किरण राना
तेक्सस,संयुक्त राज्य अमेरिका
कुन देशकी नगरिक हुँ म ?
कुन देशकी सन्तान् ?
कुन देशकी बासिन्दा हुँ म ?
कुन देशको पहिचान् ।
उडनु छ मलाई धेरै माथि
कुन गगनमा उडुँ म ?
पुग्नु छ मलाई धेरै टाढा
कुन भूमिमा दौडु म ?
पहिचान मेरो के हो ? सोध्न मनलाग्छ ।
एकचोटी सबैलाई भन्न मन लाग्छ ।
यस्तै प्रश्नले झस्काईरहन्छ ।
फेरी पनि नेपालको मायाले बिउँझाईरहन्छ ।
कुन देशकी पारखी हुँ म ?
कुन देशमा पौरख देखाउनु छ ?
कुन देशकी कवि हुँ म ?
कुन देशमा कविता कोर्नु छ ?
रच्नु छ मलाई नयाँ इतिहाँस्
कुन पानामा लेखुं म ?
स्वप्न देख्ने यी आँखाहरु
कहाँ लगी बिसाउँ म ?
पहिचान मेरो के हो ? सोध्न मनलाग्छ ।
एकचोटी सबैलाई भन्न मन लाग्छ ।
यस्तै प्रश्नले झस्काईरहन्छ ।
फेरी पनि नेपालको मायाले बिउँझाईरहन्छ ।
कुन देशकी ममता हुँ म ?
कुन देशको माटोमा खेल्नुछ ?
कुन देशकी कथा हुँ म ?
कुन देशमा गई लेख्नुछ ?
बन्न मनलाग्छ मलाई पनि बुद्ध जस्तै
तर कहाँ गई गरूँ ध्यान म ?
फैलाउन मनलाग्छ मलाई बुद्धका शान्ति संदेश
तर कहाँ गई फैलाउँ म ?
पहिचान मेरो के हो ? सोध्न मनलाग्छ ।
एकचोटी सबैलाई भन्न मन लाग्छ ।
यस्तै प्रश्नले झस्काईरहन्छ ।
फेरी पनि नेपालको मायाले बिउँझाईरहन्छ ।