्र होईन स्वयं दलहरुलाई पनि घाता पुगिरहेकेा छ। नेपालका राजनीतिक दलहरु नेपाली जनताको नजरमा र अन्तराष्ट्रिय स्तरमा दिनदिनै अविस्वसनीय बन्दै गईरहेका छन। 

माओवादी सरकारमा भएको समयमा मओवादीले अहमता र हैकमवादी प्रवृति नदेखाएको भए र सहमतिको आधारमा अगाडि बढेको भए आज सम्म नेपाली जनताको हात हातमा जनताको नयां संविधान हुन्थ्यो। माओवादीले जनयुद्धका समयमा गरेको उडण्डतालाई सरकारमा आएर पनि उही प्रवृती दोहोरयाउदा देश अनिर्णयको जरजरमा फस्न पुग्यो। अन्तत्वगोत्व नेपाली जनता आज जनताको नयां संविधान निर्माण हुन्छ वा हुन्न भन्ने शंकाको भरमा जीउन बाध्य भएका छन। परिणाम स्वरुप नेपाली जनताले दशकौं देखि गरेको युद्ध संघर्ष आन्दोलन गोलरहित अन्त्य हुने खेलतिर उन्मुख भइरहेकेा छ। यो हुनुमा तीनै प्रमुख दहरुको हात छ। नेपालका दलहरु एक अर्कोको सह अस्तित्व नस्वीकार्ने र जसरी हुन्छ एक दलले अर्को दललाई कमजोर बनाउने खेल खेल्दै आएका छन। यो कार्यले राष्ट्रिय हित होईन राष्ट्रलाई कमजोर बनाईरहेको छ।
 

Latest News