Home विचार / दृष्टिकोण मान्छेको पहिचान नाम कि काम ?

मान्छेको पहिचान नाम कि काम ?

E-mail Print PDF
AddThis Social Bookmark Button

 

बिष्णु गुरुङ - क्यालिफोर्निया

पुरोहितले दिएको नाम खै के हुन पुगेछ। स्कुलमा बिष्णु भनेर लेखाई दिएछन मेरो नाम, आमाले भगवान बिष्णु जस्तै राम्री मेरी छोरी भनेर बिष्णु नाम राखेको कुरा मलाई भन्दा बिष्णु भगवान केटि नै हो भन्ने कुरामा म दृढ थिएँ। मलाई लाग्छ, सायद मेरी आमा पनि यहि भ्रममा थीईन होला। किनकि हाम्रो परिवार बुद्धिष्ट भएकोले हिन्दु देवीदेवाताहरु बारे त्यति जानकारी नहुनु स्वाभाविकै थियो। त्यसैले होला म मात्र होईन धेरै गुरुङकी छोरीहरुको नाम छ मेरो जस्तै, निकै ठुलो भए पछी मात्र बिष्णु भगवान लोग्ने मान्छे भएको र आफ्नो नाम त लोग्ने मान्छेको नाम पो रहेछ भनेर चाल पाए। अनि  मलाई आफ्नो नाम प्रति त्यति गर्व ठानिन। स्कुले साथीभाईहरु बाहेक धेरै जसोले मलाई साहिँली नै भनेर बोलाउने गर्दथे।

बिबाहित घर परिवारहरुले पनि श्रीमानले बाहेक अरु ठुलो सदस्यहरुले बोलाउनु पर्दा साहिँली नै भनि सम्बोधन गरि बोलाउदथे। हुन पनि त्यो बेला तिर व्यक्तिको नामको त्यति ख्याल राख्ने चलन नै थिएँन वास्तविक नामले भन्दा, छोराहरुलाई जेठा, माहीँला, कान्छा भने छोरीहरुलाई नानि माहीँली, साहिँली, कान्छी अनि एकअर्कालाई दाईभाई, दिदिबैहिनी अथवा अरु कुनै नाता लगाएर सम्बोधन गरि बोलाउने चलन थियो। नाम चाहिने विशेष ठाउँ र समय पनि खासै हुदैनथ्यो। प्रायजसो त्यसरी नै चल्ने चलन थियो र अझै पनि छ हाम्रो समाजमा, मेरो बाल्यापन चितवनको माड़ी भन्ने दुर्गम क्षेत्रमा बित्यो। २०२० साल तिर चितवन सुकुम्बासी खुलेकोले पहाडको अनेक ठाउँबाट परिवारहरु गासबासको खोजीमा त्यो ठाउँम पुगेको रहेछन। त्यसैले त्यहाँ त्यो बेल जस्तै धम्पुसबाट बसाँई सरेकालाई धम्पुसे भने जस्तै गोर्खाली, सिरबारे , आधिखोले, तान्जुके को घर भनेर चिनिन्थ्यो भने धम्पुसे जेठबा घलेलनि आमा, भाटखोले साहु यस्तै उपनामले चिनिने प्रचलन नै बढी थियो। मैले सम्झनु पर्दा त्यति ठुलो गाउँमा पनि राजनीति तिर लागेर नामले प्राख्यात व्यक्तिहरु बाहेक अरु गाउँले हरुको नाम त्यति याद नै छैन भने पनि हुन्छ। सायद उनीहरुले पनि मलाई मेरो नामले चिन्न गाह्रो नै होलान। बर्षौ एकै ठाउँमा सगै बसेर पनि उनीहरुको गुण, कामको याद अईरहेता पनि नामले गर्दा सम्झना गर्ने माध्यम नै ओझेलमा परि सम्बन्धलाई नै निकै टाढा बनाउदो रहेछ भन्ने अनुभूति मलाई हुन्छ।

आमाबुवा देखि विवाहित घरमा पनि मेरो नामले खासै बोलाउने थिएनन मलाई। झन् बिबाह पछी त फलानाकी श्रीमती वा फलानाकी बुहारी भनेर चिनिन्थ्यो भने, आमा भएपछी युधिर कि आमा भनेर चिनिन थालियो। आफ्नो नाम आफैदेखि बिरानो हुदैगायो दिनप्रतिदिन, आफुलाई आफ्नो नामले चिनिनु भन्दा यसरि उपनामले नै चिनिन पाउदा भाग्यमानी ठान्दथे। एउटी श्रीमती र आमा भनेर चिनिदा, आफ्नो नाम जे सुकै भए पनि बच्चाहरुको नाम मलाई मनपर्ने नाम छोराको नाम युधिर राखे अनि पारिजातको शिरीषको फूलबाट प्रवाहित भई शिरीषको फूल जस्तै सुन्दर मेरी छोरी भनेर छोरीको नाम शिरीष राखे तर मलाई त्यस्तो कुनै ख्यालै भएन कि शिरीष केटाको नाम हो भनेर यति धेरै बर्ष पछी मैले धेरै केटा मान्छेहरुको नाम शिरीष भएको सुन्दा आफुले पहिले नै आफ्नो बिष्णु नाम परिबर्तन नगरेर गल्ति गरेको र फेरी छोरीको नाम पनि केटा मान्छेको नाम जस्तै राख्न पुगेछु भनेर कहिले काही दुखि हुने गर्दथे। दुईसाल यता मैले केहि काम घटाएर समय निकालेर अलि अलि किताबसंग साथि बनाउन लागे। त्यहिँ क्रममा झमक घिमिरेको जीवन फूल कि काँडा भन्ने किताब छोरीले पठाई दिएकी रहेछिन। किताबको लेखक झमक केटा नै हो भन्नेमा कुनै दुबिधा थिईन किताब पढ्दै जादा केटीको भावना पोखेको करुणामय शब्दहरु मैले पाँए नभन्दै उनि त केटि मान्छे नै पो रहेछ। गहभरी आँसु गर्दै किताब पढे। उसले आफु छोरी साथै अपाङ्ग भएर जन्मिएकोले भोग्नु परेको दुखादायिक कथादेखी उसको सहासिलो ब्यक्तित्व अनि नामको बारेमा पनि उल्लेख गरिएको छ त्यो किताबमा, त्यो किताब पढे पछी मलाई पनि मेरो नामप्रतिको गुनासो गर्ने मनसाय बदलेर गर्व लाग्न थाल्यो। आफ्नो नाम आफैलाई अति राम्रो लाग्न थाल्यो। अनि छोरीलाई उसको नामको बारे बताए। छोरीले आफ्नो नाम आफुलाई अति राम्रो लागेको क़ुरा बताईंन यो सुनेर मलाई एकदमै खुशी लाग्यो।

आखिर नामलाई राम्रो गर्ने नगर्ने जिम्मा मानव कै हातमा रहेछ। केटा मान्छेको नाम होस या केटि मान्छेको नाम राम्रो काम गर्नेको नाम राम्रै हुदोरहेछ। मलाई सुरुमा झमक नाम राम्रो नाम हो जस्तो पटक्कै लागेको थिएन। मेरो नाम भन्दा पनि कामजोर नामबाट परिचय हुनु परेको केटि माछे पनि रहेछ जस्तो मात्र लागेको थियो। तर जब म उसको बिचार अनि उसको अतभुत व्यक्तित्व संग  आकर्षित हुदै नजिक पुगे। झमक नाम कति सुन्दर लाग्यो मलाई, वास्तबमा त मान्छेलाई उसको नामले होईन उसको कामले पो नाम प्रख्यात र अमर बनाउदो रहेछ। प्रख्यात र अमर नाम नै सबैलाई मन पर्ने नाम हुदोरहेछ। आखिर लक्ष्मीप्रसाद देवकोटा, काली दास केटि मान्छे कै नाम थियो। कति प्रख्यात भए र छन् ति नामहरु, सदा सदा अमर छन। मान्छे मरेर गए पनि उसले गरेको राम्रो कामको प्रतिफल नै उसको नाम अमर हुदोरहेछ ।

 

Latest News